काठमाडौं : नेपालको समग्र शान्ति सुरक्षाको जिम्मेवारी लिएको नेपाल प्रहरीमा जागिर प्रवेशको केही समय रमाए पनि आन्तरिक अवस्था बुझेपछि धेरैले प्रहरी सेवाप्रति असन्तुष्टि जनाएका छन् । झट्ट हेर्दा सानदार देखिने प्रहरीका विभिन्न पदमा कार्यरत करिब २ हजार ४ सय प्रहरी कर्मचारीले जागिर छाडेका हुन् ।
२०८१ साउनदेखि २०८२ असारसम्म (एक वर्ष)को अवधिमा जवानदेखि अधिकृत तहसम्मका २ हजार ३ सय ६९ प्रहरीले राजीनामा दिएको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ । केही प्रहरी अपराध र आचरणविपरीत गतिविधिमा मुछिएपछि विभागीय कारबाहीमा परेर राजीनामा दिए पनि अधिकांश कर्मचारीमा सेवा प्रवेश गर्दाको अपेक्षाअनुरूप नभएपछि पेसा छाड्नेको संख्या बढेको हो । जागिर छाड्नेमा प्रहरीको माथिल्लोभन्दा तल्लो दर्जाका कर्मचारी अत्यधिक छन् ।
तथ्यांकअनुसार जागिरबाट राजीनामा दिएका २ हजार ३ सय ६९ जनामध्ये अधिकांश सिपाही र हबल्दार छन् । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार गत एक वर्षमा सिनियर प्रहरी अधिकृत १९, जुनियर प्रहरी अधिकृत ४ सय १ र अन्य दर्जाका १ हजार ९ सय ४९ जनाले जागिर छोडेका छन् । यसमा कतिपयले पहिल्यै राजीनामा दिएर हिँड्ने गरेका छन् भने केही बिदामा बसेर वा भागेर सम्पर्कमा नआउने गरेका घटना पनि छन् । त्यस्ता प्रहरी कर्मचारीका लागि नेपाल प्रहरीले ३५ दिने सार्वजनिक सूचना नै जारी गरेर कार्यालयमा उपस्थित हुन अनुरोध गर्ने गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सोचेअनुरूप नभएपछि असन्तुष्टिका कारण पेसा छाड्ने गरेको एक अध्ययनले देखाएको छ । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीका पाला (२०७६)मा प्रहरीले जागिर छाड्नुको कारणबारे प्रहरीले अध्ययन गरेको थियो । त्यसबेला जागिर छाड्ने समस्यामध्ये ड्युटी समय बढी र पारिवारिक ऋणमा परेको मुख्य कारण देखिएको विज्ञले बताएका छन् । बाहिरी हल्ला प्रहरीको सेवासुविधा कमी भएकाले राजीनामा दिने गरेको भन्ने हल्ला बढी भए पनि मुख्य सामाजिक कारण भएको सुरक्षा उनीहरूको भनाइ छ ।
नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल तल्लो दर्जाका प्रहरी कर्मचारीले नोकरी छाड्नुको कारण उनीहरूको आर्थिक समस्या (ऋणमा पर्नु) र ड्युटीको समय अत्यधिक बढी भएको बताउँछन् । ‘प्रहरीले गरेको अध्ययनअनुसार जागिर छाड्ने कारण तलब सेवा सुविधा मात्रै होइन,’ मध्यान्हसँगको कुराकानीमा उनले भने, ‘यसमा सामाजिक कारण पनि जोडिएको छ । नेपालमा प्रहरीहरूका लागि ड्युटीको समय अत्यधिक बढी छ । अर्को कारण उनीहरू ऋणमा परेको देखिन्छ । कतिपय प्रहरीहरू जागिरमा प्रवेश गर्दा जुन सोचकासाथ आएका हुन्छन् । भित्रको वास्तविकता उनीहरूले सोचेअनुरूप नपाएपछि राजीनामा दिने गरेको पाइएको छ ।’
४० प्रतिशतभन्दा बढी प्रहरीले दैनिक १४ घण्टा बढी ड्युटी गर्नुपर्ने अवस्था रहेको मल्लले बताए । त्यस्तै, जागिर छाड्नेमध्ये ६० प्रतिशत व्यक्तिगत तथा पारिवारिक ऋणमा देखिएकाले उनीहरूमा आर्थिक समस्या देखापरेको मल्लको भनाइ छ ।
राज्यका मुख्य सुरक्षाका लागि खटाइएका प्रहरी नै सेवाप्रति वितृष्णा जाहेर गर्दै जागिर छाड्ने विषय गम्भीर भएकाले सरकारले यस विषयमा सोच्नुपर्ने सुरक्षा विज्ञ बताउँछन् । बढी ड्युटीकै कारण जागिर छाड्नुपर्ने अवस्था रहेकाले यसमा प्रविधिबाट ड्युटीको व्यवस्थापन गर्न सकिने पूर्वडीआईजी मल्लले सरकारलाई सुझाव दिए । ‘संख्या थपेर मात्रै यो समस्या घट्दैन,’ उनले भने, ‘अघिल्लो वर्ष खाली भएकाहरूका ठाउँमा अहिले भर्ना लिएकाहरू तालिममा छन् । सरकारले कम खर्चमा पनि प्रविधिबाट ड्युटीको व्यवस्था मिलाउने विषयमा सोच्नैपर्छ अनि मात्रै केही समस्या समाधान हुन्छ ।’
दुई वर्ष अघिदेखि खाली भएकाहरूको ड्युटी पनि अहिलेकै जनशक्तिमा थपिने गर्दा प्रहरी कर्मचारी मारमा परेको नेपाल प्रहरीका प्रवक्ता घिमिरेले बताए । प्रत्येक वर्ष राजीनामा दिनेहरूको संख्या बढ्दै जाने र नयाँ भर्ना गरेकाहरूको तालिम अवधि सकिँदा डेढ, दुई वर्ष लाग्ने भएकाले मैज्दात जनशक्तिबाटै सुरक्षा व्यवस्था गर्नुपरेको उनको भनाइ छ । यसले ड्युटी समय स्वाभाविक बढ्ने घिमिरेले बताए । प्रहरीले दिएको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८१÷८२ मा २ हजार ३ सय ६९ जनाले राजीना दिएका छन् भने ५ सय २३ अनिवार्य अवकाश लिएका छन् । त्यस्तै, नयाँ नियुक्ति २ हजार ७ सय १७, बढुवा ७ हजार ४ सय र २१ हजार २ सय २४ जान प्रहरी कर्मचारी सरुवा भएका छन् । प्रहरीमा सरुवा, बढुवा, वृत्तिविकासलगायतमा देखिएको असन्तुष्टिले राजीनामा प्रहरी कर्मचारीको राजीनामा आउने गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कतिपय प्रहरी वैदेशिक रोजगारीमा आकर्षक तलब पाएर पनि सेवाबाट अलग हुने गरेको समेत पाइएको प्रहरी प्रवक्ता घिमिरेले बताए ।