
सन्धिखर्क : लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको घरमा आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले सन्धिखर्कबाट पक्राउ गरेका पत्रकार गुरुदेव खनालसहित दुईजना व्यवसायी युवाहरूलाई जिल्ला अदालत अर्घाखाँचीले जिम्मा जमानीमा रिहा गरेको छ ।
भूमिकास्थान नगरपालिका वडा नम्बर १ घर भई हाल सन्धिखर्क नगरपालिका वडा नम्बर २ घोचेखोलामा बस्दै पत्रकारिता र व्यवसाय गर्दै आएका युवा गुरुदेव खनाल, सन्धिखर्क नगरपालिका वडा नम्बर २ भक्तिटोलाका व्यवसायी पुष्कर पौडेल र सोही वडाको कुर बस्ने चूरामणि ढुंगानालाई बुधबार चुत्राबesiबाट अनुसन्धानका लागि भन्दै अर्घाखाँची प्रहरीले नियन्त्रणमा लिएको थियो ।
अर्घाखाँची जिल्ला अदालतले कात्तिक ५ गते पक्राउ पुर्जी जारी गरेको र उनीहरूसँग थप केही कुरा बुझ्नुपर्ने भएकोले आपराधिक उपद्रवसम्बन्धी कसुरमा पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरीले बिहीबार बिहान १२ बजे म्याद थपका लागि जिल्ला अदालतमा पेस गरेकोमा अदालतले युवाहरूलाई जिम्मा जमानिमा रिहा गरेको हो ।
भदौ २४ गते जेन–जी प्रदर्शनका क्रममा सन्धिखर्क हटारीस्थित मुख्यमन्त्री आचार्यको घरमा तोडफोड र आगजनी भएको थियो । घरमा आगजनी र तोडफोड गरेको भन्दै मुख्यमन्त्री आचार्यकी श्रीमती दीपा आचार्यले खनाल, पौडेल र ढुंगानासहित ११ जनाविरुद्ध जाहेरी दिएको स्रोतको भनाइ छ ।
आचार्यले सन्धिखर्क नगरपालिका २ घोचेखोलाका माधव भण्डारी, कुर बेहोरेका मदन परियार, पुल्चोकका विनोद मगर, सन्धिखर्कस्थित पश्चिमाञ्चल बस समितिको काउन्टरमा कार्यरत कमल घिमिरे, सन्धिखर्क नगरपालिका १० धरमपानीका कुशल चुँदाली, सोही वडाका अर्जुन चुँदाली, सोही नगरको वडा ३ अलुवाखोलाका सुन्दर भारती र सन्धिखर्कका विशाल कँडेललाई घर तोडफोड र आगजनीमा संलग्न रहेको भन्दै जाहेरी दर्ता गरेको बताइएको छ ।