
काठमाडौं : चालकहरूको पेशागत हक, हित, सम्मान र सामाजिक सुरक्षाका सवाललाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यका साथ 'स्वतन्त्र चालक संघ नेपाल'को केन्द्रीय कार्यालय उद्घाटन गरिएको छ । सोमबार काठमाडौंको थानकोटस्थित त्रिभुवन पार्क अगाडि आयोजित एक विशेष समारोहका बीच कार्यालयको उद्घाटन गरिएको हो ।
नेपालका वरिष्ठ विमान चालक क्याप्टेन विजय लामाको प्रमुख आतिथ्य तथा संघका केन्द्रीय अध्यक्ष मिलन श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा देशभरबाट आएका सयौं चालक, सहचालक, यातायातकर्मी, कानुन व्यवसायी र विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । नेपाली मौलिक संस्कृति झल्किने नौमती बाजासहित अतिथिहरूको स्वागत गरिएको उक्त कार्यक्रमसँगै चालक आन्दोलनले नयाँ र संस्थागत चरणमा प्रवेश गरेको सहभागीहरूले बताएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि क्याप्टेन विजय लामाले चालक पेशालाई राष्ट्र सञ्चालनको आधारभूत शक्तिका रूपमा चित्रण गरे । उनले सडक, हवाई, जल वा रेल जुनसुकै माध्यमको सवारीसाधन सञ्चालन गर्ने व्यक्ति नै वास्तविक चालक भएको उल्लेख गर्दै उनीहरूलाई 'राष्ट्रको मेरुदण्ड' र 'मौन अभियन्ता' को संज्ञा दिए ।
क्याप्टेन लामाले चालकबिना जनजीवन, व्यापार, उद्योग र पर्यटनलगायत समग्र आपूर्ति प्रणालीको कल्पना समेत गर्न नसकिने बताए । चालकहरूको पेशागत सम्मान, सामाजिक सुरक्षा र कानुनी संरक्षणका लागि राज्य र सम्बन्धित निकायले प्रभावकारी नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिए ।

संघका केन्द्रीय अध्यक्ष मिलन श्रेष्ठले नवनिर्मित केन्द्रीय कार्यालय केवल प्रशासनिक केन्द्र मात्र नभई सम्पूर्ण चालकहरूको अधिकार, स्वाभिमान र एकताको साझा मञ्च हुने बताए । उनले चालकहरूको सामाजिक सुरक्षा, श्रम अधिकार, बीमा, दुर्घटना राहत र कानुनी सहायताका लागि संघले सबै तहका सरकारसँग समन्वय गर्दै सशक्त आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमका अन्य वक्ताहरूले देशको अर्थतन्त्रलाई चलायमान बनाउने प्रमुख जनशक्ति भएर पनि चालकहरूले उचित सम्मान र सुरक्षा नपाएको गुनासो गरे । उनीहरूले सुरक्षित र मर्यादित व्यावसायिक वातावरणका लागि नियमित तालिम र स्वास्थ्य बीमालाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखेका थिए ।
केन्द्रीय कार्यालय सञ्चालनमा आएसँगै संघका गतिविधिहरू थप व्यवस्थित, पारदर्शी र प्रभावकारी हुने अपेक्षा गरिएको छ । देशभरका स्वतन्त्र चालकहरूलाई एउटै साझा मञ्चमा आबद्ध गर्दै उनीहरूका मुद्दालाई नीति निर्माण तहसम्म पुर्याउने अभियान अब थप सशक्त हुने संघले जनाएको छ । सहभागीहरूले साउन ११ गतेलाई नेपाली चालक आन्दोलनको इतिहासमा एक ऐतिहासिक र महत्त्वपूर्ण दिनका रूपमा स्मरण गरेका छन् ।