२०८३ असोज ११ गते आइतवार / Sep 27 , 2026 , Sunday
२०८३ असोज ११ गते आइतवार

बाढी, पहिरोमा मृत्यु हुनेको संख्या १२ पुग्यो, ७ जना बेपत्ता

Nada
२०८३ असोज ११ गते १५:३४
Shares
बाढी, पहिरोमा मृत्यु हुनेको संख्या १२ पुग्यो, ७ जना बेपत्ता

काठमाडौं : लगातारको अविरल वर्षासँगै आएको बाढी, पहिरोका कारण देशभर १२ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार पछिल्लो २४ घण्टामा मात्रै ६ जनाको मृत्यु भएको हो । असोज ८ गतेदेखि हालसम्म बाढी, पहिरो र अविरल वर्षाका कारण मृत्यु हुनेको संख्या १२ पुगेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जाकारी दिइन् ।

ncell

उनकाअनुसार ७ जना सम्पर्कविहीन रहेका छन् । पाल्पामा एक जना तथा पछिल्लो २४ घण्टामा वागलुङमा चार र म्याग्दीमा दुई जना गरी बेपत्ता हुनेको संख्या ७ पुगेको उनले जानकारी दिइन् । सम्पर्कविहीनहरुको खोजी कार्य जारी रहेको उनले बताइन् ।

मौसम पूर्वानुमान महाशाखाले वर्षा तथा सम्भावित जोखिमबारे पूर्वानुमान गरेपछि प्राधिकरणले सोही आधारमा तयारी गरेको उनको भनाइ छ । जोखिमका आधारमा रेड, एम्बर र येलो अलर्ट भएका क्षेत्र पहिचान गरी स्थानीय प्रशासन, सुरक्षा निकाय तथा स्थानीय तहलाई पूर्वतयारी र उद्धारका लागि टोली परिचालन गरिएको उनले जानकारी दिइन् ।

विशेषगरी हिमाली क्षेत्रमा भारी वर्षासँगै हिमपातको सम्भावना देखिएपछि पर्यटक तथा ट्रेकर्सलाई लक्षित गरी छुट्टै सूचना जारी गरिएको उनको भनाइ छ । हालसम्म ९ हजारभन्दा बढी पर्यटकलाई सुरक्षित स्थानमा झारिएको उनले बताइन् । प्राधिकरणले अंग्रेजी भाषामा समेत एडभाइजरी जारी गरी विदेशी पर्यटक तथा यात्रुलाई मौसम र जोखिमबारे जानकारी गराएको थियो ।

उनले सम्भावित जोखिमलाई ध्यानमा राख्दै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, स्थानीय तहका प्रमुख तथा विपद् प्रतिकार्यमा खटिने अन्य निकायसँग निरन्तर सूचना आदान–प्रदान भइरहेको बताइन् ।

प्राधिकरणले ह्वाट्सएप, भाइबरलगायत डिजिटल माध्यमबाट नदी बेसिन, वर्षाको अवस्था र प्रभावित क्षेत्रबारे नियमित जानकारी संकलन तथा सम्प्रेषण गरिरहेको छ । उनकाअनुसार गण्डकी र लुम्बिनी प्रदेशलाई जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरिएको थियो । कालीगण्डकी र नारायणी नदी बेसिनमा कतिपय स्थानमा अति भारी वर्षा भएपछि नदीको बहाव बढेको र कटानसमेत भएको उनले बताए । 

प्राधिकरणका अनुसार नवलपुर, चितवन, पाल्पा, पर्वतलगायत जिल्लामा बाढी, कटान र पहिरोको जोखिम देखिएको छ । पर्वतमा केही घर बाढीले बगाएको छ । तर स्थानीय प्रशासनले जोखिमयुक्त बस्तीका बासिन्दालाई समयमै सुरक्षित स्थानमा सारेकाले मानवीय क्षति हुन नपाएको प्राधिकरणकी प्रवक्ता महतले बताइन् । उनकाअनुसार नवलपरासी क्षेत्रमा पनि १ हजार १ सयभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । बाढी तथा पहिरो प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेको उनले बताइन् । म्याग्दीमा उद्धारका लागि दुईवटा हेलिकोप्टर परिचालन गरिएको छ ।

उद्धारपछि सुरक्षित स्थानमा राखिएका नागरिकका लागि खाना तथा अन्य आवश्यक सामग्रीको व्यवस्थापन स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र प्रदेश सरकारसँगको समन्वयमा भइरहेको छ । स्थानीय तथा प्रदेशस्तरका गोदाममा रहेका सामग्रीसँगै प्राधिकरणको केन्द्रीय गोदाम र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित गोदामबाट समेत आवश्यकताअनुसार राहत सामग्री पठाइरहेको प्राधिकरणले जनाएको छ । महतकाअनुसार तत्कालको जोखिम भने अझै टरेको छैन । आइतबार रातिसम्म केही क्षेत्रमा वर्षा जारी रहन सक्ने भएकाले नदीको बहाव थप बढ्ने र बाढी पहिरो आउने खतरा रहेको उनले बताइन् ।

ताजा खबर

सम्बन्धित खबर