
काठमाडौं : आइसिसी टी-२० विश्वकपअघि भएको आफ्नो पहिलो अभ्यास खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली विजयी भएको छ । मंगलबार चेन्नईको एमए चिदाबरम स्टेडियममा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई ७ विकेटले हराएको हो ।
युएईले २० ओभरमा ६ विकेट गुमाउँदै १४५ रन बनाएको थियो । नेपालले १४६ रनको लक्ष्य १७ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
उपकप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले चौथो विकेटका लागि १ सय ३ रनको अविजित साझेदारी गर्दै टोलीलाई जित दिलाए । आरिफले ३७ बलमा ६१ रन बनाएका थिए भने दीपेन्द्र ३१ बलमा ५० रनमा नटआउट रहे ।
यसअघि कप्तान रोहित पौडेल १६ रनमा र ओपनर आसिफ शेख ८ रनमा रन आउट भए । अर्का ओपनर कुशल भुर्तेलले पनि ८ रन बनाए ।
युएईका लागि शोएब खानले सर्वाधिक ३८ रन बनाए भने हर्षित कौशिकले ३५ र ए शर्माले २५ रन जोडे । नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान २–२ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए । नेपालले अब आफ्नो दोस्रो अभ्यास खेलमा बिहीबार क्यानडासँग भिड्नेछ ।
टी–२० विश्वकप शनिबारबाट भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ । विश्वकपमा नेपाल समूह ‘सी’मा परेको छ । नेपाल रहेको समूहमा दुई पटकको विश्वविजेता वेस्ट इन्डिज र इंग्ल्यान्डसँगै स्कटल्यान्ड र इटाली छन् । यसअघि यस समूहमा बंगलादेश रहेको थियो । तर बंगलादेश विश्वकप खेल्न भारत नआउने भएपछि आइसिसीले बंगलादेशको स्थानमा स्कटल्यान्डलाई विश्वकपमा मौका दिएको हो ।
विश्वकपमा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ । जसअनुसार समूह ‘ए’मा भारत, पाकिस्ता, अमेरिका, नेदरल्यान्ड्स र नामिबिया परेका छन् । समूह ‘बी’मा श्रीलंका, अस्ट्रेलिया, आयरल्यान्ड, जिम्बाबे र ओमान परेका छन् भने समूह ‘डी’मा न्युजिल्यान्ड, साउथ अफ्रिका, अफगानिस्तान, क्यानडा र युएई परेका छन् ।
नेपालले इंग्ल्यान्डसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल र इंग्ल्यान्डबीचको खेल फेब्रुअरी ८ मा हुनेछ । यस्तै नेपालले दोस्रो खेल इटालीसँग खेल्नेछ । नेपाल र इटालीबीचको खेल फेब्रुअरी १२ मा हुनेछ ।
नेपालले आफ्नो तेस्रो खेल वेस्ट इन्डिजसँग खेल्नेछ । नेपाल र वेस्ट इन्डिजबीचको खेल फेब्रुअरी १५ मा हुनेछ । यस्तै नेपालले समूह चरणको आफ्नो अन्तिम खेल स्कटल्यान्डसँग खेल्नेछ । नेपाल र स्कटल्यान्डबीचको खेल फेब्रुअरी १७ मा हुनेछ । नेपालका सबै खेल भारतको मुम्बईमा हुनेछ ।