
काठमाडौं : चार पटकको विश्व विजेता इटाली फुटबलको महाकुम्भ विश्वकपमा लगातार तेस्रो पटक छनोट हुन असफल भएको छ । मंगलबार राति भएको सन् २०२६ को विश्वकप छनोट अन्तर्गत युरोपेली प्लेअफको फाइनलमा बोस्निया-हर्जगोभिनासँग पेनाल्टी सुटआउटमा ४-१ ले पराजित भएसँगै इटालीको विश्वकप सपना पुनः चक्नाचुर भएको हो ।
निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समयको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।
यसअघि इटाली सन् २०१८ र २०२२ को विश्वकपमा पनि छनोट हुन सकेको थिएन । विश्वकप इतिहासमा कुनै पनि पूर्व विजेता टोली लगातार तीन पटक प्रतियोगितामा स्थान बनाउन असफल भएको यो पहिलो पटक हो ।
बोस्नियाको स्टाडियन बिलिनो पोल्जेमा भएको खेलमा इटालीले सुरुवाती अग्रता लिएको थियो । खेलको १५औं मिनेटमा निकोलो बरेलाको पासमा मोइस किनले उत्कृष्ट गोल गर्दै इटालीलाई १-० को अग्रता दिलाएका थिए । तर ४१ औं मिनेटमा इटालीका डिफेन्डर अलेसान्द्रो बास्टोनीले बोस्नियाका विङ्गर अमर मेमिचलाई खराब ट्याकल गरेपछि सिधै रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए ।
१० खेलाडीमा खुम्चिएको इटालीले खेलको ७९औं मिनेटसम्म अग्रता जोगाउन सफल भयो । तर बोस्नियाका कप्तान एडिन जेकोको हेडरलाई इटालीका गोलकिपर जियानलुइगी डोनारुम्माले बचाए पनि रिबाउन्डमा हारिस टाबाकोभिचले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।
पेनाल्टी सुटआउटमा बोस्नियाका बेन्जामिन ताहिरोभिच, हारिस टाबाकोभिच, केरिम अलाज्वेगोभिच र एस्मिर बाज्राक्तारेभिचले कुनै गल्ती नगरी गोल गरे । अर्कोतर्फ, इटालीका पिओ एस्पोसिटोको प्रहार पोस्टभन्दा माथिबाट गयो भने ब्रायन क्रिस्टान्टेको प्रहार क्रसबारमा ठोकिएर फर्कियो । अन्ततः बोस्नियाले ४-१ को जित निकाल्दै आफ्नो इतिहासमा दोस्रो पटक विश्वकपमा स्थान सुरक्षित गर्यो ।
इटालीका प्रशिक्षक गेनारो गाट्टुसोले यो हारलाई पचाउन गाह्रो भएको बताएका छन् । आँसु थाम्दै उनले भने, 'यो निकै पीडादायी छ, यो हाम्रा लागि, सम्पूर्ण इटाली र हाम्रो फुटबल आन्दोलनका लागि आवश्यक थियो । म हाम्रो लक्ष्य प्राप्तिका लागि आफ्नो जीवनका वर्षहरू र पैसा छोड्न तयार हुने थिएँ ।'
यस्तै, इटालियन फुटबल महासंघका प्रमुख गेब्रिएल ग्राभिनाले इटालियन फुटबल अहिले 'गहिरो संकट'मा पुगेको स्वीकार गरेका छन् । विङ्गर लियोनार्डो स्पिनाजोलाले पनि भावुक हुँदै इटालियन बालबालिकाले फेरि एकपटक इटाली बिनाको विश्वकप हेर्नुपर्ने अवस्था आएकोमा दु:ख व्यक्त गरे ।
इटालियन फुटबलको गिर्दो साख
सन् २००६ मा विश्वकप जितेयता इटालीको प्रदर्शन अन्तर्राष्ट्रिय स्तरमा निकै खस्किएको देखिन्छ । सन् २०१० र २०१४ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको इटाली पछिल्ला तीन संस्करणमा छनोट नै हुन सकेन । युरो २०२० को उपाधि जिते पनि त्यसलाई एउटा अपवादका रूपमा हेरिएको छ ।
विज्ञहरूका अनुसार इटालियन क्लबहरू (सिरी ए) मा विदेशी खेलाडीहरूको बाहुल्यता हुनु, घरेलु एकेडेमीहरूले स्तरीय खेलाडी उत्पादन गर्न नसक्नु र रंगशालाहरूको आधुनिकीकरण नहुनु जस्ता कारणले इटालियन फुटबल संकटमा परेको हो ।
यो जितसँगै बोस्निया-हर्जगोभिनाले यसै वर्ष हुने विश्वकपको समूह 'बी' मा स्थान बनाएको छ, जहाँ उसले क्यानडा, कतार र स्विट्जरल्यान्डको सामना गर्नेछ । ४० वर्षीय कप्तान एडिन जेकोको नेतृत्वमा बोस्नियाले देखाएको प्रदर्शनलाई विश्व फुटबलमा उच्च प्रशंसा गरिएको छ ।