
रुकुम पश्चिम : रुकुम पश्चिमको आठविसकोट नगरपालिकाबाट प्रहरीले करिब तीन किलोग्राम अफिमसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ गर्ने क्रममा एक जनाले प्रहरीमाथि खुकुरी प्रहार गर्ने प्रयास गरेपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेर उनीहरूलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक तथा सूचना अधिकारी झकेन्द्र परियारका अनुसार आठविसकोट नगरपालिका–३ स्यालाखदी निवासी २८ वर्षीय टिकाराम बोहरा र आठविसकोट नगरपालिका–२ स्याला निवासी २० वर्षीय गणेश वलीलाई आठविसकोट नगरपालिका–४ छोटेबगर क्षेत्रमा सडकछेउमा शंकास्पद अवस्थामा हिँडिरहेको देखेपछि प्रहरीले रोकी चेकजाँच गर्न खोजेको थियो ।
चेकजाँचका क्रममा टिकाराम बोहराले बोकेको झोलाबाट गणेश वलीले अचानक खुकुरी निकालेर प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरेका थिए । त्यसपछि प्रहरी सहायक निरीक्षक निरजबहादुर पालले एक राउन्ड हवाई फायर गरी दुवै जनालाई नियन्त्रणमा लिएका थिए ।
प्रहरीले नियन्त्रणपछि उनीहरूको शरीर तथा झोलाको खानतलासी गर्दा करिब तीन किलोग्राम अफिम र दुई थान खुकुरी बरामद गरेको जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।