२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

तराई-मधेशको आगो निभाऊ

Nada
२०८३ साउन १५ गते ०६:१०
Shares
तराई-मधेशको आगो निभाऊ

सुनसरीको देवानगन्ज–कप्तानगन्जबाट सुरु भएको तनाब बिहीबारसम्म सिरहा, धनुषा, पर्सालगायत तराई–मधेशका जिल्लासम्म फैलिएको छ । केही व्यक्तिबीचको विवादलाई धार्मिक र सामुदायिक रंग दिने प्रयास भइरहेका छन् । सामाजिक सञ्जालमा अपुष्ट सूचना, पुराना भिडियो, उत्तेजक अभिव्यक्ति र घृणा फैलाउने सामग्री तीव्र गतिमा फैलिइरहेका छन् । यस्ता असामाजिक कार्य समयमै नियन्त्रण गर्न नसके सुनसरीको एउटा गाउँमा भएको घटना ठुलो सामाजिक द्वन्द्वमा बदलिन सक्छ । त्यसैले अहिले सबैभन्दा ठुलो आवश्यकता आगोमा घिउ थप्ने होइन, त्यसलाई निभाउने हो । 

ncell

नेपाल विविध धर्म, जाति, भाषा र संस्कृतिको साझा देश हो । यही विविधताबीचको सहिष्णुता र आपसी सम्मानले नेपाली समाजलाई बलियो बनाएको छ । केही व्यक्तिको गैरजिम्मेवार व्यवहार वा अपराधका कारण कुनै एउटा धर्म, जाति वा समुदायलाई दोषी ठहर गर्नु न्यायसंगत पनि होइन । अपराध व्यक्तिले गर्छ, त्यसको जिम्मेवारी पनि व्यक्तिले नै वहन गर्नुपर्छ । समुदायलाई दोषी बनाएर घृणा फैलाउने प्रयासले समाजलाई थप विभाजित मात्र बनाउँदैन, लामो द्वन्द्वमा फसाउँछ । यस्ता संवेदनशील समयमा राज्यको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ । प्रशासन र सुरक्षा निकायले निष्पक्ष, संयमित र प्रभावकारी ढंगले काम गर्नुपथ्र्यो, त्यसमा सरकार चुकेको छ । विवादको सुरुवातमै संवाद, समन्वय र कानुनी उपायबाट समाधान खोज्न नसक्दा हिंसा भड्किने जोखिम बढेको छ । तर, सरकारले इमानदारीपूर्वक प्रयत्न गरेर बिग्रिँदै गएको परिस्थितिलाई सम्हाल्नुपर्छ । जहाँ राज्यले बल प्रयोग गरेर गल्ती गरेको छ, त्यही घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही हुनुपर्छ । प्रधानमन्त्री वालेन्द्र शाहले देशवासीलाई सम्बोधन गर्दै त्यसप्रति प्रतिबद्धता जनाइसकेका छन् । 

यस्तोमा राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज र स्थानीय नेतृत्वको जिम्मेवारी पनि उत्तिकै छ । उनीहरूका अभिव्यक्तिले समाजलाई शान्तितर्फ लैजान सक्छ । त्यसैले उत्तेजना होइन, संयम र सहिष्णुताको भाषा बोल्नुपर्छ । कुनै पनि राजनीतिक वा सामाजिक लाभका लागि धार्मिक भावना प्रयोग गर्ने प्रवृत्ति तत्काल रोक्नुपर्छ । सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताले झन् बढी जिम्मेवारी बहन गर्नुपर्ने बेला आएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि कुनै तस्बिर, भिडियो वा सूचना सेयर गर्नुअघि त्यसको सत्यता जाँच्ने बानी बसाल्नुपर्छ । एउटा भ्रामक पोस्टले केही मिनेटमै हजारौं मानिसलाई गलत कार्यका लागि उक्साउन सक्छ । तराई–मधेश शताब्दीऔंदेखि विविध समुदायको साझा बसोवास र सहअस्तित्वको भूमि हो । यही भाइचारा नेपालको सबैभन्दा ठुलो शक्ति हो । अहिले आवश्यक परेको कुरा संवाद, सत्य र एकता हो । राज्यले समयमै विश्वासको वातावरण बनाओस् । सबै पक्षले संयम अपनाऊन् र नागरिकले अफवाहभन्दा सत्यलाई रोजून् । सबैले चाहँदा मात्र तराई–मधेशमा फैलिन लागेको हिंसाको आगो निभाउन सम्भव छ । नेपालको सामाजिक सद्भाव र राष्ट्रिय एकता जोगाउनु नै अहिलेको साझा दायित्व हो ।

सम्बन्धित खबर