
काठमाडौँ : फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६को सुरुवात यसपटक निकै भिन्न र भव्य रूपमा हुँदै छ । इतिहासमै पहिलोपटक तीनवटा आयोजक राष्ट्रहरू– संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा प्रतियोगिताको उद्घाटन गर्दै छन् ।
यस ऐतिहासिक क्षणलाई लिएर फिफा अध्यक्ष जियानी इन्फान्टिनोले ‘पृथ्वीकै महान् प्रदर्शनी’को संज्ञा दिएका छन् । जुन ११ देखि जुलाइ १९ सम्म चल्ने यो प्रतियोगिता विश्वकप इतिहासकै सबैभन्दा ठुलो हुनेछ, जसमा १०४ खेलहरू १६ वटा विभिन्न सहरमा खेलिनेछन् ।
विश्वकपको उद्घाटन समारोहहरू मेक्सिको, क्यानडा र अमेरिकामा शृंखलाबद्ध रूपमा आयोजना गरिनेछन् । यी तीनवटै समारोहको उद्देश्य फुटबलले कसरी देशको सिमानाभन्दा माथि उठेर विश्वलाई एकताको सूत्रमा बाँध्छ भन्नेमा केन्द्रित रहनेछ । ओलम्पिकका उद्घाटन समारोहहरू निर्देशन गरिसकेका मार्को बालिचले यसपटकको विश्वकप उद्घाटनको रचनात्मक नेतृत्व गरिरहेका छन् ।
फिफा अध्यक्ष इन्फान्टिनोले उद्घाटन समारोहको महत्वमाथि प्रकाश पार्दै यसलाई विश्वलाई जोड्ने माध्यमका रूपमा व्याख्या गरेका छन् । इन्फान्टिनोका अनुसार, मेक्सिको सिटीबाट सुरु भई टोरन्टो र लस एन्जलससम्म पुग्ने यी उद्घाटन समारोहहरूले संगीत, संस्कृति र फुटबललाई यसरी जोड्नेछन् जसले प्रत्येक राष्ट्रको मौलिकता र प्रतियोगिताको एकता दुवैलाई झल्काउनेछ । उनले यसलाई एउटा ‘शक्तिशाली विश्वव्यापी उत्सव’ पनि भनेका छन् ।
मेक्सिको सिटीमा हुँदै छ भव्य सुरुवात
मेक्सिकोको ऐतिहासिक ‘मेक्सिको सिटी स्टेडियम’मा जुन ११मा पहिलो उद्घाटन समारोह हुनेछ । मेक्सिको र दक्षिण अफ्रिकाबीचको पहिलो खेल सुरु हुनुभन्दा ९० मिनेटअघि यो समारोह सुरु हुने तालिका छ ।
यस समारोहमा विश्वप्रसिद्ध गायिका साकिरा र बर्ना बोयले विश्वकपको आधिकारिक गीत ‘दाइ दाइ’मा प्रस्तुति दिनेछन् । यसबाहेक जे बाल्भिन, टाइला, माना, बेलिन्डा र अलेजान्ड्रो फर्नान्डेजजस्ता कलाकारले मेक्सिकोको सांस्कृतिक विविधता र परम्परागत कला ‘पापेल पिकाडो’ झल्किने प्रस्तुति दिनेछन् । मेक्सिको सिटीमा यस दिन सार्वजनिक बिदासमेत घोषणा गरिएको छ ।
टोरन्टो र लस एन्जलसमा छुट्टै समारोह
क्यानडाको टोरन्टो र अमेरिकाको लस एन्जलसमा जुन १२मा उद्घाटन समारोह हुनेछन् । क्यानडाले पहिलोपटक पुरुष विश्वकप आयोजना गर्दै छ । यहाँको समारोहमा क्यानडाको ‘सांस्कृतिक मोजाइक’लाई प्रस्तुत गरिनेछ, जहाँ एलनिस मोरिससेट, माइकल बुब्ले, नोरा फतेही र एलेसिया काराजस्ता कलाकारले प्रस्तुति दिनेछन् । क्यानडाले आफ्नो पहिलो खेल बोस्निया एन्ड हर्जगोभिनासँग खेल्नेछ ।
अमेरिकाको समारोह लस एन्जलस स्टेडियममा हुनेछ । यहाँ केटी पेरी, फ्युचर, अनिट्टा र ब्ल्याकपिंककी लिसाजस्ता विश्वचर्चित कलाकारले दर्शकलाई मनोरञ्जन गराउनेछन् । अमेरिकाको पहिलो भिडन्त पाराग्वेसँग हुनेछ ।
उद्घाटनको उत्साहका बीच मेक्सिको सिटीमा केही सुरक्षा चुनौती पनि देखिएका छन् । त्यहाँका शिक्षक युनियनहरूले सडक अवरुद्ध गर्ने चेतावनी दिएका छन्, जसका कारण सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । अमेरिका र क्यानडामा पनि पर्यटकको ठुलो चापलाई मध्यनजर गर्दै यातायात र सुरक्षामा विशेष ध्यान दिइएको छ ।