२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

बेपत्ताको पहिचान गर्न डिएनए परीक्षण

Nada
सपना बोहरा
२०८३ असोज ८ गते ०६:२५
Shares
बेपत्ताको पहिचान गर्न डिएनए परीक्षण

काठमाडौं : भोटेकोशी र रसुवालगायत क्षेत्रमा आएको बाढीमा बेपत्ता तथा ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि सरकारले डिएनए परीक्षण प्रक्रिया अगाडि बढाएको छ । बाढीका कारण शव क्षतविक्षत र पहिचान गर्न नसकिने अवस्थामा फेला परेकाले वैज्ञानिक माध्यमबाट आफन्त पहिचान गर्न संकलित डिएनए नमुनाको परीक्षण भइरहेको हो । 

ncell

नेपाल प्रहरीका अनुसार बाढीमा ज्यान गुमाएका तथा बेपत्ता व्यक्तिको पहिचानका लागि संकलन गरिएका तीन हजार ३४५ नमुनामध्ये करिब एक हजार ९ सयको डिएनए प्रोफाइलिङ गरिएको छ । नेपाल प्रहरी, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) र राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले डिएनए परीक्षण गरिरहेका छन् । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीबाट ६ हजार १४५ जना बेपत्ता भएका छन् । एक हजार ४१० शव फेला परेका छन् । तीमध्ये ११२ जनाको मात्रै पहिचान भएको छ । अन्य शवहरू पहिचान खुलेमा झिक्न सकिनेगरी जमिनमुनि व्यवस्थापन गरिएको छ । प्राधिकरणका अनुसार एक हजार ३२९ मृतक र २ हजार १६ जना आफन्तबाट डिएनए नमुना संकलन गरिएको छ ।

नास्टमा दैनिक करिब ५० वटा डिएनए नमुना परीक्षण हुने गरेको छ । विभिन्न बाढीप्रभावित क्षेत्रबाट संकलन गरिएका हड्डी तथा दाँतका डिएनए प्रोफाइलिङ गरेर फरेन्सिक प्रयोगशालामा पठाइएको छ । प्रयोगशालामा प्राप्त ८५३ हड्डी तथा दाँत र ३७ रगतका डिएनए नमुनामध्ये ५२२ वटाको प्रोफाइलिङ गरिएको छ । ७९८ वटा डिएनए नमुना प्रक्रियामा छन् । डिएनए नमुना परीक्षण गरेर ४१९ वटा डाटा प्रोफाइलिङ गरी फरेन्सिक प्रयोगशालामा पठाइसकिएको छ ।

नास्टका वरिष्ठ वैज्ञानिक तथा सूचना अधिकारी एवं प्रवक्ता डा. रामचन्द्र पौडेलका अनुसार सामान्य प्रोटोकलमा एउटा नमुनाको परीक्षण गर्न करिब पाँच दिन लाग्ने गरेको थियो । तर दक्ष जनशक्ति, प्रविधि र विज्ञको सहकार्यका कारण नास्टको प्रयोगशालाले कतिपय नमुना दुईदेखि तीन घण्टामै प्रशोधन गरेको छ । ‘डिएनए परीक्षणको उद्देश्य नमुना ‘पोजेटिभ’ वा ‘नेगेटिभ’ छुट्याउनु मात्र नभई त्यसबाट व्यक्तिको आनुवंशिक प्रोफाइल तयार गरी हराइरहेका व्यक्तिका परिवारबाट संकलन गरिएको रगतको नमुनासँग तुलना गर्नु हो,’ उनले भने, ‘यसरी हड्डी तथा दाँतबाट प्राप्त डिएनए प्रोफाइल र परिवारका सदस्यको सन्दर्भ नमुनाबीच मिलान गरेर पहिचान गरिनेछ ।’

प्रयोगशालाका अनुसार सामान्य प्रोटोकलमा एउटा नमुनाको परीक्षणका लागि करिब पाँच दिनसम्म लाग्न सक्छ । तर दक्ष जनशक्ति, प्रविधि र विज्ञको सहकार्यका कारण नास्टको प्रयोगशालाले कतिपय नमुना दुईदेखि तीन घण्टामै प्रशोधन गर्न सक्ने दाबी गरेको छ । प्रयोगशालाको दैनिक क्षमता करिब ४० देखि ५० नमुनासम्म रहेको नास्टले जनाएको छ ।

राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पनि परीक्षणका लागि आएका हड्डी, दाँतलगायत नमुना तथा हराएका व्यक्तिको पहिचानका लागि उत्खनन गरिएका नमुनाको परीक्षण भइरहेको छ । प्रयोगशालाका वरिष्ठ वैज्ञानिक अधिकृत एवं सूचना अधिकारी मुकुल प्रधानका अनुसार एक हजार ७७१ वटा डिएनए नमुना परीक्षणका लागि छन् । तीमध्ये १ हजार २१ वटा प्रोफाइल जेनेरेट गरिएको छ ।

हालसम्म तयार भएका डिएनए प्रोफाइल र त्यसबाट तयार गरिएको डाटा प्रहरी तथा राष्ट्रिय फरेन्सिक प्रयोगशालासँगको समन्वयमा प्रयोग भइरहेको छ । डिएनए प्रोफाइलिङ तयार भएपछि त्यसलाई म्याचिङका लागि विशेष सफ्टवेयरमा राखिन्छ ।

बेपत्ता वा दाबी गर्ने परिवारका सदस्यबाट संकलन गरिएको रक्तनमुनासँग सफ्टवेयरमा डाटा मिलान भएपछि कानुनी प्रक्रिया पूरा गरी अवशेष सम्बन्धित परिवारलाई हस्तान्तरण गरिने प्रहरी प्रवक्ता अविनारायण काफ्ले बताउँछन् । ‘पहिचानको अन्तिम निष्कर्ष निकाल्न भने प्रयोगशालाबाट डिएनए प्रोफाइल तयार हुनु मात्रै पर्याप्त हुँदैन,’ उनले भने, ‘प्राप्त प्रोफाइललाई परिवारबाट संकलन गरिएको नमुनासँग तुलना गरी प्रमाणित गर्नुपर्ने हुन्छ, त्यसपछि मात्रै कुन नमुना कुन व्यक्तिको हो भन्ने यकिन गर्न सकिन्छ ।’

डिएनए म्याचिङ भएपछि कानुनी प्रक्रिया पूरा गरेर आफन्तलाई शवको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर