२०८२ कार्तिक २२ गते शनिवार / Nov 08 , 2025 , Saturday
२०८२ कार्तिक २२ गते शनिवार
Ads

डडेल्धुराका प्रमुख मेलाहरू सम्पन्न, सांस्कृतिक उत्सवसँगै स्थानीय उत्पादन साटासाट

shivam cement
दीपकराज भट्ट
२०८२ कार्तिक २२ गते २०:५७
Shares
डडेल्धुराका प्रमुख मेलाहरू सम्पन्न, सांस्कृतिक उत्सवसँगै स्थानीय उत्पादन साटासाट

डडेल्धुरा : सांस्कृतिक, धार्मिक र सामाजिक एकताको प्रतीक मानिने डडेल्धुराका प्रमुख मेलाहरू (जाँत) यस वर्ष कात्तिक महिनाभर मनाइएका छन् । भागेश्वर, उग्रतारा (देहिजाँत), बडाल र जगन्नाथ (खोले जाँत) लगायतका प्रसिद्ध मेला सम्पन्न भइसकेका छन् ।

यी मेलाहरूलाई आफन्तसँगको भेटघाट, स्थानीय उत्पादनको साटासाट र सामुदायिक मिलनको थलोका रूपमा लिइन्छ ।

बडाल जाँत

गन्यापधुरा गाउँपालिका–२ बडालमा रहेको लाटागन्याप देवताको पूजा–आराधनासँगै सुरु हुने बडाल जाँत यस वर्ष कात्तिक २७ गते सम्पन्न भएको हो ।

धार्मिक शक्ति र पारम्परिक चौलो नाचका कारण यो मेला सुदूरपश्चिमभर प्रसिद्ध छ । स्थानीयहरूले दाइन, दमाह, भोकर र रुइसिङ बजाउँदै ढाल–तरवार खेल्दै चौलो नाच्ने परम्परा कायम राखेका छन् । यस जाँतमा आज पनि गाउँका उत्पादन साटासाट गर्ने चलन निरन्तर रहँदै आएको छ ।

भागेश्वर जाँत (धुरा)

भागेश्वर गाउँपालिकामा रहेको ऐतिहासिक शिव मन्दिर ‘धुरा’मा कात्तिक १८ गते मेला लाग्यो । वर्षमा दुई पटक आयोजना हुने यो मेला प्राकृतिक सुन्दरताबीच धार्मिक आस्थाको केन्द्र बनेको छ । मेला अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिएको थियो ।

उग्रतारा मेला (देहिजाँत)

सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा कात्तिक १९ गते देहिजाँत सम्पन्न भयो । हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन लाग्ने यस मेलामा सुदूरपश्चिम, कर्णाली र भारतसम्मका भक्तजनको सहभागिता रहन्छ ।

परम्पराअनुसार छचोडा, खनमडा, दुमडा र जिलोडा गाउँबाट देउरोसहित मन्दिरमा पुगेपछि दिउँसो मेला औपचारिक रूपमा सुरु हुन्छ । बिहानैदेखि दाइन, दमाह, भोकर, शङ्ख र घण्टाका ध्वनिसँगै भगवतीको पूजा हुने चलन छ ।

जगन्नाथ मेला (खोले जाँत)

अजयमेरु गाउँपालिका–३ र ४ चिपुरमा पर्ने जगन्नाथ मेला (खोले जाँत) कात्तिक २२ गते सम्पन्न भयो। गुनपाल, चौडी, चिपुर र मड गाउँका भक्तजनहरूले देउरो बोकेर मन्दिर पुग्ने परम्परा यहाँ अझै जीवित छ । १५औं शताब्दीमा सुतार जातिले निर्माण गरेको भनिने जगन्नाथ मन्दिरमा प्रत्येक वर्ष हजारौँ भक्तजन ‘तिलाख’ ग्रहणका लागि आउने गर्छन् ।

संरक्षणको आवश्यकता

जाँतहरू केवल धार्मिक उत्सव मात्र नभई स्थानीय पहिचान र समुदायबीचको सम्बन्ध मजबुत बनाउने माध्यम हुन् । तर पछिल्ला वर्षहरूमा युवापुस्ताको सहभागिता घट्दै गएको भन्दै स्थानीयहरू यस सांस्कृतिक सम्पदाको जर्गेना गर्न स्थानीय तहको पहल आवश्यक रहेको बताउँछन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर