
काठमाडौं : नबिल बैंकले ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप’ (नबिल एसएसई) अन्तर्गत सञ्चालित फेलोसिप कार्यक्रमका सहभागीलाई बिदाइ तथा नयाँ सहभागीलाई स्वागत गरेको छ । बैंकले सोमबार बिहान आयोजित ‘सेलिब्रेटिङ फेलोसिपः जर्नी अफ इम्प्याक्ट, २०८२’ कार्यक्रममा चौथो र पाँचौ समूहका सहभागीलाई बिदाइ गर्दै छैटौँ समूहका सहभागीलाई स्वागत गरेको हो ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालित फेलोसिप कार्यक्रमका चौथो र पाँचौ समूहका ४० जना सहभागीलाई कार्यक्रमका सभापति नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल तथा कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका रेक्टर प्राडा खड्क केसीले प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा छैटौँ समूहका २० सहभागीहरूलाई औपचारिक रूपमा स्वागत गरिएको थियो । सोही अवसरमा फेलोसिपमा सहभागी सामाजिक उद्यमीले उत्पादन गरेका वस्तु तथा सेवाको प्रदर्शनी पनि गरिएको थियो ।
कार्यक्रमका अध्यक्ष पौडेलले नबिल एसएसईले युवाहरुलाई उद्यमको मार्फत् नेपाल मै केहि गर्न सकिन्छ भन्ने वातावरणका लागि यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको बताए । कार्यक्रमका प्रमुख अतिथी त्रिभुवन विश्वविद्यालयका रेक्टर प्राडा खड्ग केसीले नबिल बैंकले सुरु गरेको यो कार्यक्रम समाजका लागि उदाहरणीय भएको उल्लेख गर्दै यस कार्यक्रममा त्रिभुवन विश्वविद्यालयले काम गर्न पाउँदा खुुसी लागेको बताए ।
नबिल बैंकका सञ्चालक निर्वाण कुमार चौधरीले बैंकले पाँच वर्ष अघि सुरु गरेको यो कार्यक्रमका सहभागीहरूलाई बधाई दिँदै सफलताको शुभकामना व्यक्त गरेका थिए । यो कार्यक्रम सुरु गर्दा नबिल बैंक र त्रिभुवन विश्वविद्यालय मात्रै भए पनि अहिले विभिन्न सरोकारवाला पक्ष जोडिएको उनको भनाइ थियो ।
नबिल बैंकले मुलुकभर सामाजिक उद्यमशीलताको प्रवर्धन गर्ने उद्देश्यले सन् २०२१ नोभेम्बर २६ गतेदेखि ‘नबिल एसएसई’ सुरु गरेको थियो ।