
अमेरिका : नेपाली साहित्यका दुई अग्रज स्रष्टा गीताकेशरी र साहित्यकार तथा साहित्यिक पत्रकार नगेन्द्रराज शर्माको निधनप्रति अमेरिकामा संयुक्त शोकसभा आयोजना गरी श्रद्धाञ्जली अर्पण गरिएको छ ।
अमेरिका–नेपाल साहित्य प्रतिष्ठान र साङ्ग्रिला डायलगको संयुक्त आयोजनामा मेरिल्याण्ड राज्यको गेथेस्वर्गस्थित गेथेस्वर्ग रिजनल लाइब्रेरीको सभाकक्षमा आयोजित कार्यक्रममा दुवै दिवंगत साहित्यकारको तस्बिरमा पुष्पार्पण गरिएको थियो । त्यसपछि उनीहरूको चिरशान्तिको कामना गर्दै सहभागीहरूले एक मिनेट मौनधारण गरेका थिए ।
कार्यक्रममा साङ्ग्रिला डायलगकी अध्यक्ष सीता पाण्डेले दुवै साहित्यकारको नेपाली साहित्यमा रहेको योगदानको स्मरण गर्दै विशेषगरी नगेन्द्रराज शर्माले सञ्चालन गरेको ‘अभिव्यक्ति’ पत्रिकाले नयाँ लेखक–लेखिकालाई सिर्जना प्रस्तुत गर्ने महत्वपूर्ण मञ्च उपलब्ध गराएको बताइन्। उनले करिब पाँच दशकसम्म ‘अभिव्यक्ति’ प्रकाशनमार्फत धेरै स्रष्टालाई साहित्यिक अवसर प्रदान गरिएको उल्लेख गरिन् ।
शोकसभामा डिकबहादुर तामाङ, लोकनाथ तिवारी, पुष्पा खनाल, योगेश उपाध्याय, सहदेव कोइराला, तीर्थराज पाण्डे र मधुकर अधिकारीले दिवंगत साहित्यकारद्वयको साहित्यिक योगदानको चर्चा गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
अमेरिका–नेपाल साहित्य प्रतिष्ठानका अध्यक्ष तथा साहित्यकार गोविन्द गिरी प्रेरणाले गीताकेशरी र नगेन्द्रराज शर्मासँगको आफ्नो साहित्यिक सहकार्यको स्मरण गरे । उनले गीताकेशरी नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानकी पहिलो महिला सदस्य–सचिव भएको उल्लेख गर्दै नगेन्द्रराज शर्माको पहलमा सञ्चालन हुँदै आएको ‘अभिव्यक्ति भेटघाट’ कार्यक्रमका क्रममा आफूले उनको अभिनन्दन गर्ने प्रस्ताव अघि सारेको र त्यसलाई सफलतापूर्वक सम्पन्न गरिएको अनुभव सुनाए । कार्यक्रममा उनले नगेन्द्रराज शर्माका नाति प्राञ्जलराज शर्माले टेक्सासबाट पठाएको श्रद्धासन्देश पनि वाचन गरेका थिए ।
कार्यक्रमका अध्यक्ष तथा अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीले दुवै साहित्यकारको स्मृतिमा शोकसभा आयोजना गरेकोमा अमेरिका–नेपाल साहित्य प्रतिष्ठान र साङ्ग्रिला डायलगलाई धन्यवाद दिँदै दिवंगत स्रष्टाद्वयप्रति श्रद्धाञ्जली अर्पण गरे ।
कार्यक्रमको सञ्चालन कवयित्री तारा पराजुलीले गरेकी थिइन् । उनले दिवंगत साहित्यकारहरूको सम्झनामा आफूले रचना गरेको मुक्तक पनि वाचन गरेकी थिइन् ।