२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

पर्वतमा ढुसीको संक्रमणले धानबाली नष्ट

Nada
२०८१ साउन २० गते १६:४३
Shares
पर्वतमा ढुसीको संक्रमणले धानबाली नष्ट

पर्वत : पर्वतका कृषकले लगाएको धानबाली ढुसीको सङ्क्रमणले नष्ट हुन थालेको छ । धान रोपेको एक महिनामा ढुसी रोगका कारण धानका गाँजहरु मर्दै जान थालेपछि कृषक चिन्तित बनेका छन् ।

ncell

जिल्लाको फलेबास नगरपालिकाका सबैजसो वडा, कुश्मा, विहादी, महाशिलालगायत वडामा लगाइएको धानबालीमा जरा कुहिने रोग लागेको फलेबास नगरपालिकाकाको कृषि शाखा प्रमुख केदार सापकोटाले जानकारी दिए । ‘फुट रुट’ नामक उक्त रोग ढुसीका कारण लागेको र यसले कतिपय स्थानमा धानखेत रित्तिँदै जान थालेको उनले बताए ।

सापकोटाका अनुसार अहिले यो समस्या देशव्यापी रुपमा देखापरेको छ । “यो रोग ढुसी नामक फुजारिएम मोनिलिफर्मबाट लाग्ने गर्दछ’, उनले भने, ‘ब्याडमा कलिलो बिरुवादेखि खेतमा धान छिप्पिने बेलासम्म यो रोग देखापर्ने सम्भावना रहन्छ । यसलाई समयमै नियन्त्रण गर्न नसक्ने हो भने ठूलो नोक्सानी व्यहोर्नुपर्ने अवस्था आउँछ”

जिल्लास्थित कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत सोविता सुवेदीले बीउको उपचार नगरिकन रोपाइँ गरिएकाले धानबालीमा ढुसी रोग फैलिएको बताए । धानले गाँज राख्ने बेलामा रोग फैलिएकाले तत्काल उपचार गर्नुपर्ने उनको सुझाव छ ।

यो रोगबाट बाली जोगाउनका लागि रोगी बोट तत्कालै हटाउने, ‘कार्बेन्डाजिम–५०५’, ‘डब्लु पी–९’, ‘बेभिष्टिन–०’, लगायत ढुसीनाशक विषादी प्रयोग गर्नुपर्ने बाली संरक्षण अधिकृत सुवेदीले जानकारी दिए ।

ढुसीनाशक औषधि प्रयोग गर्दा दुई ग्राम प्रतिलिटर पानीका दरले एक रोपनी क्षेत्रफलमा २५ देखि ३० लिटरको घोल बनाएर १० दिनको फरकमा दुईदेखि तीन पटक छर्कनुपर्ने उनले बताए । सुवेदीका अनुसार अपह्न्न ४ बजेपछि विषादी छर्किंदा उपयुक्त हुन्छ ।

धमाधम धानका बोट मर्न थालेपछि खेत रित्तै हुन थालेको फलेबास–३ शङ्करपोखरीका कृषक शिव अधिकारीले बताए । उनले धानमा रोग लागेपछि आफूले लगाएको पोखरेली जेठो बुढो, एक्ले, पहेँलेलगायत बाली नष्ट भएको गुनासो गरे ।

फलेवास–९ भँगरामा मात्रै ९० रोपनी क्षेत्रफलमा गरिएको पोखरेली जेठोबूढो धानखेतीमा ढुसी र फट्याङ्ग्राले नष्ट गरेको कृषक लोकप्रसाद काफ्लेले बताए । ठूलो लगानी गरेर धानखेती गरे पनि रोग लागेर नष्ट गरिदिएको उनको गुनासो छ ।

फलेबास नगरपालिकाको कृषि शाखाका अनुसार रैथाने जातका धान र खुमल–४ तथा जेठो बुढो धान लगाएका ठाउँमा ढुसीको सङ्क्रमण बढी देखिएको छ । विषादी प्रयोग गर्नुअघि रोगग्रस्त बोटहरु उखेलेर नष्ट गर्ने, पानीको निकासा गर्ने, नाइट्रोजनयुक्त मलको प्रयोग गर्न नहुने कार्यालयका कृषि शाखा प्रमुख सापकोटाले बताए ।

नगर कृषि सञ्जाल फलेबासका संयोजक विनोद भुसालले पर्वतको धानबालीमा ठूलो समस्या आएको बताउँदै यसले किसानलाई निरुत्साहित बनाएको उल्लेख गए । कतिपय स्थानमा गाँज राख्ने बेलाको धान मरेर खेत पूरै खाली हुन थालेको भन्दै तत्काल उपचार गर्नुपर्नेमा उनले जोड दिए ।

कृषि ज्ञान केन्द्र पर्वत र फलेबास नगरपालिकाको कृषि शाखाबाट निःशुल्क रुपमा कृषकलाई ढुसीनाशक औषधि उपलब्ध गराइएको संयोजक भुसालले जानकारी दिए ।

सम्बन्धित खबर