२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

पाँचौं ए स्टार नेपाल बास्केटबल लिग : आइतबारदेखि क्वार्टरफाइनल खेलहरू सुरु हुने

Nada
२०८३ जेठ २५ गते १९:३७
Shares
पाँचौं ए स्टार नेपाल बास्केटबल लिग : आइतबारदेखि क्वार्टरफाइनल खेलहरू सुरु हुने

लन्डन : पाँचौं ए स्टार नेपाल बास्केटबल लिग २०२६ को क्वार्टरफाइनल खेलहरू आउँदो आइतबार (३२ जेठ) देखि सुरु हुने भएका छन् । नेपाल बास्केटबल लिग युकेले महिला बलर्स क्लबसँगको सहकार्यमा आयोजना गरिरहेको यस लिगमा कुल ११ पुरुष र २ महिला टोलीले प्रतिस्पर्धा गरेका थिए ।

ncell

आगामी जुन १४ (आइतबार) का दिन फेल्थमस्थित स्प्रिङवेस्ट एकेडेमीमा दिउँसो १२ बजेदेखि साँझ ८ बजेसम्म क्वार्टर फाइनल खेलहरू सञ्चालन हुनेछन् । लिग संयोजक सार्थक गुरुङका अनुसार उक्त नकआउट चरणमा कुल ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । क्वार्टर फाइनलबाट छनोट भएका चार टोलीले सोही भेन्युमा आयोजना हुने सेमिफाइनलमा स्थान बनाउनेछन् भने फाइनल खेलहरू जुलाई ४ मा लन्डनको ब्रुनेल युनिभर्सिटी स्पोर्ट्स सेन्टरमा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म हुने तय भएको छ ।

लिगको हालसम्मको अंक तालिका (स्ट्यान्डिङ) अनुसार स्यान्डहर्स्ट निक्सले प्रभावशाली प्रदर्शन गर्दै शीर्ष स्थान हासिल गरेको छ । त्यस्तै, ग्रिनफोर्ड नाइट्स दोस्रो, डीबीएस तेस्रो र ह्याम्पशायर हुपर्स चौथो स्थानमा रहँदै शीर्ष चारमा पर्न सफल भएका छन् । यस्तै कोलचेस्टर एलिट, बलर्स स्ल्यामर्स, ग्रीनफोर्ड रोभर्स र नर्थोल्ट फ्लेमर्सले पनि क्वार्टर फाइनलमा स्थान सुरक्षित गर्दै आठ टोलीको नकआउट लाइनअप पूरा गरेका छन् ।

विधागत प्रदर्शनतर्फ, प्रतिखेल औसत २९.४ अंक (पिपिजी) जोड्दै आयुष सिंह लिगको सर्वाधिक स्कोरर बनेका छन् । क्याल्भिन ची २७.० पिपिजी सहित दोस्रो र सुदन गुरुङ २६.८ पिपिजी का साथ तेस्रो स्थानमा रहे । थ्री-पोइन्ट सुटिङतर्फ अली अदनानले सर्वाधिक ४३ वटा थ्री-पोइन्टर्स प्रहार गर्दै पहिलो स्थान बनाए भने प्रशांत राईले ३२ र लोमस गुरुङले २८ थ्री-पोइन्टर्स सहित क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरे ।

नेपाल बास्केटबल युकेका अध्यक्ष रूपक गुरुङले खेलाडीहरूको अटल उत्साह र दर्शकहरूको अत्यधिक प्रतिक्रियाबाट आफूहरू उत्साहित भएको बताएका छन् । उनले मुख्य प्रायोजकहरू ए स्टार मोर्टगेजेस र ए स्टार फाइनान्सियल सोलुसन्स युके लगायत सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद समेत ज्ञापन गरे । गत मार्च १५ देखि सुरु भएको यस लिगले नेपाली समुदायमा बास्केटबलको उच्च स्तर र बलियो सहभागिता प्रदर्शन गरेको छ भने अब सबैको ध्यान उपाधि भिडन्ततर्फ केन्द्रित भएको छ ।

सम्बन्धित खबर