
काठमाडौं : दलालहरूको झुटो सपनामा परेर लाखौं खर्च गरी युरोपेली मुलुक पुग्ने नेपालीहरूको ठुलो समूह बिचल्लीको अवस्थामा पुगेको छ । दलालहरूको भनाइमा विश्वास गरेर रोमानिया, बुल्गेरिया, बोस्निया र स्लोभाकिया पुगेका नेपालीसहित भारतीय श्रमिकहरूको ठुलो संख्या समस्यामा परेको पीडितहरूको भनाइ छ ।
हालै स्लोभाकियाबाट फर्केका बागलुङका नवीन श्रीसका अनुसार नेपाल र भारतका धेरै एजेन्टहरूले ‘३ महिनाको भिसा, त्यसपछि टिआरसी भनिने टेम्पोररी रेसिडेन्ट कार्ड, दैनिक ८ घण्टा काम, न्यूनतम ९ सय युरो तलब, बोनस, ओभरटाइम, बसोबास–ट्रान्सपोर्ट फ्रि’ जस्ता आकर्षक प्रचार गरेर झुक्याएर पठाउने गरेको बताए । उनले आफूहरू दलाललाई १६ लाख रुपैयाँ दिएर स्लोभाकिया गएको, तर त्यहाँ मुस्किलले ५ सय युरो बचाउन नसकेपछि घर फर्केको बताए ।
स्लोभाकियामा ‘टिआरसी कार्ड’ गैर–इयू नागरिकहरूलाई काम, अध्ययन वा पारिवारिक पुनर्मिलन जस्ता विशेष उद्देश्यका लागि अस्थायी रूपमा बस्न दिइने अनुमतिपत्र हो । उक्त कार्ड प्राप्त गर्न स्लोभाकियाको दूतावास वा स्लोभाकियाको विदेशी प्रहरी विभागमा आवेदन दिनुपर्छ । आवेदन दिँदा रोजगार सम्झौता र आवास, आर्थिक हैसियत, स्वास्थ्य परीक्षण जस्ता आवश्यक कागजातहरू पेस गर्नुपर्छ ।
आवेदन आधिकारिक फारमहरू भरेर सार्वजनिक स्वास्थ्यलाई खतरामा पार्ने रोग छैन भनेर पुष्टि गर्ने मेडिकल रिपोर्ट कार्ड प्राप्त गरेको ३० दिनभित्र पेस गर्नुपर्ने व्यवस्था छ । तर विभिन्न प्रलोभनमा पारेर नेपालबाट लैजाने दलालले यी प्रक्रिया पूरा नगरिदिने गरेकाले नेपालीहरू समस्यामा पर्ने गरेकोे श्रीसले बताए ।
स्लोभाकियामा २०२५ जनवरीदेखि नेपाली र भारतीय नागरिकलाई ३ महिनाको भिसा दिइन थालेको हो । एजेन्टहरूले ३ महिनापछि कार्ड बन्ने र स्थायी काम मिल्छ भनेर आश्वासन दिएर विश्वासमा लिए पनि कतिपय एजेन्टहरूलाई कार्ड कसरी बन्छ ? वा कसरी नवीकरण हुन्छ ? भन्ने जस्ता आधारभूत विषयमा जानकारी नहुने गरेका कारण कतिपय त्यहाँ पुग्नेहरू ३ महिनापछि पनि अनिश्चितता र अलमलमा पर्ने गरेकोे पनि श्रीसको भनाइ छ ।
उनले भने, ‘एजेन्टको झुटो आश्वासन नभई त्यहाँ काम गरिरहेका नेपालीबाट काम तलब, अस्थायी कार्डलगायतका विषयमा वास्तविक स्थितिको जानकारी लिएर प्रोसेसमा लाग्नुपर्ने रहेछ ।’
यसैबीच आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि विभिन्न देशमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखेर विदेश नपठाई सम्पर्कविहीन भएका ३ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पीडितहरुले दिएको जाहेरी दरखास्तपछि काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बताएको छ ।
कार्यालयका अनुसार बुल्गेरिया पठाउने भन्दै ७ लाख ५० लिएका काभ्रेपलान्चोक भोटेकोशीका अमृत तामाङ, अल्बानिया पठाउने आश्वासनमा ३ लाख लिएका लमजुङ दोर्दीका पुड्के तामाङ र अमेरिका पठाइदिने भन्दै ४ लाख ५० हजार लिएर बेपत्ता भएका काठमाडौंका विशाल बज्राचार्य पक्राउ परेका छन् ।