
काठमाडौं : नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको समूह चरणबाटै बाहिरिएको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा स्कटल्यान्डसँग ७२ रनको फराकिलो अन्तरले पराजित भएपछि नेपालको सुपर सिक्स पुग्ने सम्भावना समाप्त भएको हो ।
स्कटल्यान्डले प्रस्तुत गरेको १४१ रनको लक्ष्य पछ्याएको नेपाल १३.५ ओभरमै ६८ रनमा अलआउट भयो। कप्तान इन्दु बर्मा सातौं ओभरमा चोटग्रस्त भई मैदान छाडेपछि ब्याटिङ थप कमजोर बन्यो। नेपालका लागि बिन्दु रावल र रोमा थापाले समान १४–१४ रन बनाए भने रुबिना क्षेत्रीले १० रन जोडिन् । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङतर्फ स्कटल्यान्डकी अब्ताहा मकसुदले ३ विकेट लिइन् । कप्तान क्याथरिन ब्राइस र क्याथरिन फ्रेजरले २–२ तथा ओलिभिया बेल र राहेल स्लेटरले १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड २० ओभरमा १४० रनमा अलआउट भयो । नेपालले पावरप्लेमै ३ विकेट लिँदै ७९–६ को अवस्थामा पुर्याए पनि अन्तिम ओभरहरूमा नियन्त्रण गुमाउँदा स्कटल्यान्डले प्रतिस्पर्धात्मक योगफल तयार गर्यो ।
स्कटल्यान्डका लागि प्रियानाज चटर्जीले अविजित ४५ रन बनाइन् । एलिसा लिस्टरले २२, सराह ब्राइसले १८ र मेगन म्याककोलले १७ रन जोडिन् । नेपालका लागि मनिषा उपाध्यायले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिइन् भने रुबिना क्षेत्रीले ३ विकेट लिइन् । सीता राना मगर, रिया शर्मा र कविता जोशीले १–१ विकेट हात पारिन् ।
समूह चरणमा नेपालले थाइल्यान्ड र नेदरल्यान्ड्ससँग हार बेहोर्दै जिम्बावेविरुद्ध मात्र जित निकालेको थियो । चार खेलबाट २ अंकमा सीमित नेपाल समूह ‘बी’ को चौथो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरियो ।
यससँगै सुपर सिक्स पुग्ने टोलीको टुंगो लागेको छ । समूह ‘बी’ बाट स्कटल्यान्ड, नेदरल्यान्ड्स र थाइल्यान्ड तथा समूह ‘ए’ बाट बंगलादेश, आयरल्याण्ड र अमेरिका सुपर सिक्समा पुगेका छन् । सुपर सिक्सबाट शीर्ष चार टोलीले आगामी जुनमा इंग्ल्याण्डमा हुने आईसीसी महिला टी-२० विश्वकपमा स्थान बनाउनेछन् ।