
काठमाडौं : प्रमुख प्रतिविपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पाँचथरको फालेलुङ गाउँपालिका–५ लुङमादिनको पहिरो प्रभावित परिवारको उद्धार, राहत र पुनर्स्थापनामा ढिलाइ नगर्न सरकारसँग आग्रह गरेका छन् ।
आङ्देम्बेले पहिरोका कारण तीन परिवार पूर्ण रूपमा विस्थापित भएका र ३५ परिवारका १६८ जना नागरिक उच्च जोखिममा रहेकाप्रति चिन्ता व्यक्त गरेका हुन् ।
सङ्घ, प्रदेश र स्थानीय सरकार, जिल्ला विपद् व्यवस्थापन समिति तथा सबै सुरक्षा निकायलाई तत्काल प्रभावित क्षेत्रमा परिचालित हुन र आपसी सहकार्य र समन्वयबाट उद्धार, राहत र पुनः स्थापनामा लाग्न उनले आज विज्ञप्ति जारी गरी अनुरोध गरेका हुन् ।
जिल्लास्थित राजनीतिक दल, स्वयंसेवी संस्था र सामाजिक सङ्घसंस्थालाई पनि प्रभावित क्षेत्रमा सक्रिय रूपमा खटिन उनले आग्रह गरे । निरन्तर वर्षासँगै थप पहिरोको जोखिम कायम रहेकाले उच्च जोखिममा रहेका परिवारलाई तत्काल सुरक्षित स्थानमा सार्नुपर्नेमा नेता आङ्देम्बेको जोड छ ।
राहत सामग्रीको अभाव हुन नदिन र विस्थापितको दीर्घकालीन पुनर्स्थापनाको योजना शीघ्र अघि बढाउन पनि उनले सरकारसँग आग्रह गरे ।