२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

सल्यानमा चार करोड बढीको खोटो संकलन, वन संरक्षणदेखि सामाजिक विकाससम्म योगदान

Nada
प्रदीप मगर
२०८२ साउन ११ गते १६:२५
Shares
सल्यानमा चार करोड बढीको खोटो संकलन, वन संरक्षणदेखि सामाजिक विकाससम्म योगदान

सल्यान : सल्लाको खोटो संकलनमा अगाडि रहेको सल्यान जिल्लाले चालु आर्थिक वर्षमा मात्रै ४ करोड रुपैयाँभन्दा बढीको खोटो निकासी गरेको छ । सामुदायिक र राष्ट्रिय वनमा सञ्चालन भइरहेका खोटो संकलन कार्यले वन संरक्षणसँगै सामाजिक विकासमा समेत महत्वपूर्ण भूमिका खेलेको छ ।

ncell

जिल्लामा पाँचभन्दा बढी रोजिन कम्पनीले तीन सय भन्दा बढी सामुदायिक तथा राष्ट्रिय वनमा खोटो संकलन गरिरहेका छन् । सल्लाको खोटो सामुदायिक वन समूहहरूका लागि प्रमुख आम्दानीको स्रोत बनेको छ । यो आम्दानी वन व्यवस्थापनसँगै गाउँमा खानेपानी, पोखरी निर्माण, ग्यास चुलो वितरण, र विद्यालय भवन निर्माण जस्ता सामाजिक कार्यमा प्रयोग हुँदै आएको छ ।

शारदा नगरपालिका–२ की जानकी सामुदायिक वन समूहकी सचिव मुना हमालका अनुसार समूहले खोटो बिक्रीबाट वार्षिक करीब दुई लाख रुपैयाँ आम्दानी गर्दै आएको छ । “हामीले खोटोबाट आएको रकम वन संरक्षण र सामाजिक योजनामा खर्च गर्दै आएका छौं,” उनले भनिन्, “जस्तै वृक्षारोपण, रिचार्ज पोखरी र ग्यास चुल्हो वितरण जस्ता कार्यहरूमा ।”

त्यस्तै, बनगाड कुपिण्डे नगरपालिका–४ डोप्केमा रहेको सल्लेरी सामुदायिक वन समूहका अध्यक्ष इन्द्र बुढाथोकीले आर्थिक अभावका कारण सामूहिक योगदान गर्न नसक्ने अवस्थामा वन समूहको आम्दानीबाट गाउँको विकासमा लगानी गर्दै आएको बताए । “खोटो संकलनले वन संरक्षण मात्र होइन, सामाजिक उत्तरदायित्व पनि बहन गर्न सहयोग गरेको छ,” उनले भने ।

डिभिजन वन कार्यालय सल्यानका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा जिल्लाबाट ३५ लाख १८ हजार २८७ किलो खोटो निकासी भएको छ, जसबाट ४ करोड २२ लाख १९ हजार ४४० रुपैयाँ आम्दानी भएको छ । सोही अवधिमा मूल्य अभिवृद्धि कर शीर्षकमा ५४ लाख ८८ हजार ५२७ रुपैयाँ राजस्व संकलन गरिएको छ ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी ललितजङ खड्काले भने, “खोटो संकलनले वन समूहहरूलाई आत्मनिर्भर बनाएको छ । यसले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउने काम गरेको छ ।”

खोटो संकलन विशेषतः वैशाखदेखि मंसिर–पुससम्म सक्रिय हुन्छ । चिसो मौसममा खोटो जम्ने भएकाले संकलन कार्य रोकिने गर्छ । सल्लाको एउटा रुखबाट लगातार तीनदेखि चार वर्षसम्म खोटो निकाल्न सकिन्छ, जसबाट प्रति किलो औसत १२ रुपैयाँ आम्दानी हुने बताइएको छ ।

सम्बन्धित खबर