
रौतहट : अविरल वर्षाका कारण रौतहटको लालबकैया नदीमा आएको भीषण बाढीले मौलापुर नगरपालिका–२ स्थित मर्यादपुरमा रहेको तटबन्धमा तीव्र कटान सुरु गरेको छ । नदीको बहाव एक्कासि बढेपछि तटबन्ध फुटेर बस्ती तथा खेतीयोग्य जमिन जलमग्न हुने खतरा बढेको छ ।
नदीले तटबन्धका संवेदनशील स्थानहरूमा कटान तीव्र बनाएको छ । यदि समयमै कटान नियन्त्रण गर्न नसकिए तटबन्ध भत्किएर भीषण विनाश हुन सक्ने र हजारौं बिघा जमिन तथा दर्जनौं बाक्लो मानव बस्ती बाढीको चपेटामा पर्ने स्थानीयको भनाइ छ ।
कटानको गम्भीर अवस्था र सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेल, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सीताराम रिजाल र राष्ट्रिय अनुसन्धान कार्यालय रौतहटका प्रमुख कुमार बुढाथोकी सहितको सुरक्षा टोली तथा मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना साहले आइतबार कटान प्रभावित मर्यादपुर तटबन्ध क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।

निरीक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले मर्यादपुरस्थित तटबन्ध कमजोर भई भत्किएमा मौलापुर, गम्हरिया, बरगिनिया, शीतलपुर, सन्तपुर र पेटभरवासहितका आसपासका दर्जनौं बस्ती प्रत्यक्ष रूपमा प्रभावित हुने जोखिम रहेको बताए ।
यसैगरी फतुवा पुल नजिकै रहेको भगवानपुर क्षेत्रको तटबन्धमा क्षति पुगेमा बाढीको प्रत्यक्ष असर जिल्लाको सदरमुकाम गौरसम्म पर्न सक्ने उच्च प्रशासनिक आकलन रहेको छ। सोही कारण स्थानीय प्रशासनले नदी आसपासका सम्पूर्ण जोखिमयुक्त क्षेत्रहरूलाई उच्च प्राथमिकतामा राखी कडा निगरानी सुरु गरेको जनाए ।
विपद्बाट हुन सक्ने सम्भावित भौतिक तथा मानवीय क्षति न्यूनीकरणका लागि जिल्लास्थित सम्पूर्ण सुरक्षा निकायहरूलाई उच्च सतर्क अवस्थामा राखिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीलाई कटान क्षेत्रमा खटाइएको छ। सुरक्षाकर्मीहरूले तटबन्धको अवस्था नदीको जलस्तर र बहावको गतिबारे २४सै घण्टा निरन्तर अनुगमन गरिरहेका छन् ।
प्रशासनले नदी आसपास र तटबन्ध क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई विशेष सावधानी अपनाउन अपिल गरेको छ । नदीको बहाव निरन्तर बढ्दै गएकाले जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न स्थानीय प्रशासन तथा बाढी पूर्वसूचना प्रणालीका सूचनाहरूमा ध्यान दिन र जोखिम बढेमा तत्काल सुरक्षित स्थलतर्फ स्थानान्तरण हुन आग्रह गरिएको छ ।
लगातारको वर्षा जारी रहेकाले लालबकैया नदीको जलस्तर थप माथि उठ्न सक्ने र यसले तटबन्धमा थप दबाब सिर्जना गर्ने सम्भावना रहेको छ । स्थिति नियन्त्रण बाहिर जान नदिन र बस्तीहरू सुरक्षित राख्न प्रशासनले आपत्कालीन उद्धार निगरानी र सुरक्षा परिचालनलाई थप कडा र प्रभावकारी बनाएको छ ।