काठमाडौं : दुई वर्षदेखि तानातान र रक्तपातले ढाकिएको इजरायल–हमास युद्धको मैदानमा आज आशाको किरण झल्किएको छ । गाजामा हमासले बन्धक बनाएर राखेका सबै २० जना इजरायली नागरिकहरू अन्ततः मुक्त भएका छन् । उनीहरू दुई चरणमा एक पटक सात जना र अर्को पटक १३ जना । उनीहरू रेडक्रसको सहायतामा इजरायल फर्काइएका हुन् ।
तेलअभिवका सडकहरूमा परिवार र आफन्तहरूको रुवाबासी खुसीका आँसुले मिसिएको छ । आक्रमणको दिनदेखि पर्खाइमा रहेका सयौं घरमा आज लामो सास फेर्ने अवसर मिल्यो । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले ‘यो आनन्द र राहतको दिन’ भन्दै मुक्त बन्धकहरूको तस्बिर सार्वजनिक गरेको छ । पुनर्मिलनका दृश्यहरू प्रत्यक्ष टेलिभिजनमा देखिँदा इजरायलभर उत्सवको माहोल छ ।
मुक्त भएकामध्ये धेरै जना युवा छन् । तीमध्ये २२ वर्षीय मातन एङ्ग्रेस्ट र २० वर्षीय निम्रोड कोहेन इजरायली सेनाका जवान हुन्, जसलाई सन् २०२३ को अक्टोबर ७ मा हमासको आकस्मिक आक्रमणका बेला अपहरण गरिएको थियो । बाँकीमध्ये गाली र जिभ बर्मन नामका भाइबहिनी, २५ वर्षीय एइतान मोर र २६ वर्षीय गाय गिल्बोआ दालाल पनि त्यही नोभा म्युजिक फेस्टिभलमा थिए, जहाँ सयौं युवाको ज्यान गएको थियो ।
तर जब इजरायलमा खुसीको आँसु झरिरहेको थियो, नेपालमा त्यो क्षण पीडामा परिणत भयो ।
गाजाको हमास आक्रमणपछि बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीबारे इजरायली सेनाले आज औपचारिक रूपमा जानकारी दिएको छ- उनी जीवित छैनन् । इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डित, विपिनका परिवारजन र इजरायली अधिकारीबीचको भिडियो कन्फरेन्समा यो खबर सुनाइएको हो ।
जोशी २०२३ को अक्टोबर ७ मा इजरायलको दक्षिणी क्षेत्रमा कृषि कार्यरत रहँदा हमासको नियन्त्रणमा परेका थिए । त्यसयता उनको अवस्थाबारे केही पत्ता लागेको थिएन । हमासले आज सार्वजनिक गरेको २० जना जीवित बन्धकको सूचीमा उनको नाम थिएन, मृतकको सूचीमा पनि थिएन । तर इजरायली सेनाले अन्ततः 'उनी जीवित रहेको प्रमाण नभेटिएको' बताएको छ ।
त्यो खबरसँगै कञ्चनपुरको जोशी परिवारमा फेरि शोक पसेको छ । तर दाजु किशोर जोशीले अझै पनि आशा मारेका छैनन् । 'अहिले पनि हमासले बाँकी केही बन्धकहरू छोड्न बाँकी छ । भाइ फर्कन्छ भन्ने आशा मरेको छैन,' उनी भन्छन्, 'इजरायलले पनि औपचारिक विवरण दिएको छैन ।'
विपिनको सम्झनामा सामाजिक सञ्जालमा नेपाली समुदायले दुःख र आक्रोश व्यक्त गरिरहेका छन् ।
यसैबीच, इजरायल–हमासबीचको यो युद्धविराम सम्झौता ठुलो राजनीतिक सन्देशका रूपमा पनि हेरिएको छ । सम्झौताअन्तर्गत इजरायलले करिब दुई हजार प्यालेस्टिनी कैदीहरूलाई चरणबद्ध रूपमा रिहा गर्न सहमति जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो घटनालाई 'गाजा युद्ध अन्त्यतर्फको ऐतिहासिक मोड' भनेका छन् ।