
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेश प्रदेशबाट निर्वाचित पार्टीका सांसदहरूसँग छलफल गरेका छन् ।
सुनसरीबाट सुरु भएको तनावपूर्ण अवस्थाको प्रभाव मधेश क्षेत्रमा समेत देखिन थालेपछि त्यसबारे जानकारी लिन र आवश्यक समन्वयका लागि सभापति लामिछानेले सांसदहरूसँग छलफल गरेको उनको सचिवालयले जनाएको छ ।
छलफलमा तराई-मधेश क्षेत्रमा सामाजिक सद्भाव कायम राख्ने उपाय, पछिल्लो सुरक्षा अवस्था तथा राज्य संयन्त्रको भूमिकाबारे विचार विमर्श भएको बताइएको छ ।
मधेश प्रदेशका करिब २० जना सांसद सहभागी छलफलमा सहभागीहरूले पछिल्लो परिस्थितिमा राज्यको सक्रियता र तत्काल पहल अपेक्षाअनुसार प्रभावकारी नभएको अनुभूति भएको धारणा राखेको सचिवालयले जनाएको छ ।