
चितवन : चितवनको इच्छाकामना गाउँपालिका–४ चेरेसस्थित मनकामना केबलकार परिसरको सडक भासिएको छ । लगातारको वर्षासँगै त्रिशूली नदीको बहाव बढेपछि केबलकारको गेटदेखि भित्रतर्फको सडक भासिएको हो ।
नदीको बहावले चेरेसदेखि गोरखाको सहिद लखन गाउँपालिका–३ सिलिङटार जोड्ने झोलुङ्गे पुलमा समेत क्षति पुगेको छ । नदीले धार परिवर्तन गर्दै निरन्तर कटान गरेपछि पृथ्वी राजमार्गको सडकसमेत चर्किएको इच्छाकामना–४ का वडाध्यक्ष रुद्र उप्रेतीले जानकारी दिए ।
सडक भासिएपछि मनकामना केबलकार सेवा बन्द गरिएको छ । झोलुङ्गे पुलमा नदीको बहावले निरन्तर क्षति पुर्याइरहेकाले आसपासका क्षेत्रमा थप जोखिम बढेको वडाध्यक्ष उप्रेतीले बताए ।



