
नेपाल सांस्कृतिक, ऐतिहासिक र धार्मिक दृष्टिले अत्यन्तै धनी देश हो । यहाँ विभिन्न जातजाति, भाषा, परम्परा, कला र ऐतिहासिक सम्पदाहरू पाइन्छन् । यस्ता सांस्कृतिक सम्पदाले नेपालको पहिचान मात्र होइन, देशको आर्थिक विकासमा पनि महत्वपूर्ण भूमिका खेल्छन् । विशेषगरी पर्यटन, रोजगारी सिर्जना, हस्तकला व्यवसाय र स्थानीय आर्थिक गतिविधि बढाउन सांस्कृतिक सम्पदाले ठुलो योगदान पुर्याउन सक्छ ।
सबैभन्दा महत्वपूर्ण भूमिका पर्यटन विकासमा देखिन्छ । नेपालका धेरै ऐतिहासिक र धार्मिकस्थलहरूले विश्वभरिका पर्यटकलाई आकर्षित गर्छन् । उदाहरणका लागि पशुपतिनाथ, स्वयम्भू स्तूप, भक्तपुर दरबार क्षेत्र र लुम्बिनी क्षेत्रजस्ता सम्पदास्थल नेपालका प्रमुख पर्यटन गन्तव्य हुन् । यी स्थानमा प्रत्येक वर्ष हजारौं विदेशी पर्यटक नेपाल आउने गर्दछन् । पर्यटकहरूको आगमनले होटल, रेस्टुरेन्ट, यातायात, गाइड सेवा र स्थानीय व्यापारलाई प्रत्यक्ष फाइदा पुर्याउँछ । यसले विदेशी मुद्रा आर्जन बढाउन सहयोग गर्छ, जसले देशको अर्थतन्त्रलाई बलियो बनाउँछ ।
युनेस्कोद्वारा सूचीबद्ध नेपालका सांस्कृतिक सम्पदाहरूमा पाटन, भक्तपुर, हनुमानढोका दरबार क्षेत्र, पशुपतिनाथ मन्दिर, स्वयम्भूनाथ र बौद्ध स्तूप, चाँगुनारायण मन्दिर र लुम्बिनी क्षेत्र रहेका छन् । यी सम्पदाहरूले नेपालको पर्यटन विकास, सांस्कृतिक संरक्षण र आर्थिक वृद्धिमा ठुलो योगदान पुर्याएका छन् । पछिल्ला वर्षहरूमा पर्यटन क्षेत्रमा उल्लेखनीय वृद्धि भएको देखिन्छ । सन् २०१९मा करिब ११ लाखभन्दा बढी पर्यटक नेपाल आएका थिए भने महामारीका कारण २०२० र २०२१ मा संख्या घटेको थियो । तर २०२२ पछि पुनः पर्यटन क्षेत्र सुधार हुँदै २०२३मा १० लाखभन्दा बढी र २०२४मा ११ लाखभन्दा बढी पर्यटक नेपाल आएका छन् । यी पर्यटकमध्ये धेरैले नेपालको सांस्कृतिक तथा धार्मिक सम्पदाहरूको भ्रमण गरेका छन् भन्ने तथ्यांकले देखाउँछ ।
अझ पर्यटनको वृद्धि गर्नका लागि युनेस्कोका लागि सिफारिस भएका सम्भावित सांस्कृतिक सम्पदा स्थलहरू– पनौतीको पुरानो मध्ययुगीन वास्तुकला परिसर, परम्परागत मन्दिर, तिलौराकोटका प्राचीन शाक्य साम्राज्यका पुरातात्विक अवशेष, गौतम बुद्धको प्रारम्भिक जीवनसँग सम्बन्धित क्षेत्र महत्वपूर्ण छन् ।
यसरी नै गुफा वास्तुकला र धार्मिकस्थल मुस्ताङ, गोरखा दरबार (मल्लकालीन शैली र ऐतिहासिक महत्व बोकेको), बुद्धको अवशेष स्तूप, शाक्य समुदायको महत्वपूर्ण धार्मिक स्थल रामग्राम, परम्परागत गाउँ र तोरीको तेल उद्योगको सांस्कृतिक सम्पदा क्षेत्र खोकनालगायतले नेपालको इतिहास, धर्म, कला, वास्तुकला र पुरातत्वलाई प्रतिनिधित्व गर्दछन् ।
यसैगरी धार्मिक केन्द्रको रूपमा रहेको साँखु, मध्ययुगीन सहर तथा मल्लकालीन दरबार र मन्दिरहरूको संगृहीत संरचना भएको कीर्तिपुर, धार्मिक स्थल तथा नदी तटमा ऐतिहासिक मन्दिरहरू रहेको रुरुक्षेत्र, नुवाकोट दरबार परिसर, कला र वास्तुकला तथा मध्ययुगीन सहरको स्वरूप बोकेको तानसेन, प्राचीन कर्णाली सभ्यता र कला झल्काउने सिन्जा भ्याली आदिको पनि उत्तिकै महत्व छ ।
यी स्थलहरूलाई विश्वव्यापी सांस्कृतिक महत्वका आधारमा सूचीकृत गरिएमा नेपालको पर्यटन, स्थानीय रोजगार र सांस्कृतिक पहिचानमा ठुलो योगदान पुग्ने देखिन्छ । यसबाट नेपालको आर्थिक विकासको महत्वपूर्ण आधारको रूपमा सांस्कृतिक तथा धार्मिक सम्पदा देखिन्छ ।
सांस्कृतिक सम्पदाले रोजगारी सिर्जना गर्न पनि महत्वपूर्ण भूमिका खेल्छ । पर्यटनसँग सम्बन्धित विभिन्न क्षेत्रमा धेरै मानिसहरूले काम पाउँछन् । उदाहरणका लागि पर्यटन गाइड, होटल कर्मचारी, हस्तकला व्यवसायी, सांस्कृतिक कलाकार र स्थानीय व्यापारीहरूलाई यसबाट रोजगारी प्राप्त हुन्छ । विशेषतः स्थानीय समुदायका मानिसहरूलाई आफ्नै ठाउँमै काम गर्ने अवसर मिल्छ । यसले ग्रामीण क्षेत्रको आर्थिक अवस्था सुधार्न पनि मद्दत गर्दछ ।
नेपालका परम्परागत कला र हस्तकलाहरू पनि सांस्कृतिक सम्पदाको महत्वपूर्ण भाग हुन् । काठ, धातुका मूर्ति, थांका चित्रकला, माटोका भाँडा तथा अन्य परम्परागत सामग्रीहरू विदेशी बजारमा पनि लोकप्रिय छन् । यी हस्तकलाको उत्पादन र बिक्रीले धेरै कारिगरहरूको जीविकोपार्जन चलिरहेको छ । साथै, यस्ता वस्तुहरूको निर्यातले देशमा विदेशी मुद्रा भित्र्याउन सहयोग पुर्याउँछ ।
सांस्कृतिक सम्पदाले देशको पहिचान र प्रतिष्ठा बढाउन पनि अहं भूमिका खेल्दछ । नेपाललाई विश्वमा सांस्कृतिक विविधता र धार्मिक सहिष्णुताको देशका रूपमा चिनिन्छ । यस्ता सम्पदाहरूले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा विशेष पर्यटन गन्तव्य बनाएका छन् । यसले दीर्घकालीन रूपमा आर्थिक विकासका अवसर सिर्जना गर्दछ ।
तर अहिले सांस्कृतिक सम्पदासँग सम्बन्धित केही समस्याहरू पनि छन् । धेरै ऐतिहासिक सम्पदाहरू उचित संरक्षणको अभावमा नष्ट हुने अवस्थामा पुगेका छन् । अव्यवस्थित सहरीकरण, प्रदूषण तथा जनचेतनाको कमीले पनि सम्पदामा नकारात्मक असर परेको छ । साथै, प्राकृतिक विपत्तिहरूले पनि ठुलो क्षति पुर्याएका छन् । उदाहरणका लागि २०७२ सालमा आएको भूकम्पका कारण धेरै मन्दिर, दरबार र ऐतिहासिक संरचनाहरू क्षतिग्रस्त भएका थिए । यस्ता घटनाले सांस्कृतिक सम्पदाको संरक्षण कति आवश्यक छ भन्ने कुरालाई दर्शाएको छ ।
यी समस्या समाधान गर्न विभिन्न उपायहरू अपनाउन आवश्यक देखिन्छ । पहिलो, सरकारले सांस्कृतिक सम्पदाको संरक्षण र पुनर्निर्माणका लागि पर्याप्त बजेट व्यवस्था गर्नुपर्ने देखिन्छ । दोस्रो, सम्पदा संरक्षणमा स्थानीय समुदायको सहभागिता बढाउनुपर्छ । स्थानीय मानिसहरूले आफ्नो सम्पदालाई माया गरेर संरक्षण गरेमा यसको दीर्घकालीन सुरक्षा सम्भव हुन्छ । तेस्रो, पर्यटन व्यवस्थापनलाई व्यवस्थित र दिगो बनाउन आवश्यक देखिन्छ । अत्यधिक भीडभाडले सम्पदामा क्षति पुग्न सक्छ, त्यसैले सन्तुलित पर्यटन नीति आवश्यक हुन्छ । चौथो, आधुनिक प्रविधिको प्रयोग गरेर सम्पदाको अभिलेख, अनुसन्धान र संरक्षणलाई प्रभावकारी बनाउन सकिन्छ ।
नेपालको सांस्कृतिक सम्पदालाई आर्थिक विकासको प्रमुख आधार बनाउन सक्ने सम्भावना धेरै छ । यसको लागि नयाँ सम्पदास्थलहरूको पहिचान, संरक्षण र प्रवद्र्धन गर्नुपर्दछ । साथै, सांस्कृतिक उत्सव, जात्रा र परम्परागत कार्यक्रमहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्नुपर्छ । युवापुस्तालाई पनि सांस्कृतिक सम्पदाको महत्वबारे शिक्षित गरेर संरक्षण अभियानमा सहभागी गराउन आवश्यक देखिन्छ ।
अन्त्यमा, सांस्कृतिक सम्पदा नेपालको अमूल्य धरोहर मात्र होइन, आर्थिक समृद्धिको महत्वपूर्ण स्रोत पनि हो । यदि यी सम्पदालाई सही रूपमा संरक्षण, व्यवस्थापन र प्रवद्र्धन गर्न सकियो भने पर्यटन, रोजगारी र व्यापारमार्फत नेपालको आर्थिक विकासमा ठुलो योगदान पुग्न सक्छ । त्यसैले सरकार, स्थानीय समुदाय र निजी क्षेत्र सबैले मिलेर सांस्कृतिक सम्पदाको संरक्षण र विकासमा सक्रिय भूमिका खेल्न अत्यन्त आवश्यक देखिन्छ ।
(केसी, सांस्कृतिक सम्पदा विज्ञ हुन् ।)