
आज संयुक्त राज्य अमेरिका र इरानबीचको सम्बन्ध अत्यन्तै तनावपूर्ण देखिन्छ, तर इतिहास हेर्दा यी दुई देश कुनै समय घनिष्ठ साझेदार थिए । यो सम्बन्ध स्वार्थ, शक्ति र रणनीतिक आवश्यकताबाट सुरु भएको थियो, जसले समयसँगै अविश्वास र द्वन्द्वको रूप लियो ।
दोस्रो विश्वयुद्धपछि मध्यपूर्वको महत्व बढ्दै जाँदा इरान अमेरिकाका लागि महत्वपूर्ण बन्यो । तेलको प्रचुरता र भौगोलिक अवस्थाका कारण इरानलाई सोभियत संघविरुद्धको बलियो आधारका रूपमा हेरियो । त्यतिबेला इरानमा मोहम्मद रेजा शाह पहलवीको शासन थियो, जसले देशलाई आधुनिक बनाउने प्रयास गरिरहेका थिए । अमेरिकाले उनलाई सैन्य र आर्थिक सहयोग दियो, तर यसको फाइदा आमजनताभन्दा शासकवर्गमा बढी सीमित रह्यो ।
यसबीच इरानी जनतामा असन्तोष बढ्दै गयो । देशको प्राकृतिक स्रोत विदेशीहरूको नियन्त्रणमा गएको अनुभूति र शासनको दमनकारी स्वरूपले जनआक्रोशलाई बढायो । यही अवस्थामा मोहम्मद मोसादेघ प्रधानमन्त्री बने र उनले तेल उद्योग राष्ट्रियकरण गर्ने निर्णय गरे । यो कदम जनताको हितमा भए पनि पश्चिमी शक्तिहरूलाई अस्वीकार्य भयो । फलस्वरूप सन् १९५३मा तख्तापलट भयो र मोसादेघ सत्ताबाट हटाइए ।
यस घटनाले इरानमा लोकतन्त्र कमजोर बनायो र अमेरिकाप्रति गहिरो अविश्वास जन्मायो । शाह पुनः शक्तिशाली बनेपछि शासन अझ कठोर भयो । विरोध गर्नेहरूलाई दमन गरियो र समाजमा असन्तुलन बढ्दै गयो । बाह्य रूपमा विकास देखिए पनि भित्रभित्रै असन्तोष बढ्दै गइरहेको थियो ।
१९७०को दशकमा यही असन्तोष व्यापक आन्दोलनमा परिणत भयो । निर्वासित धर्मगुरु रुहोल्लाह खोमेनीले जनतालाई संगठित गरे र राजतन्त्रविरुद्ध आन्दोलन चर्कियो । सन् १९७८मा भएको ‘ब्ल्याक फ्राइडे’ घटनापछि आन्दोलन झन् उग्र बन्यो । अन्ततः सन् १९७९मा इस्लामिक क्रान्ति सफल भयो र राजतन्त्रको अन्त्य भयो ।
क्रान्तिपछि अमेरिका र इरानबीचको सम्बन्ध झन् बिग्रियो । विशेषगरी अमेरिकी दूतावासमा कूटनीतिज्ञहरूलाई बन्धक बनाइएको घटनाले दुवै देशबीचको सम्बन्ध पूर्ण रूपमा तोडिदियो । यो संकट लामो समयसम्म चल्यो र अन्तर्राष्ट्रिय राजनीतिमा ठूलो प्रभाव पार्यो ।
त्यसपछि यी दुई देशबीचको सम्बन्ध कहिल्यै सामान्य हुन सकेन । इरानले स्वतन्त्र नीति अपनाउँदै आफ्नो क्षेत्रीय प्रभाव बढाउन थाल्यो भने अमेरिकाले प्रतिबन्ध र दबाबको नीति अपनायो । समयसँगै यो प्रतिस्पर्धा अझ जटिल बन्दै गयो ।
आज पनि अमेरिका र इरानबीचको सम्बन्ध अविश्वास र प्रतिस्पर्धामा आधारित छ । इरान आफूलाई स्वतन्त्र शक्तिको रूपमा स्थापित गर्न चाहन्छ भने अमेरिका आफ्नो प्रभाव सीमित गर्न चाहन्छ । यसरी हेर्दा, यी दुई देशबीचको सम्बन्ध मित्रताबाट सुरु भएर द्वन्द्वमा रूपान्तरण भएको एक जटिल ऐतिहासिक यात्रा हो, जसको प्रभाव भविष्यमा पनि विश्व राजनीतिमा देखिइरहनेछ ।
अहिले देखिएको घटना, तत्कालको जस्तो देखिए पनि यसका आधार निकै लामो छ । सँगै, यसको समाधान पनि तत्कालै हुने अवस्था छैन । एकले अर्कोलाई पूर्ण नजित्दासम्म युद्ध रोकिने छैन । यद्यपि, यो युद्धले विश्वलाई भने नराम्रोसँग प्रभावित बनाएको छ । मध्यपूर्व मात्रै होइन, सिंगै विश्वमा अर्को भयानक युद्धको त्रास पनि बढिरहेको छ । कामना गरौं, समाधान खोजिनेछ र विश्वमा फेरि अमन चयनको अवस्था बन्नेछ ।