
काठमाडौँ : नेपालमा निर्माण सम्पन्न भएको पहिलो आधुनिक सुरुङमार्गका रूपमा रहेको थानकोट-नागढुंगा सुरुङमार्ग सञ्चालनमा आउने भएको छ ।
भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा सुरुङमार्गको औपचारिक उद्घाटन गरिने भएको हो ।
उद्घाटन समारोह बिहान १०:२५ बजे सुरु भई मध्याह्न १२:१५ बजेसम्म सञ्चालन हुने कार्यक्रम तालिका सार्वजनिक गरिएको छ। कार्यक्रमको सुरुवात वैदिक विधि अनुसार पूजापाठ र स्वस्तिवाचनबाट हुनेछ । त्यसपछि औपचारिक समारोह अघि बढाइनेछ भने मन्त्री लम्सालले दीप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा सडक विभागका महानिर्देशक डा. विजय जैशीले सुरुङमार्ग निर्माण तथा आयोजनासम्बन्धी संक्षिप्त विवरण प्रस्तुत गर्नेछन्। नेपाल-जापान सहकार्यमा निर्माण भएको आयोजनाको उद्घाटन समारोहमा जापान सरकार र जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का प्रतिनिधिहरूको समेत सहभागिता रहनेछ ।
कार्यक्रममा जाइकाका अध्यक्ष डा. तानाका अकिहिको र नेपालका लागि जापानी राजदूत माएदा तोरुले सम्बोधन गर्ने तय भएको छ ।
समारोहका क्रममा अतिथिहरूले सुरुङको प्रवेशद्वारसम्म पैदल यात्रा गरी मुख्य उद्घाटन स्थलमा पुग्ने कार्यक्रम छ । त्यसपछि भौतिक पूर्वाधारमन्त्री, जापानी राजदूत, जाइकाका अध्यक्ष, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव र सडक विभागका महानिर्देशकले संयुक्त रूपमा रिबन काटेर सुरुङमार्ग उद्घाटन गर्नेछन् ।
उद्घाटन अवसरमा नेपालतर्फको शिलालेख मन्त्री लम्सालले अनावरण गर्ने तथा जापानी पक्षतर्फको स्मारक ढुंगा जापानी राजदूत र जाइकाका अध्यक्षले संयुक्त रूपमा अनावरण गर्ने कार्यक्रम रहेको छ ।
औपचारिक उद्घाटनपछि मन्त्री लम्साल, जापानी राजदूत र जाइकाका अध्यक्षले सुरुङभित्र सवारी चलाएर सुरुङ मार्गमा नियमित आवागमनको सुरुवात गर्ने कार्यक्रम तय गरिएको छ ।