
उदयपुर : उदयपुरमा मलद्वारमा लुकाइछिपाई ल्याइँदै गरेको प्रतिबन्धित लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय बेल्टारको टोलीले चौदण्डीगढी नगरपालिका ४ पैतालिस चोकमा पैदल हिँड्दै गरेका दुई जनालाई जाँच गर्ने क्रममा शंका लागेर नगर अस्पताल चौदण्डीगढीमा लगेर जाँच गरेको थियो । जाँचका क्रममा उनीहरूले मलद्वारमा लुकाइछिपाई ल्याइरहेको ३३ एम्पुल प्रतिबन्धित लागूऔषध फेला परेको छ ।
पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका ७ बस्ने करिब २४ वर्षीय पर्शुराम तिमल्सिना (१५ एम्पुल) र सोही ठाउँका २३ वर्षीय विकि भन्ने विवेक राई (१८ एम्पुल) रहेका छन् । प्रहरीका अनुसार, लागूऔषध अस्पतालको सुरक्षा मातहत सुरक्षित निकालिएको छ ।
पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय बेल्टारको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।