२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

रूपान्तरणको बाटो

Nada
खगेन्द्र पौडेल
२०८२ चैत १८ गते ०६:००
Shares
रूपान्तरणको बाटो

नेपालको वर्तमान राजनीतिक परिवेश संक्रमणको चरणमा छ । पुराना दलप्रति बढ्दो असन्तुष्टि र नयाँ शक्तिप्रति बढ्दो अपेक्षाले देशलाई नयाँ मोडमा ल्याएको छ । तर, केवल अनुहार परिवर्तनले मात्र रूपान्तरण सम्भव हुँदैन । विचार, व्यवहार र संरचनागत सुधारबिना ‘पुरानो रोग, नयाँ औषधि’जस्तै स्थिति दोहोरिन सक्छ । त्यसैले आजको आवश्यकता भनेको सतही परिवर्तन होइन, गहिरो संस्थागत रूपान्तरण हो ।

ncell

पछिल्ला वर्षहरूमा देशमा तथाकथित ‘नैतिक माफिया’हरूको प्रभाव उल्लेखनीय रूपमा बढेको छ । बुद्धिजीवी, पत्रकार, डाक्टर, कर्मचारी र प्राध्यापकको आवरणमा रहेका केही समूह अवसरवादी रूपमा सत्ता नजिक पुग्ने र आफ्नो स्वार्थ पूरा गर्ने खेलमा सक्रिय छन् । परिस्थितिअनुसार फेरिने शैलीमा सत्तासँग नजिकिने गर्छन् । हिजो जसको प्रशंसा गर्थे, आज त्यहीलाई आलोचना गर्दै नयाँ शक्तिको स्तुति गर्न पछि पर्दैनन् । यदि वर्तमान सरकारले यस्ता तत्वलाई चिन्न सकिएन भने, विगतमा जस्तै फेरि धोका खाने जोखिम रहन्छ ।

पुराना राजनीतिक दलहरू आफैंले आफ्ना कमजोरीको सूची तयार पार्न आवश्यक छ । विद्यार्थी र युवा संगठनहरूमा देखिएको विकृति– घुस, ठेक्कापट्टा, धम्की र हिंसाले दलहरूको साख गुमाएको छ । इमानदार कार्यकर्ताहरूलाई किनारामा पार्दै भ्रष्ट प्रवृत्तिलाई बढावा दिइएको यथार्थलाई स्वीकार नगरी सुधार सम्भव छैन । समाजवादको नारा मात्र होइन, व्यवहारमा पनि स्वच्छता र पारदर्शिता आवश्यक छ ।

राजनीति केवल काठमाडौंका कोठा र मिडियाका अन्तरवार्तामा सीमित हुन सक्दैन । वास्तविक परिवर्तनका लागि जनतासँग प्रत्यक्ष सम्बन्ध आवश्यक हुन्छ । बलियो विचार र जनआधारबिना कुनै पनि शक्ति दीर्घकालीन विकल्प बन्न सक्दैन । त्यसैले गनगन र आलोचनाभन्दा संगठन निर्माण र जनसरोकारमा केन्द्रित हुनु अपरिहार्य छ ।

केही पुराना नेताहरूलाई समेट्नु मात्र परिवर्तन होइन । देशको वास्तविक समस्या– वन विनास, नदी प्रदूषण, अवैध उत्खनन, कृषि जमिनको प्लटिङ, विषादीको असर, लागूपदार्थको महामारी, सरकारी सम्पत्तिको दुरुपयोग, यी सबैमा सुधार ल्याउनु नै परिवर्तनको मापन हो । यदि यिनै समस्यामा संलग्न व्यक्तिहरू नयाँ शक्तिसँग पनि जोडिन्छन् भने इतिहास दोहोरिन समय लाग्दैन । 

नागरिकले नयाँ दल होइन, स्वच्छ र स्वतन्त्र संस्थागत संरचना खोजिरहेका छन् । उनीहरूले राज्यका निकायहरू– विश्वविद्यालय, प्रहरी, निगममा योग्य व्यक्तिको नियुक्ति र राजनीतिक हस्तक्षेपको अन्त्य अपरिहार्य छ । राज्ययन्त्रलाई बलियो र निष्पक्ष बनाउनु नै दिगो शासनको आधार हो ।

नेपालको भूराजनीतिक अवस्था जटिल छ । परराष्ट्र मन्त्रालयलाई बलियो बनाउँदै छिमेकी राष्ट्रहरूसँग सन्तुलित सम्बन्ध कायम गर्न विशेषज्ञहरूको भूमिका आवश्यक छ । साथै, सेना र प्रहरीजस्ता सुरक्षा निकायहरूले राजनीतिक प्रभावबाट टाढा रहँदै व्यावसायिकता कायम गर्नुपर्छ । नागरिकप्रति उत्तरदायित्व र कानुनको शासनप्रति प्रतिबद्धता नै यिनको प्रमुख धर्म हुनुपर्छ ।

नेपाललाई आज आवश्यक परेको कुरा दल परिवर्तन होइन, प्रणाली परिवर्तन हो । नागरिक सर्वोच्चता, पारदर्शिता र संस्थागत मजबुतीको मार्गमा अघि बढ्न सके मात्र देशले सही अर्थमा रूपान्तरणको अनुभव गर्नेछ । वर्तमान सरकार होस् वा कुनै पनि शक्ति यदि जनअपेक्षाविपरीत गए भने नागरिकले पुनः अस्वीकार गर्न सक्नेछन् । त्यसैले सबै पक्षले आत्मसमीक्षा गर्दै जिम्मेवार, नैतिक र जनमुखी राजनीति अभ्यास गर्नु आजको अपरिहार्य आवश्यकता हो ।

सम्बन्धित खबर