
काठमाडौंः अवैध लागुऔषधसहित विभिन्न ठाउँबाट ३ जना पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका–७ बाट नियन्त्रित लागुऔषध डाइजेपाम १६ एम्पुल, प्रोमेथाजाईन–१६ एम्पुल र बुप्रेनोर्फिन १६ एम्पुलसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं कपन बस्ने काभ्रे पाँचखाल नगरपालिका–९ घर भएका ३२ वर्षीय विष्णु थापा मगर र काठमाडौं बौद्ध बस्ने उदयपुर घर भएका २६ वर्षीय योगेश राई रहेका छन् । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।
यस्तै, बर्दियाको गेरूवा गाउँपालिका–५ झबही बस्ने २४ वर्षीय कमल शाहीलाई अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्रामसहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पाताभार र प्रहरी चौकी पशुपतिनगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।