
काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार समग्र चलचित्र क्षेत्रको श्रीवृद्धिका लागि प्रतिबद्धताका साथ लाग्ने विश्वास व्यक्त गरेका छन् । बिहीबार मन्त्रालयमा चलचित्र विकास बोर्डको संयोजनामा आयोजित चलचित्रकर्मीहरुसँगको अन्तरक्रियामा उनले समग्र चलचित्रको हितका लागि नीतिगत सुधार गरिने उल्लेख गरे ।
सञ्चारमन्त्री खरेलले चलचित्रमा देश, समाज र जनतालाई मार्गनिर्देशन गर्ने, नयाँ बहस सिर्जना गर्ने कथावस्तु हुनुपर्नेमा जोड दिए । उनले भने, ‘सिनेमा समाजको ऐन पनि हो । देश, समाज र जनतालाई मार्गनिर्देशन गर्ने सिनेमाको कन्टेन्ट र स्कृष्ट बालियो, सन्देशमुलक, गुणस्तरीय र समाजले रुचाउने हुन जरुरी छ ।’

मन्त्री खरेलले सिनेमाको कथावस्तु, समयसुहाउदो अडियन्समैत्र तथा कथावस्तुमा नवीनतम प्रयोग हुन जरुरी भएको उल्लेख गरे । उनले देश र जनताको हित र चलचित्रको हितका लागि आफ्नो अवधिमा प्रभावकारी काम गर्ने विश्वास दिलाए । मन्त्री खरेलले भने, ‘देश, जनता र चलचित्रको हितमाा हुने कुनैपनि कामको लागि मन्त्रालयकोतर्फबाट साथसहयोग रहनेछ । मेरो कार्यकालमा चलचित्र क्षेत्रको हितमा कार्यक्रम र कार्ययोजन ल्याउनुस् मन्त्रीकोतर्फबाट कुनैपनि फाइल रोकिने छैन ।’
सञ्चारमन्त्री खरेलले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)मा तत्काल सही व्यक्ति ल्याउन निर्देशन पनि दिए । उनले भने, ‘सेन्सर बोर्ड र विकास बोर्डहरूसँग समन्वय गरि तत्काल राइट म्यान इन राइट प्लेस ल्याउनूस् ।’
उनले चलचित्रकर्मीले उडाएका ड्रोन, अनुदान, सामाजिक सुरक्षालगायत विषयमा मन्त्रालयले छलफल गरेर सहजिकरण गर्ने विश्वास व्यक्त गरे ।
सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले चलचित्र क्षेत्रको दिगो विकासका लागि मन्त्रालयले आवश्यक सहजीकरण गर्ने बताइन् । उनले चलचित्रकर्मीले उठाएको सेन्सर, ड्रोन, विदेशी सिनेमा छायाँकनलगायत विषय अन्तरमन्त्रालय र सम्बन्धित निकायसँग छलफल गरी समाधानका लागि पहल गरिने विश्वास व्यक्त गरिन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्र क्षेत्रको दिगो विकासका लागि सरकारले सिनेमा हल नपुगेका जिल्ला वा शहरमा नयाँ हल निर्माणका लागि प्रोत्साहन गर्न आग्रह गरे । उनले चलचित्र ऐन तथा विधेयक परिमार्जन, चलचित्र कल्याणकारी कोष र राष्ट्रिय स्टुडियो निर्माणमा सरकारी सहयोग र सेन्सर प्रणालीलाई सरल र पारदर्शी बनाइनुपर्नेमा जोड दिए ।
चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले कर्णाली प्रदेशभरमा एउटा मात्र सिनेमा हल रहेको विषयलाई उठान गर्दै हलको संख्या बढाउनुपर्नेमा जोड दिए । कलाकार दीपकराज गिरीले हरेक व्यवस्था परिवर्तनका लागि भएका आन्दोलनमा कलाकर्मीको विगतदेखि वर्तमानसम्मको योगदानको विषयलाई अतिरञ्जित बनाइन नहुनेमा जोड दिए । कलाकार केदार घिमिरेले जेनजी आन्दोलनपछि कलाकारले विभिन्न आरोप लगाइने गरेको भन्दै स्वतन्त्र कलाकारमाथि भइरहेको प्रहार बन्द हुनुपर्ने धारणा राखे ।

वरिष्ठ संगीतकार सुरेश अधिकारीले प्रतिनिपि अधिकार ऐन कार्यान्वयन गरिनुपर्नेमा जोड दिए । कलाकार जितु नेपाल, निर्देशकद्वय प्रदीप भट्टराई र सरोज पौडेल, नायक प्रदीप खड्काले सेन्सरलाई खुकुलो बनाउनुपर्नेमा जोड दिए । छायाँकार विष्णु कल्पितले ड्रोन चलाउन र विदेशी चलचित्र छायांकनलाई सहज बनाइनुपर्ने औंल्याए ।
नेपाली चलचित्र क्षेत्रका शीर्ष कलाकार, निर्देशक, निर्माता र संघसंस्थाका प्रतिनिधिहरूले सञ्चारमन्त्री खरेलसँग मन्त्रालयमा अन्तरक्रिया गरेका हुन् ।