
काठमाडौं : साउन १० गते राति सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा हिन्दु–मुस्लिम समुदायका नाममा सुरु भएको द्वन्द्व हिंसात्मक बन्दै गएको छ । चार दिनयता नेपालको सुरक्षा संयन्त्रको पूरा ध्यान तराई केन्द्रित छ । यद्यपि, समस्या समाधान हुन सकेको छैन ।
साउन १० गते आइतबारको झडपमा गोली चल्दा एक जनाको मृत्यु भएको थियो । प्रहरीको गोली लागेर देवानगन्ज–३ का स्थानीय २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि स्थिति थप उत्तेजित बनेको हो । पछिल्लो स्थिति सम्हाल्न स्थानीय प्रशासनले कर्फ्यु जारी गरे पनि त्यहाँको अवस्था अझै साम्य भएको छैन । नेपाली सेना परिचालन गरिएको छ भने कर्फ्यु जारी छ ।
सोही दिन गोली लागेर घाइते भएका कप्तानगन्जका अर्का युवा २१ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा बिहीबार मृत्यु भयो । विराटनगरस्थित न्युरो अस्पतालमा उपचाररत उनको बिहीबार मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी अबिनारायण काफ्लेले बताए । काफ्लेका अनुसार उनको पेटमा गोली लागेको थियो । मेहता सिटी सफारी चालक हुन् । घटनामा घाइते भएका अन्य आठ जनाको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
सुनसरीबाट प्रारम्भ भएको द्वन्द्वको लप्का मधेश प्रदेशसम्म पुगेको छ । बिहीबार नै सिराहामा गोली चल्दा थप एक जनाको मृत्यु भएको छ । त्यस्तै, जनकपुरमा मुस्लिम समुदायको बस्तीमा तीन जना बालकमाथि सांघातिक आक्रमण भएको छ । यी घटनाले मुठभेडको आगोमा घिउ थप्ने काम गरेको छ ।
एउटा समुदायले अर्को समुदायबीच फैलाउँदै गएको द्वेषभावका कारण सामाजिक सद्भावमा विखण्डन आएको देखिन्छ । यसले हिंसात्मक रूप लिने जोखिम बढेको भन्दै प्रहरी प्रशासनले उच्च सतर्कता अपनाएको छ । सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक (आइजिपी) नारायणतत्त पौडेलले स्थितिलाई सामान्य अवस्थामा ल्याउन सबै सुरक्षा निकायले उच्च सुरक्षा सतर्कता अपनाएको बताए ।
उनले भने, ‘पछिल्लो केही दिनयता कोशी र मधेश प्रदेशमा उत्पन्न परिस्थितिलाई व्यवस्थापन गर्ने कुरामा हामीले उच्च सतर्कताका साथ काम गरिरहेका छौं ।’ धार्मिक तथा सांप्रदायिक नाममा हुने त्यस्ता हिंसाजन्य गतिविधिले कसैलाई पनि फाइदा नपुग्ने हुँदा सम्बन्धित हिन्दु तथा मुस्लिम समुदायका नागरिकबीच आपसी सद्भाव कायम राख्दै उत्पन्न परिस्थितिलाई साम्य बनाउन पौडेलले आग्रह गरे । नेपाल प्रहरीले पनि सामाजिक सद्भाव भड्काउने गतिविधिमा सहभागी नहुन आग्रह गरेको छ ।
बिहीबार सिराहा र जनकपुरमा समेत कर्फ्यु लगाइएको छ । सुरक्षा संयन्त्रहरूले सकेको काम गरिरहेका भए पनि सरकारका तर्फबाट हुनुपर्ने स्थानीय, प्रदेश तथा राष्ट्रिय स्तरको राजनीतिक संवाद भने कमजोर देखिएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले गर्नुपर्ने उच्च राजनीतिक संवाद र समस्या समाधानका लागि आवश्यक कदमबारे मौन छन् । मुलुक सांप्रदायिक हिंसात्मक अवस्थामा पुग्न लाग्दा पनि प्रधानमन्त्रीको मौनतालाई लिएर प्रतिनिधिसभामै चर्को विरोध भएको छ । सरकार र प्रधानमन्त्री तहबाट लिनुपर्ने अग्रसरता नदेखिएपछि पार्टीहरूले त्यसप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
राष्ट्रिय राजनीतिमा रहेका दलहरूले सरकारलाई खबरदारी गर्दै स्थानीय र प्रदेश सरकारका संरचनालाई समेत घटनालाई थप उक्सिन नदिन तथा उत्पन्न समस्या व्यवस्थापनमा सहजीकरण गर्न आग्रह गरेका छन् । सरकारको नेतृत्वकर्ता रास्वपाले आफ्नो पहल गरे पनि पछिल्ला घटनाका सन्दर्भमा प्रधानमन्त्री शाह र गृहमन्त्री सुधन गुरुङ भने अझै मौन छन् । प्रधानमन्त्री र गृहमन्त्री सुरक्षा निकायका प्रमुखहरूसँग बसेकै बेला सुरक्षा संयन्त्रले राजनीतिक तहको संवादबाट समस्या समाधान खोज्न सुझाव दिएको थियो । तर प्रधानमन्त्री र गृहमन्त्रीले त्यसलाई ध्यान नदिएको सुरक्षा संयन्त्रको गुनासो छ । घटनाको दोष सुरक्षा संयन्त्रमाथि थोपर्दै सरकारका नेतृत्वकर्ताले कमजोर काम गर्दै आएको सुरक्षा अधिकारीहरूले गुनासो गरेका छन् ।