२०८३ मंसिर २ गते बुधवार / Nov 18 , 2026 , Wednesday
२०८३ मंसिर २ गते बुधवार

क्रिकेटको उडान, फुटबलको अवसान

नेपाली फुटबल संकटमा फसिरहेका बेला क्रिकेटले नेपाल प्रिमियर लिगमार्फत नयाँ उचाइ लिने संकेत गरेको छ । एनपिएलले खेलाडीलाई अवसर, समर्थकलाई उत्साह र देशलाई अन्तर्राष्ट्रिय पहिचान दिएको छ । तर, पूर्वाधार विस्तार, घरेलु प्रतिभाको संरक्षण र प्रतियोगिताको पारदर्शितामा ध्यान दिन आवश्यक छ । क्रिकेटको सफलताबाट फुटबलसहित अन्य खेलले पनि सिक्नुपर्ने बेला आएको छ ।

Nada
झलक शर्मा
२०८३ मंसिर १ गते ११:२४
Shares
क्रिकेटको उडान, फुटबलको अवसान

नेपाली फुटबल ओरालो लागिरहेका बेला क्रिकेटले भने नयाँ उचाइ लिने संकेत गरेको छ । नेपाल प्रिमियर लिग (एनपिएल) नेपाली क्रिकेटको लोकप्रिय प्रतियोगिता मात्र नभएर राष्ट्रिय उत्सवकै रूपमा स्थापित हुँदै गएको छ । समर्थकहरू आफ्नो भूगोल, क्षेत्र वा मनपर्ने खेलाडीका आधारमा विभिन्न टोलीको पक्षमा उभिएका छन् । तर, मैदानमा जुन टोलीले जिते पनि त्यसको उपलब्धि अन्ततः नेपाली क्रिकेटकै हुनेछ । किनकि एनपिएलसँग खेलको प्रतिस्पर्धा मात्र होइन, भावना, आत्मीयता र राष्ट्रिय पहिचान पनि जोडिएको छ ।

तेस्रो संस्करणसम्म आइपुग्दा एनपिएलले नेपाली क्रिकेटको विकासमा उल्लेखनीय योगदान दिएको छ । आठ टोली सहभागी प्रतियोगिताले देशका विभिन्न सहर र प्रदेशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसर दिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)बाट आधिकारिक मान्यताप्राप्त यस प्रतियोगितामा खेलाडीको प्रदर्शन, रन र विकेटको अभिलेखसमेत राखिने व्यवस्था छ । अन्तर्राष्ट्रिय क्रिकेटमा प्रयोग भइरहेका प्रविधि र अभ्यास भित्रिनु नेपाली क्रिकेटका लागि अर्को महत्त्वपूर्ण उपलब्धि हो ।

एनपिएलको पहिलो संस्करण सञ्चालन हुँदा आवश्यक पूर्वाधार र संरचना पर्याप्त थिएनन् । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान खेल सञ्चालन गर्ने स्थलका रूपमा मात्र सीमित थियो । अहिले त्यहाँ दर्शकका लागि प्यारापिट, फ्लडलाइट र डिआरएसजस्ता प्रविधि थपिएका छन् । यसले खेललाई थप व्यवस्थित र प्रतिस्पर्धात्मक बनाएको छ । प्रतियोगिताका सुरुवाती खेलमा विदेशी खेलाडीको तुलनामा नेपाली खेलाडीको प्रदर्शन पनि प्रभावशाली देखिएको छ । यसले नेपाली खेलाडीको क्षमता र प्रतिस्पर्धात्मक स्तर बढ्दै गएको संकेत गर्छ ।

एनपिएलको प्रभाव मैदानभित्र मात्र सीमित छैन । यसले राष्ट्रिय एकताको भावना बलियो बनाउन, पर्यटन प्रवर्धन गर्न र व्यापार व्यवसाय चलायमान बनाउन सहयोग पु¥याएको छ । प्रतियोगिताका कारण केहीले रोजगारीको अवसरसमेत पाएका छन् । विश्व क्रिकेटमा पहिचान बनाएका खेलाडी नेपाल आएर खेल्ने वातावरण बनेको छ । उनीहरूसँगै खेल्दा नेपाली खेलाडीले अन्तर्राष्ट्रिय स्तरको अनुभव, सीप र खेलशैली सिक्ने अवसर पाएका छन् । नयाँ प्रतिभाले आफ्नो क्षमता देखाउने मञ्च पाएका छन् । यसले राष्ट्रिय टोलीका लागि सक्षम खेलाडी उत्पादन गर्नसमेत मद्दत पु¥याउन सक्छ ।

त्यसैले एनपिएललाई केवल मनोरञ्जन वा व्यावसायिक प्रतियोगिताका रूपमा मात्र हेर्नु हुँदैन । यो नेपाली खेलाडीको प्रतिभा प्रदर्शन गर्ने र उनीहरूको व्यावसायिक भविष्य निर्माण गर्ने महत्त्वपूर्ण अवसर हो । हरेक खेलाडी आफ्नो देशको नाम विश्वसामु चिनाउन चाहन्छ । यस्तो सपना पूरा गर्न नियमित प्रतियोगिता, अभ्यास र प्रतिस्पर्धाको वातावरण आवश्यक हुन्छ । एनपिएलले त्यसका लागि आधार तयार गरिरहेको छ । यसलाई राष्ट्रिय गौरवको प्रतियोगिताका रूपमा विकास गर्दै लैजानुपर्छ ।

नेपालका ठुला व्यावसायिक घरानाले एनपिएलमा लगानी गर्नु सकारात्मक पक्ष हो । उद्योगी तथा व्यवसायीको सहभागिताले क्रिकेटको व्यावसायिक विकासमा सहयोग पुग्न सक्छ । तर, प्रतियोगिता सञ्चालन भएको अवधिमा मात्र क्रिकेटको चर्चा गरेर पुग्दैन । यसको दीर्घकालीन विकास, सम्भावना र चुनौतीबारे निरन्तर बहस हुनुपर्छ । सरकारले पनि क्रिकेटलाई राष्ट्रिय प्राथमिकतामा राखेर आवश्यक सहयोग गर्नुपर्छ ।

त्रिवि क्रिकेट रंगशालामा पूर्वाधार सुधार भए पनि देशका अन्य भागमा पनि स्तरीय क्रिकेट मैदान र रंगशालाको आवश्यकता छ । विगतमा दर्शकले मैदानबाहिरका रुखमा चढेर खेल हेर्नुपर्ने अवस्था थियो । अहिले प्यारापिट निर्माणसँगै त्यस्तो जोखिम कम भएको छ । तर, क्रिकेटको पहुँच देशभर विस्तार गर्न अझै धेरै काम गर्न बाँकी छ । सबै प्रदेश र भूगोलका प्रतिभावान् युवाले खेल्ने अवसर पाउनुपर्छ । त्यसका लागि स्थानीय स्तरमै क्रिकेटका प्राविधिक र भौतिक पूर्वाधार निर्माणमा जोड दिनुपर्छ ।

एनपिएललाई भविष्यमा ‘होम एन्ड अवे’ प्रणालीमा सञ्चालन गर्न सकिने सम्भावनाबारे पनि सोच्नुपर्छ । त्यसका लागि प्रत्येक टोलीको आफ्नै घरेलु मैदान आवश्यक हुन्छ । प्रतियोगितालाई काठमाडौं केन्द्रित बनाइराख्नुको सट्टा देशका विभिन्न सहरमा खेल सञ्चालन गर्न सके स्थानीय स्तरमा क्रिकेटप्रतिको आकर्षण बढ्नेछ । खेलको अनुशासन, नियम र मूल्य मान्यता कायम राख्नु पनि उत्तिकै महत्त्वपूर्ण छ । प्रतियोगिताको लोकप्रियता बढ्दै जाँदा म्याच फिक्सिङ, बेटिङजस्ता गैरकानुनी गतिविधि र दर्शकबीच हुन सक्ने झडप तथा दुव्र्यवहारप्रति आयोजक र सुरक्षा निकाय सचेत हुनुपर्छ ।

क्रिकेटलाई विश्वस्तरीय बनाउने नाममा घरेलु खेलाडीको प्रतिभा ओझेलमा पर्नु हुँदैन । विदेशी खेलाडीको सहभागिताले प्रतियोगिताको आकर्षण बढाउँछ र नेपाली खेलाडीले सिक्ने अवसर पनि पाउँछन् । तर, दीर्घकालीन लक्ष्य भने नेपाली खेलाडीको क्षमता विकास र उनीहरूको प्रभावकारी सहभागिता हुनुपर्छ । भविष्यमा नेपाली खेलाडीको प्रदर्शन र सफलतामा गर्व गर्ने वातावरण निर्माण गर्नु आवश्यक छ । साथै, अन्तर्राष्ट्रिय सम्बन्ध र खेल कूटनीतिका लागि पनि एनपिएल उपयोगी बन्न सक्छ । पाकिस्तानका खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन नपाएको विषयमा आयोजकसँगै सरकारले पनि आवश्यक पहल गर्नुपर्छ ।

दर्शकको सहज सहभागिताका लागि पनि थप व्यवस्था आवश्यक छ । पोखराको मालेपाटनमा खेलको प्रत्यक्ष प्रसारणमार्फत दर्शकलाई जोड्ने प्रयास सकारात्मक छ । यस्ता सुविधा देशका अन्य क्षेत्रमा पनि विस्तार गर्नुपर्छ । रंगशालामा उपस्थित भएर खेल हेर्न चाहने दर्शकका लागि टिकट, पार्किङ र सुरक्षाको उचित प्रबन्ध हुनुपर्छ । कीर्तिपुर नगरपालिकासँग समन्वय गरेर व्यवस्थित पार्किङको व्यवस्था गर्न सकिन्छ । दर्शकको उत्साहलाई सुरक्षित र मर्यादित वातावरणमा रूपान्तरण गर्न सके एनपिएलप्रतिको आकर्षण अझ बढ्नेछ ।

नेपाली फुटबलको अवस्था

क्रिकेटले नयाँ उचाइ लिइरहेका बेला नेपाली फुटबल भने सुस्त अवस्थामा छ । फिफाको प्रतिबन्ध र फुटबल प्रशासनभित्रका विवादले यो क्षेत्र थप प्रभावित भएको छ । आर्थिक अनियमितता, भ्रष्टाचार, मिलेमतो र राजनीतिक हस्तक्षेपका आरोपले फुटबल नेतृत्वमाथि नैतिक प्रश्न उठ्दै आएको छ । पछिल्लो एक दशकमा नेपाली फुटबलको लोकप्रियता पनि घटेको छ ।
शीर्ष डिभिजनको सहिद स्मारक ए डिभिजन लिग नियमित हुन सकेको छैन । फ्रेन्चाइज प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) पनि मुद्दा र आन्तरिक विवादका कारण अघि बढ्न सकेको छैन । फुटबलका गतिविधि सीमित व्यक्तिको प्रभावमा रहँदा खेल क्षेत्र नै निष्क्रियजस्तै बनेको छ । यसको असर खेलाडी, समर्थक र समग्र फुटबल संरचनामा परेको छ ।

यही अवस्थामा नेपाली फुटबललाई पनि क्रिकेटजस्तै गति दिने उद्देश्यसहित नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण आगामी फागुन १ गतेदेखि सञ्चालन गर्ने घोषणा गरिएको छ । प्रतियोगिता करिब चार महिनासम्म चल्ने बताइएको छ । एनएसएलको अन्योलबीच एनएफएललाई नयाँ विकल्पका रूपमा हेरिएको छ । फिफाले एन्फामाथि लगाएको प्रतिबन्ध फुकुवा गरे पनि नगरे पनि प्रतियोगिता सञ्चालन गर्ने घोषणा गरिएको छ । तर, नयाँ प्रतियोगिता घोषणा गर्नु मात्रै पर्याप्त हुँदैन । त्यसलाई नियमित, पारदर्शी र व्यवस्थित रूपमा सञ्चालन गर्न सक्नुपर्छ ।

खेलकुदलाई मानव पुँजी निर्माणको महत्त्वपूर्ण आधारका रूपमा लिनुपर्छ । यसले खेलाडीको शारीरिक र मानसिक विकासमा योगदान दिनुका साथै पर्यटन, रोजगारी र अर्थतन्त्रलाई समेत चलायमान बनाउन सक्छ । त्यसैले खेलकुद प्रतियोगिताको नियमित आयोजना, पूर्वाधार विस्तार र प्रतिभा पहिचानमा राज्य तथा निजी क्षेत्रले लगानी बढाउनुपर्छ ।

अहिले नेपाली क्रिकेटप्रति बढेको उत्साहलाई दीर्घकालीन उपलब्धिमा बदल्नु आवश्यक छ । एनपिएलको लोकप्रियता र व्यावसायिक सम्भावनालाई कायम राख्दै यसका चुनौती समाधान गर्न नेपाल क्रिकेट संघ (क्यान)ले स्पष्ट रणनीति बनाउनुपर्छ । प्रतियोगितालाई केही वर्षको आकर्षणमा सीमित नराखी नेपाली क्रिकेटको दिगो विकासको आधार बनाउनुपर्छ । क्रिकेटले हासिल गरिरहेको गति अन्य खेलका लागि पनि प्रेरणा बन्न सक्छ । फुटबलसहित सबै खेलको संस्थागत सुधार, पारदर्शिता र नियमित प्रतियोगिताबाट मात्रै नेपाली खेलकुदले अपेक्षित उचाइ हासिल गर्न सक्छ ।

 
 

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर