२०८३ कार्तिक १४ गते शनिवार / Oct 31 , 2026 , Saturday
२०८३ कार्तिक १४ गते शनिवार

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

Nada
२०८३ वैशाख १८ गते १३:५९
Shares
श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा तीन वटा महत्वपूर्ण कामको घोषणा गरेका छन् ।

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस दिवसको अवसरमा मन्त्री यादवले भिडियो सन्देश जारी गर्दै पहिलो घोषणाअन्तर्गत पाँच वर्षे राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको बताए । उक्त कार्यक्रमले प्रत्येक श्रमिकको सुरक्षा, स्वास्थ्य र सुरक्षित कार्य वातावरणको अधिकार सुनिश्चित गर्ने उनको भनाइ छ । 

दोस्रो घोषणामा विदेशमा रहेका नेपाली श्रमिकसँग प्रत्यक्ष संवाद, सूचना प्रवाह र समस्या समाधानलाई प्रभावकारी बनाउन विदेशस्थित नेपाली दूतावासमा रहेका श्रम सहचारी/कन्सुलरबाट हप्तामा एक पटक फेसबुक लाइभ कार्यक्रम सञ्चालन गरिने पनि मन्त्री यादवले उल्लेख गरे । ‘अब तपाईंहरू जहाँ हुनुहुन्छ सरकार तपाईसँगै छ,’ उनले भने । 

मन्त्री यादवले तेस्रो घोषणमा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध भएका श्रमिकहरुले घडेरी खरिद गर्नका लागि ६ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराइने उल्लेख गरे । त्यसबाहेक रु एक करोड ५० लाखसम्म नियमानुसार सापटी लिन सक्ने व्यवस्था मिलाइएको पनि उनको भनाइ छ । यसका अतिरिक्त नीतिगत सुधार, संस्थागत पुनर्संरचना तथा नवीन रोजगारी सृजनाका कार्यक्रमहरू पनि अघि बढिरहेको उनले बताए । 

मन्त्री यादवले भिडियो सन्देशमा श्रमको सम्मान नै देश विकासको आधार हो’ भन्ने मूल मर्मलाई आत्मसात् गर्दै सबै क्षेत्रका श्रमिकका लागि उचित पारिश्रमिक, मर्यादित कामको वातावरण र श्रम अधिकार सुनिश्चित गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताए ।  

उनले हामी सबै आ–आफ्नो स्थानबाट राष्ट्र निर्माणमा योगदान पुर्‍याइरहेको उल्लेख गर्दै आजको यस विशेष दिनमा हामी सबैले एक–अर्काको योगदानको मूल्य बुझ्दै सम्मान गर्ने र एक–अर्काप्रति कृतज्ञता व्यक्त गर्ने संस्कारलाई अझ सुदृढ बनाउन आवश्यक भएको बताए ।  

ताजा खबर

सम्बन्धित खबर