
काठमाडौं : रूपन्देहीको बुटवल उपमहानगरपालिकामा रहेको कालिका मानवज्ञान माध्यमिक विद्यालय नेपालको सबैभन्दा धेरै विद्यार्थी पढ्ने सामुदायिक विद्यालय हो । हाल यस विद्यालयमा आठ हजार ५३ विद्यार्थी र २५२ जना शिक्षक छन् । कालिका माविमा बाल विकासदेखि कक्षा १२ सम्म पढाइ हुन्छ ।
२०७३ सालको एसएलसी परीक्षामा राष्ट्रिय प्रथम, २०७४ सालमा राष्ट्रिय तृतीय स्थान हासिल गरेको यस विद्यालय २०८० सालमा १६ वटा सूचकमा राष्ट्रिय प्रथम र २०८१ मा कक्षा १२ को परीक्षामा उत्कृष्ट घोषणा भएको थियो । २०७५ सालमा शिक्षा मन्त्रालयले नमुना विद्यालयको रूपमा मान्यता दिएपछि कालिका माविको चर्चा देशभर चुलिएको थियो ।
यस विद्यालयमा औपचारिक शिक्षाका अलावा अतिरिक्त क्रियाकलाप, छात्रवृत्ति, छात्रावासलगायत सुविधा पनि छन् । विद्यालयमा अतिरिक्त क्रियाकलाप लागि एक करोड ३३ लाख रुपैयाँको अक्षय कोष स्थापना भएको छ । जसबाट सिंगिङ आइडल, म्याराथन दौड, कविता प्रतियोगिता, पत्रकारिता पुरस्कारलगायत प्रदान गरिन्छ । गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदानका साथै उत्कृष्ट अंक ल्याउनेलाई प्रोत्साहनस्वरूप रकम प्रदान गरिन्छ ।
प्रधानाध्यापक दिनेश थापाका अनुसार २०१८ सालमा स्थापना भएको कालिका माविले अनाथ तथा द्वन्द्वपीडित विद्यार्थीलाई शिक्षादेखि बसोवास र औषधि उपचारसमेत निःशुल्क गर्दै आइरहेको छ । ‘कालिका विद्यालयको कालिकानगर र रामनगरमा गरी पाँच बिघा आठ कट्ठा जग्गा छ,’ उनी भन्छन्, ‘१६ वटा भवनमा १२९ वटा कक्षाकोठा छन् । कक्षा १२ सम्म निःशुल्क अध्यापन गराउने र छात्रावासको सम्पूर्ण खर्च व्यहोर्ने यो देशभरमै पहिलो विद्यालय हो ।’
विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, पुस्तकालय तथा स्मार्ट कक्षाकोठाजस्ता सुविधा भएको कालिका मानवज्ञान माध्यमिक विद्यालयले नेपालको सामुदायिक शिक्षा सुधारमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।