काठमाडौँ : देशको चौथो मुख्य बाली कोदो खेती गर्न पहाडी र तराई क्षेत्रका किसानले अरुचि देखाएका छन् । मकैपछिको दोस्रो मुख्य बालीका रूपमा विगतमा पहाडमा खेती हुँदै आएकामा केही वर्षयता ती भेगका किसानले पनि यसलाई खासै महत्त्व नदिएका हाम्रा स्थानीय समाचारदाताहरूले जनाएका छन् ।
कुनै समय गरिबको खाना भनेर होच्याइएको कोदो र यसबाट बन्ने परिकारको माग हाल सहर बजारमा बढेको छ । कम खर्चमा यसको खेती गर्न सकिने कृषि क्षेत्रका जानकारहरू बताउँछन् । तराईदेखि उच्च पहाडी क्षेत्रसम्म जुनसुकै जलवायुमा कम मलिलो तथा सुक्खा जग्गामा कोदो खेती गर्न गर्न सकिने उनीहरूको भनाइ छ ।
कोदोबाट ढिँडो, रोटी, सातु, लिटो, खोले, पुवालगायत परिकार बनाइन्छ । कोदोका परिकार पोषणयुक्त हुन्छन् । खाद्य सुरक्षाका दृष्टिले कोदोलाई ज्यादै महत्त्वपूर्ण बालीका रूपमा लिइन्छ ।
चितवनस्थित अघिल्लो वर्षको तुलनामा यो वर्ष चितवनमा कोदो खेती गर्ने किसानको सङ्ख्या घटेको छ ।
कृषि विकास कार्यालयका कृषि अधिकृत उमराज अर्यालका अनुसार चितवनमा वार्षिक एक हजार ५० हेक्टरमा कोदो खेती हुँदै आएको छ । इच्छाकामना गाउँपालिका र राप्ती नगरपालिकामा कोदो खेती हुँदै आएकामा हाल त्यहाँ कोदो रोप्ने किसान घटेका छन् । उनले भने, “कोदो ढिलो पाक्ने र लगाउन, थन्काउन झन्झटिलो भएका कारण यसतर्फ किसानको ध्यानाकर्षण गराउन सकिएको छैन ।”
कोदो खेतीतर्फ भोजपुरका किसानको पनि आकर्षण घटेको त्यहाँबाट हाम्रा स्थानीय संवाददाताले जनाएका छन् । पर्याप्त आम्दानी नहुने भएकाले उनीहरू वैकल्पिक खेतीमा लागेका रामप्रसादराई–६ का किसान राजेन्द्र राईले बताए ।
“आम्दानी राम्रो नहुने तथा खेती गर्न झन्झटिलो भएकाले गाउँघरमा व्यावसायिक रूपमा कोदो खेती गर्ने चलन हरायो”,उनले भने ।
जिल्लाको छ हजार हेक्टर जमिन कोदोबालीका निम्ति उपयुक्त रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । स्थानीय बजारमा कोदो प्रतिपाथी रु १५० देखि १६० सम्ममा विक्री हुने गरेको छ ।
तानसेनबाट रासस प्रतिनिधिले पठाएको समाचारअनुसार दश अघिसम्म पाल्पाका गामीण भेगमा कोदो खेती हुने गरेकामा हाल ती क्षेत्रका बारी र टारी बाँझै छन् । कोदो खेतीमा अब्बल मानिएका बगनासकाली र रैनादेवी छहरामा पनि खेती गर्ने घटेका छन् । युवापुस्ता विदेशिने र सहर पस्ने क्रमसँगै कोदो खेती हुन छाडेको हो । यद्यपि जिल्लाका निस्दी, पूर्वखोला र रिब्दीकोट गाउँपालिकाका विभिन्न ठाउँहरूमा कोदो खेती हुने गरेको छ ।
पाल्पामा आर्थिक वर्ष २०८०/०८१ मा दुई हजार ३६३ हेक्टर क्षेत्रफलमा कोदो खेती भएकामा आव २०८१/०८२ मा आएर दुई हजार ३४९ क्टरमा झरेको कृषि ज्ञान केन्द्रका प्राविधिक सुरज पाण्डेयले बताए । जिल्लाका किसान कोदोको सट्टा फलफूलतर्फ आकर्षित भएका उनले जानकारी दिए ।