२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

बालेनको उदय र बालेन्द्रको भविष्य

Nada
दामोदर अर्याल
२०८२ चैत १८ गते ०६:०५
Shares
बालेनको उदय र बालेन्द्रको भविष्य

कुराको सुरुवात नयाँ प्रधानमन्त्री बालेन्द्रलाई बधाई दिएर गरौं, किनकि यो बधाईको अर्थ हो, जनमतको सम्मान । लोकतन्त्रमा विश्वास गर्ने हरेक मान्छेले यो सरकारको सफलताको कामना गर्नुपर्छ ।

ncell

यतिखेर यो सरकार अत्यन्त शक्तिशाली छ । यसको निर्माण आवधिक निर्वाचन र नियमित प्रक्रियाबाट मात्र भएको होइन । नेपालको इतिहासले कहिल्यै नव्यहोरेको भयंकर उथलपुथलको गर्भबाट यो निस्किएको हो । एउटा भयानक र डरलाग्दो मास डिप्रेसन, जो आगो लिएर सडकहरूमा कुद्यो, त्यसले चाहेको सत्ता परिवर्तनलाई कानुनी वैधता दिन मात्र निर्वाचन भएको थियो । वास्तवमा यो सरकारको राजनीतिक वैधता त भदौ २४मै स्थापित भइसकेको हो । निर्वाचनले त केवल कानुनी वैधता स्थापना गर्‍यो । कुरा यत्ति हो, सिंहदरबार र बालुवाटारमा लागेको आगो कानुनी भयो, बालेन्द्र सम्माननीय भए ।

अब बालेन्द्र सफल र ऐतिहासिक हुन के गर्नुपर्छ ? यो पंक्तिकारले दिने विभिन्न सल्लाहमध्ये एउटा सल्लाह हो– आगोबाट निर्माण भएको सरकार पानी बनेर बर्सनुपर्छ अर्थात् नेपाली समाजमा देखापरेको र अझै विद्यमान रहेको मास डिप्रेसनलाई समाप्त पारेर मुलुकलाई सामान्यीकरण गर्नु हो । यति मात्र गर्न सक्यो भने पनि यो सरकारलाई धन्यवाद दिनुपर्छ । किनकि समाजको लामो डिप्रेसनले लोकतन्त्र खतरामा पर्न सक्छ । त्यसबाहेक यदि सरकार यो मामिलामा असफल भयो भने मास डिप्रेसनको दोस्रो भेरियन्टको सम्भावना पनि हुन्छ । यदि फेरि मास डिप्रेसनको भाग–२ आयो भने त्यसले नेपाल र नेपालीको अस्तित्वसमेत खतरामा पार्न सक्छ । विश्व इतिहासमा यस्ता दुखान्त घटनाहरू धेरै छन् ।

सम्झना गरौं त मास डिप्रेसनको पहिलो भेरियन्ट कति डरलाग्दो थियो ? हाम्रै नवयुवाहरू आगो लिएर सिंहदरबार र बालुवाटारतिर दौडिएका थिए । मान्छेहरू यति धेरै अन्धा भएका थिए कि उनीहरू अगाडि देखिएका सबै थोक भत्काउन चाहन्थे, सबै चिज जलाउन चाहन्थे । ती हाम्रा आफ्नै भाइछोराहरू हुन्, जो आगोसँग खेल्दै थिए– हाम्रो आफ्नै अस्तित्व जलाउन, हाम्रो आफ्नै गौरव मेटाउन । हाम्रो लोकतन्त्रप्रति, हाम्रो संविधानप्रति, हाम्रो सरकारप्रति, हाम्रो इतिहासप्रति र हाम्रो गौरवप्रति सडकमा देखिएको त्यो भयंकर घृणा र आक्रोश कम डरलाग्दो थिएन ।

त्यो आम घृणा र आक्रोशलाई आशामा र विश्वासमा बदल्नु नै बालेन्द्रको पहिलो काम हुनुपर्छ । यतिखेर नेपाली मतदाताहरूले जो जे चिजबाट जन्मियो, त्यो चिज बदल्ने जिम्मा उसैलाई दिएका छन्, ‘आइरन कट आइरन’ भनेझैं । यो काममा उनलाई सफलता मिलोस् ।

त्यसबाहेक नयाँ सरकारले काम कहाँबाट सुरु गर्नुपर्ला ? यो सल्लाह हामीले नै दिने हो । त्यो सल्लाह दिनुभन्दा अगाडि आममान्छेमा देखापरेको त्यो घृणा र आक्रोशको स्रोत के हो ? त्यो पनि हामीले नै पत्ता लगाउनुपर्छ । किनकि नयाँ सरकार अझै शान्त छैन । सत्तारुढहरूमा आगोको रापताप अझै देखिन्छ । प्रत्येक दिनजसो भइरहेको गिरफ्तारीले पनि यो संकेत गरेको हो ।

सबैलाई थाहा छ, पुराना भनिएकाहरूका भयंकर भुलहरू नै आममान्छेको आक्रोशको स्रोत थिए । त्यस्ता भुल सयौं हुन सक्छन् । तर, ती सबै भुलहरूको जननी भनेको उनीहरूले अंगीकार गरेको विचारहीन राजनीति हो भन्दा फरक पर्दैन । एमाले, कांग्रेस र माओवादीहरूले सत्ता र विचार छान्दा जहिल्यै पनि सत्ता मात्रै छाने । नेपाली राजनीतिमा विचारहीन राजनीतिका जग बसाल्ने अग्रणी पार्टी एमाले हो भन्दा धेरैलाई मन नपर्न सक्छ । तर, सत्य यही हो । २०४७ सालमा बहुदलीय व्यवस्थाको स्थापनापछि त्यतिबेला क्रान्तिकारी ठानिएको एमालेले राजावादी चन्द र थापाको सरकार बनाउन गरेको कसरत र त्यो सरकारमा उनीहरूको सहभागिता कसलाई थाहा छैन र ?

त्यो कदम फगत एउटा सरकार निर्माणको कुरा मात्र थिएन । यो त विचारधारात्मक रूपमा पतनको सुरुआत थियो । त्यो पतनले उनीहरूको पार्टी निर्माण र सञ्चालन, नीति र कार्यक्रमसमेत प्रभावित भयो । हुँदाहुँदै परिस्थिति कहाँसम्म पुग्यो भने राप्रपासँग एमालेको चुनावी गठबन्धन मात्र भएन, हाकाहाकी सूर्य चिह्न लिएर राजावादी कमल थापाहरूसमेत चुनाव लड्ने परिस्थिति बन्यो । एमालेले राजावादीहरूलाई र राजावादीहरूले एमालेलाई भोट हाले ।

एमालेको यो पथमा कांग्रेस र माओवादीहरू पनि निरन्तर हिँडे । सदनमा वामपन्थी, बुर्जुवा र राजावादीबीच केही फरक देखिँदैन थियो । जसले जसलाई पनि भोट हाल्थ्यो, जो जोसँग पनि मिलेर सरकार बनाउँथ्यो । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले बजेट र कार्यक्रम बनाइदिन्थ्यो । हाम्रा युवाहरूलाई सस्तो कामदारका रूपमा विदेशमा लैजान विश्व पुँजीवाद उद्यत थियो । त्यसका लागि यहाँको कृषि र उद्योग ध्वस्त बनाउनुपथ्र्यो । यस काममा उनीहरू आदेश दिँदै गए, हाम्रा नेता र पार्टीहरू मान्दै गए ।

मिलेर चुनाव लड्थे, जो जति जितेर आउँछन्, सबै मिलेर मुद्दारहित सरकारहरू बनाउँदै गए । सत्ता एकातर्फ, समाज अर्कोतर्फ उभियो । समाजका अन्तरविरोध संगठित गर्ने कुनै प्राकृतिक शक्ति नै भएन । विचारहीन सत्ता र नेतृत्वहीन समाजका बीचमा अन्तरविरोध बढ्दै गए, थुप्रिँदै गए । त्यो एक ठाउँमा पुगेपछि विस्फोट हुनैपथ्र्यो– विस्फोट भयो । त्यही विस्फोटले सिंहदरबार र बालुवाटार जलायो । त्यही विस्फोटले बालेनहरू बालेन्द्र भए ।

समाजमा को बुर्जुवा ? को प्रगतिशील ? को यथास्थितिवादी ? वा को प्रतिगमनकारी ? भिन्नता छुट्टिन बन्द भइसकेको थियो । सिंगो समाज ब्रोइलर कुखुराको एउटा ठूलो खोरजस्तै बन्दै थियो– एउटै रंगको, एउटै आकारको र एउटै खान्कीको । सिंगो समाज विचारविहीन भएपछि आफ्नै ऐतिहासिक गौरव जलाउन मान्छेहरू सडकमा कुद्नु के नौलो कुरा भयो र !

अब नयाँ प्रधानमन्त्रीले समाजलाई वैचारिक बनाउन पहल गर्नुपर्छ । हो, हिजो बालेनको विचार थिएन, तर आज बालेन्द्र विचारमा उभिनुपर्छ । अर्थात् उहाँले आफ्नो कित्ता स्पष्ट पार्नुपर्छ– पुँजीवादी, वामपन्थी वा प्रतिगमनकारी । यो काम गर्न नयाँ प्रधानमन्त्री स्वतन्त्र हुनुहुन्छ किनकि उहाँ र उहाँको पार्टी आजसम्म कुनै विचारको दायित्वमा थिचिएको छैन । अस्पष्टताबाट नै सत्तामा पुग्न त सकिँदो रहेछ, नानीमैयाझैँ ! तर टिकाइरहन भने साँच्चिकै असम्भव हुन्छ ।

अनावश्यक कुराहरू धेरै गरेर समाजलाई अराजनीतिकरण गर्ने केपी ओली र कुरै नगरेर समाजलाई बाटो नदेखाउने बालेन्द्रहरू सारमा एउटै सिक्काका दुई पाटा मात्र हुन सक्छन् । नयाँ प्रधानमन्त्रीले ध्यान दिनुपर्ने कुरा यही नै हो । विचारहीनता निरन्तर कायम रह्यो भने कुनै पनि बेला फेरि अर्को भदौ आउन सक्छ ।

ओली, प्रचण्ड, शेरबहादुर र माधव नेपालहरू जन्मजात बेइमान होइनन् र थिएनन् । यो मुलुकको लोकतान्त्रीकरणका लागि उनीहरूको योगदान अब्बल छ, अतुलनीय छ । उनीहरू विचारको प्रचार गरेर विचारका आधारमा सत्तारुढ भएकाले विचारप्रतिको गद्दारी सहजै पहिचान भयो । यो नियम सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहका हकमा लागू हुँदैन । किनकि बालेन्द्र विचारका आधारमा सत्तारूढ भएका होइनन् । समयले उनलाई छुट दिएको छ– प्रतिगमनकारी हुनका लागि, बुर्जुवा विचारधारा अँगाल्नका लागि अथवा प्रगतिशील नै बन्नका लागि पनि । तर अब नबोली सुख छैन, बोल्नैपर्छ । र्‍याप गाएर भोट बटुलेजस्तो सरकार चलाउन सजिलो हुँदैन । अब एल्गोरिदमले पनि काम गर्दैन ।

कृषि कर्म गर्ने किसानहरू दिनप्रतिदिन गरिब किन भए ? तराई र पहाडका अधिकांश खेतीयोग्य जमिनमा सहरिया धनाढ्यको प्रभुत्व कसरी कायम भयो ? साँच्चै खेती गर्नेहरूले जमिन किन पाएनन् ? वस्तु वा सेवाको उत्पादन गर्ने इमानदार उद्योगपतिहरू किन दिवालिया हुन्छन् र कालोसूचीमा पर्छन् ? उद्योग, व्यापार नगर्नेहरू कसरी दिन–प्रतिदिन धनी बन्दै गइरहेका छन् ? जमिन, कार र मोटर किन्न नेपाली बैंकहरू सहजै ऋण दिन किन तयार हुन्छन् ? उद्योग र कृषिमा लगानी गर्न उनीहरू किन हिचकिचाउँछन् ? शिक्षा र स्वास्थ्य नाफा आर्जन गर्ने क्षेत्र कसरी बन्यो ? राजधानी र प्रमुख सहरहरूमा सरकारी कर्मचारीका आलिसान भवन कसरी ठडिए ? मान्छेहरू किन बेरोजगार भए ? नेपालको उद्योग र कृषि कसरी ध्वस्त भयो ?

यी र यस्ता थुप्रै प्रश्नहरू विरासतका रूपमा यो सरकारले पाएको छ । यसको उत्तर खोज्दै जाँदा कहीँ न कहीँ विश्व पुँजीवाद फेला पर्छ । वामपन्थीहरूले घुँडा टेकेको नै माथिका यी सवालहरूमा हो । यी प्रश्नहरूको उत्तर नखोजीकन कुनै पनि सत्ताले अब सुख पाउनेवाला छैन । हामीले ओली, प्रचण्ड र माधव नेपालहरूसँग पनि यही प्रश्नको उत्तर खोजेका हौं । हामीले उत्तर खोज्नका लागि जेनजीहरूले झैं आगो लिएर सडकमा नदौडिए पनि आफ्नै पार्टीसँग, आफ्नै नेताहरूसँग चिच्याएको धेरै वर्ष भयो । चिच्याएबापत आफ्नै पार्टीबाट कालापानी लखेटिएका हामी यही छौं । हाम्रो प्रश्न यथावत् छ– ‘नेपालको कृषि र उद्योगलाई जोगाउन विश्व पुँजीवादसँग जुध्न तयार हुनुहुन्छ ? कि शेरबहादुर, ओली, दाहाल र नेपालकै पथमा हिँड्नुहुन्छ ?’

आजको अर्को समस्या भनेको पार्टीहरूभित्रको दासत्वकरण र समाजको अराजनीतिकरण हो । दासत्वकरणले देवत्वकरण जन्मायो, अराजनीतिकरणले ‘चुपचाप भोट हाल’ भन्ने नारा जन्मायो । मान्छेहरूले विचार खोजेनन्, योगदान हेरेनन् । पुरानाका अनुहार सम्झे, नयाँका अनुहार नै नहेरी ‘चुपचाप’ भोट हाले । मतदाताले चुपचाप भोट हाले पनि, जित्नेहरूले चुपचाप बस्नुहुँदैन ।

अन्त्यमा भनौं, बालेनको उदय चुपचाप भएको हो, तर बालेन्द्रको भविष्य चुपचाप भएर बन्दैन ।

(अर्याल, नेकपा (संयुक्त)का नेता हुन् ।)

सम्बन्धित खबर