
काठमाडौं : सामुदायिक विद्यालयमध्ये अत्यधिक विद्यार्थीको चाप हुने विद्यालय हो, रुपन्देहीको शान्ति नमुना माध्यमिक विद्यालय । जसमा पाँच हजार तीन सय तीन विद्यार्थी अध्ययन गरिरहेका छन् । २००३ सालमा स्थापना भएको विद्यालयले फरक क्षमता भएका विद्याथीहरूलाई समेत पढाएर विशेष पहिचान बनाएको छ ।
रुपन्देहीको तिलोत्तमा–५ मा रहेको उक्त विद्यालयले अटिजम भएका विद्यार्थीहरूका लागि विशेष अध्ययन कक्षा सञ्चालन गरिरहेको छ । विद्यालयमा प्राविधिक शिक्षाको पनि पढाइ हुने गरेको छ । विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेका अनुसार तीनवर्षे डिप्लोमा इन होटल म्यानेजमेन्ट, एकमहिने प्रिडिप्लोमा इन मेकानिकल इन्जिनियरिङ, २४ महिने प्रिडिप्लोमा इन मेकानिकल इन्जिनियरिङका कक्षा सञ्चालनमा छन् ।
विद्यालयमा विज्ञान, व्यवस्थापन, शिक्षा र कानुन समूहमा पढाइ हुनुका साथै अतिरिक्त क्रियाकपसमेत हुँदै आइरहेको छ । विद्यालयमा हुने अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूमा झनै उत्साह थप्दै गएको प्रअ लामिछाने बताउँछन् । त्यति मात्रै होइन, विद्यालयले संस्कारसहितको शिक्षा दिँदै आएको छ । विद्यालयले शिक्षासँगै सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यार्थीलाई सरसफाइ, स्वास्थ्य, साहित्य, लोकसंस्कृति र खेलकुदमा विद्यार्थीलाई सहभागिता गराउने गरेको छ ।
‘हरेक वर्ष विद्यालयले लिने वार्षिक परीक्षा, पालिकास्तरीय परीक्षा, एसइई र कक्षा १२ को परीक्षामा पनि उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ,’ उनी भन्छन्, ‘रुपन्देहीमा सामुदायिक विद्यालयतर्फ उत्कृष्ट नतिजा ल्याएर शान्ति मावि अब्बल विद्यालय बन्न सफल भएको छ । आफ्नो विद्यालय गुणस्तरीय शिक्षाको लागि सही गन्तव्य बन्न सकेकोमा खुसी लागेको छ ।’
पढाइसँगै सबै विधामा विद्यालयलाई नमुना विद्यालयका रूपमा स्थापित गरिएको र अझै विद्यालयको गरिमालाई उँचो बनाउने गरी काम गर्ने प्रअ लामिछानेको योजना छ ।