
काठमाडौं : पर्सा जिल्लाको वीरगन्जमा अवस्थित त्रिजुद्ध महावीरप्रसाद रघुवीर राम माध्यमिक विद्यालय एक प्रतिष्ठित सामुदायिक तथा प्राविधिक विद्यालय हो । वि.सं. १९९४ स्थापना भएको यो विद्यालय मधेशको मात्र नभई देशकै उत्कृष्ट सामुदायिक विद्यालयमध्येको एक हो । ‘सरकारी विद्यालयको शिक्षा कमजोर हुँदै गइरहेको छ’ भन्ने भाष्यका बीचमा गुणस्तरी शिक्षा प्रदान गरिरहको यस विद्यालयमा विद्यार्थीको संख्या चार हजार चार सय १६ रहेको छ ।
यस विद्यालयमा प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्मको अध्ययन हुन्छ । प्लस टू तहमा व्यवस्थापन, शिक्षा र विज्ञान विषयहरू अध्ययन गराइन्छन् । यहाँ कक्षा ९ बाटै प्राविधिक धारअन्तर्गत सिभिल इन्जिनियरिङसम्बन्धी अध्यापन पनि भइरहेको विद्यालयका प्रधानाध्यापक हरेन्द्रप्रसाद कुर्मी बताउँछन् । जसले विद्यार्थीहरूलाई सीपमूलक तथा रोजगारमुखी शिक्षा हासिल गर्न टेवा पु¥याइरहेको छ । इन्जिनियरिङका लागि हरेक कक्षामा ४० जनाको कोटा भए पनि यसतर्फको आकर्षण उच्च रहेको प्रधानाध्यापक कुर्मीको भनाइ छ ।
नेपाली र अंग्रेजी माध्यममा पढाइ हुने यो विद्यालयले आर्थिक रूपमा कमजोर तथा जेहेन्दार विद्यार्थीहरूका लागि छात्रवृत्ति सुविधासमेत उपलब्ध गराउँदै आएको छ । विद्यालयमा पुस्तकालय, कम्प्युटर ल्याब, विज्ञान प्रयोगशालाले विद्यार्थीहरूको अध्ययनप्रतिको रुचिलाई बढाउन मद्दत पुगेको प्रधानाध्यापक कुर्मीले बताए ।
आधुनिक प्रविधिमा आधारित मल्टिमिडिया शिक्षण पद्धति र जर्नलहरूको प्रयोगले पनि शिक्षण सिकाइ प्रक्रियालाई अझ प्रभावकारी बनाएको छ । साथै, काउन्सेलिङ तथा विद्यार्थी मार्गदर्शन सेवाले विद्यार्थीहरूको समग्र विकासमा सहयोग पु¥याउँदै आएको छ । यसका साथसाथै नृत्य, संगीत, खेलकुद तथा शैक्षिक भ्रमणजस्ता सह–पाठ्यक्रम गतिविधिहरूले विद्यार्थीहरूको प्रतिभा प्रष्फुटनमा योगदान पुर्याइरहेको प्रधानाध्यापक कुर्मी बताउँछन् ।