
काठमाडौँ : प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा नेकपा एमालेका निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन आज पनि जारी रहने छ ।
नेताहरूका अनुसार हिजोबाट हस्ताक्षर संकलन सुरु गरिएको हो । एमालेका केही निवर्तमान सांसदहरू बिहीबार सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा उपस्थित भएर प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर सुरु गरेका थिए ।
काठमाडौँमा उपलब्ध भएकाहरूको दरखास्त सुरु गरेको र जारी रहने विघटित प्रतिनिधि सभाका सदस्य हेमराज राईले बिहीबार नै जानकारी दिएका थिए ।
संकलित हस्ताक्षर कसरी प्रयोग गर्ने भन्नेमा भने एमालेका नेताहरूले प्रष्ट केही भनेका छैनन् । सांसदहरू निवेदन लिएर अदालत जाने कि प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा भनेर मत प्रकट मात्रै गर्ने भन्ने प्रश्नमा नेताहरूले जवाफ दिएका छैनन् ।
सर्वोच्च अदालतमा यसअघि नै प्रतिनिधि सभा पुनर्स्थापनाको माग लिएर १६ वटा निवेदन परिसकेका छन् । त्यसउपर छलफल भएर कारण देखाऊ आदेश जारी भइसकेको छ ।
कारण देखाऊ आदेश जारी हुनु अगाडिको बहसमा न्यायाधीशहरूले प्रतिनिधिसभा विघटनको विषयमा कतिजना सांसद अदालत आए भनेर प्रश्न समेत गरेका थिए ।+