
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले एक थोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन आफू प्रयासरत रहेको बताएकी छन् ।
द एसिएन नेटवर्क फर फ्रि इलेक्सन्स (आन्फ्रेल)को प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण र भयरहित वातावरणमा स्वच्छ र निष्पक्ष चुनाव गराउन सरकार प्रतिबद्ध रहेको जानकारी दिइन् ।
आन्फ्रेल थाइल्यान्डको बैंककमा सचिवालय रहेको अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूको सञ्जाल हो । सचिवालयका कार्यकारी निर्देशक ब्रिजा रोसालेसको नेतृत्वको टोली अहिले नेपालको निर्वाचन वातावरणको मूल्यांकन गर्न काठमाडौं आइपुगेको छ ।
लामो समय न्यायाधीश र प्रधानन्यायाधीशका रूपमा काम गरेको व्यक्तिको नेतृत्वको सरकार भएकाले यसले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने भन्नेमा आफूहरू विश्वस्त रहेको प्रतिनिधिमण्डलका सदस्यहरूले बताएका छन् ।
‘तपाईँको लामो समयदेखिको न्यायिक अनुभवले स्वतन्त्र र निष्पक्ष निर्वाचनमार्फत राजनीतिक पुनःसंरचना सम्भव हुने देखेका छौं र त्यसले लोकतान्त्रिक संस्थाहरूलाई जोगाउनेछ,’ प्रतिनिधिमण्डलको भनाइ थियो ।
प्रधानमन्त्री कार्कीले पनि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले चासो देखाएपछि निर्वाचन सुरु भइसकेको अनुभूति गराएको प्रतिक्रिया दिइन् ।
प्रधानमन्त्री कार्कीले भनिन्, ‘हाम्रो मुख्य उद्देश्य नै चुनाव गराउनु हो । यसैमा केन्द्रित छौं । स्वस्थ निर्वाचनको वातावरण बनाउन नागरिक समाज र पर्यवेक्षकको पनि भूमिका रहन्छ । यहाँहरूको उपस्थितिले निर्वाचन सुरु भइसकेको अनुभूति गराएको छ ।’
सो अवसरमा आन्फ्रेल प्रतिनिधिहरूसँगै नेपालको निर्वाचन पर्यवेक्षकहरूको सञ्जाल नियोकका पदाधिकारी तथा सदस्य पनि उपस्थित थिए । उनीहरूले यसपालि पहिलोपल्ट मतदान गर्ने युवा मतदातामा व्यापक उत्साह देखिएकाले मतदाता शिक्षामा विशेष जोड दिन सुझाव पनि दिए ।
सरकारले आगामी फागुन २१ गते तोकिएको निर्वाचन सम्पन्न गराउन तयारी तीव्र पारेको छ ।