२०८३ कार्तिक १३ गते शुक्रवार / Oct 30 , 2026 , Friday
२०८३ कार्तिक १३ गते शुक्रवार

तराईका घटनाप्रति चेम्बरको चिन्ता, शान्ति कायम राख्न अपिल

Nada
२०८३ साउन १४ गते १८:१८
Shares
तराईका घटनाप्रति चेम्बरको चिन्ता, शान्ति कायम राख्न अपिल

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सले तराईका केही स्थानमा हालै भएका घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । चेम्बरले वर्तमान परिस्थितिमा संयमता अपनाउँदै सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई प्राथमिकता दिन सबै पक्षसँग आग्रह गरेको छ ।

बुधबार जारी वक्तव्यमा नेपाल विविध धर्म, संस्कृति र समुदायबीचको आपसी सम्मान र सहअस्तित्वमा आधारित राष्ट्र भएको उल्लेख गर्दै यही विविधता देशको शक्ति भएको जनाइएको छ । सामाजिक सद्भाव र सहिष्णुताको संरक्षण सबैको साझा जिम्मेवारी भएको चेम्बरको भनाइ छ ।

संवेदनशील अवस्थामा अफवाह र भ्रामक सूचनाबाट टाढा रहन तथा कुनै पनि हिंसात्मक गतिविधिमा संलग्न नहुन नागरिकलाई अपिल गरिएको छ । साथै, शान्ति सुरक्षा कायम गर्न सरकार, प्रशासन र अन्य सरोकारवालाले गरिरहेका प्रयासको प्रशंसा गर्दै खुला संवाद, पारदर्शिता र सहकार्यलाई जोड दिइएको छ ।

चेम्बरले धार्मिक तथा सामाजिक संघसंस्था, सञ्चारमाध्यम र निजी क्षेत्रलाई सद्भाव अभिवृद्धिमा सक्रिय भूमिका खेल्न आग्रह गरेको छ । स्थिर र सुरक्षित वातावरणमै आर्थिक गतिविधि विस्तार सम्भव हुने उल्लेख गर्दै प्रभावित व्यवसाय पुनःस्थापनामा सहयोग गर्न निजी क्षेत्र तयार रहेको प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

चेम्बरले वर्तमान समय विभाजनभन्दा एकता, टकरावभन्दा संवादलाई प्राथमिकता दिने समय भएको बताउँदै सबैलाई सहिष्णुता र सामाजिक एकता सुदृढ बनाउन आह्वान गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर