२०८२ भदौ २८ गते शनिवार / Sep 13 , 2025 , Saturday
२०८२ भदौ २८ गते शनिवार
Ads

कथा : योगदानको मूल्य

shivam cement
२०८२ भदौ २८ गते ०६:१५
कथा : योगदानको मूल्य

–इन्द्रकुमार श्रेष्ठ ‘सरित’

आन्दोलन सकिएको थियो । देशबाट राजतन्त्र हटिसकेको थियो र अब नेपाल लोकतान्त्रिक भएको थियो । नयाँ राजनीतिक पार्टीहरू खुलिरहेका थिए । पार्टीका भातृसंगठनहरू, जनवर्गीय संगठनहरू खुलिरहेका थिए । प्रवर्धन पनि नयाँ खुलेको पार्टीमा आवद्ध भयो । तर, यो आवद्धता सुरुमा पार्टीको जनवर्गीय संगठनसँग थियो । सांगीतिक क्षेत्रमा करीब दुई दशक बिताइसकेको प्रवर्धनलाई प्रारम्भिक कमिटीमा राखियो । उसले कुनै नाइँनास्ती गरेन । दिइएको जिम्मेवारीलाई उसले आफ्नो क्षमताले भ्याएसम्म पूरा ग¥यो । क्षेत्रीय इञ्चार्ज र सेक्रेटरीलाई नै उसले सबैभन्दा ठुलो मान्छे देख्यो । उसले पार्टीको झन्डा बोक्यो, मसाल पनि बोक्यो ।

मसाल बोक्न नजान्दा मसालको आगो टाउकोमा खसेर घाइते भयो । एक–डेढ महिना अस्पतालमा बस्यो, उपचार गरायो, तर पार्टीको ‘प’ पनि उसलाई हेर्न आएनन् । उसले सोच्यो, “अहिले म नयाँ छु, साथीहरूले त्यति चिन्दैनन्, त्यसैले आएनन् ।”

पार्टीका बैठक, नारा, जुलुस, हडताल– जहाँ जहाँ कार्यक्रम हुन्थ्यो, ऊ पुग्थ्यो । आफ्नो रेकर्डिङ रद्द ग¥यो, स्टेज सो छोड्यो, तर पार्टीको कुनै कार्यक्रम छुटाएन । ढुंगामुढा गर्न जानुपर्छ भनेपछि पनि ऊ पछि हटेन । प्रहरीको लाठी खायो, दुई÷चार दिन चिसो छिँडीको बास बस्यो । तर पनि पार्टीप्रतिको उसको मोह, त्याग र समर्पण कम भएन ।

संविधानसभाको पहिलो चुनाव आयो । ऊ मात्र होइन, उसको पूरै परिवार उम्मेदवार विवेकसिंह शर्माका लागि चुनावमा खटियो । घरदैलो कार्यक्रम, प्रचारप्रसार सबैमा प्रवर्धन, उसका बुबाआमा, श्रीमती, छोरा र छोरी समेत सहभागी भए । विवेकसिंहले राम्रो कार्यक्रम चलाउने भनेर प्रवर्धनलाई छाडेनन् । तर, पार्टीका साथीहरूले “ए, तपाईंले खाना खानुभयो ?” भनेर कहिल्यै एक वचन पनि सोधेनन् । प्रवर्धन लुरुलुरु हिँडेर घर आउँथ्यो, खाना खाएर फेरि प्रचारमा लाग्थ्यो ।

ऊ कहिल्यै पनि “म राष्ट्रिय स्तरको कलाकार हुँ, जसका ८–१० गीति एल्बम बजारमा छन्, ३०० भन्दा बढी गीत चर्चित छन्” भनेर दम्भ देखाउँदैनथ्यो । तर स्थानीय नेताहरूलाई उसबारे थाहा थियो । तैपनि प्रवर्धनलाई सम्मान, सद्भाव, कदर जस्ता कुराहरू कहिल्यै देखाइएन ।

प्रवर्धनले धेरै कुरा बुझेको थियो, धेरै कुरा बुझेको थिएन पनि । ऊ लप्पनछप्पन नबोल्ने मान्छे थियो । उसले सोच्थ्यो, “म भलो भए देश भलो हुन्छ । प्राकृतिक स्रोत साधनले भरिपूर्ण देशमा सही नेतृत्व आयो भने देश समृद्ध हुन्छ ।” उसले नयाँ नेपाल बनाउने पार्टीको सपनामा आफ्नै सपना देख्थ्यो । जातीय विभेद, लैंगिक विभेद, अन्याय, अत्याचार, भ्रष्टाचारको अन्त्य गरेर नयाँ समाज बनाउने विश्वास गथ्र्यो ।

जुलुस र ¥यालीमा ऊ पैदलै हिँड्थ्यो । मोटरसाइकलमा पेट्रोल हाल्न लाइन लागेका देखे तापनि ऊ परै बस्थ्यो । माइकिङ र प्रचारको खर्च पनि उसले आफैँ व्यहोथ्र्यो । उसले थाहा पायो, “उम्मेदवारबाट केही साथीहरूले पैसा लिएका छन्”, तर उसले कहिल्यै मागेन, खोजेन । ऊ यहाँ व्यक्तिगत लाभका लागि आएको थिएन । सामूहिक हितका लागि आएको थियो ।

जनताको गीत गाउने, समानताको गीत गाउने, चेतनाको गीत गाउने ऊ, पार्टीको उद्देश्यमै समर्पित थियो । तर बिस्तारै उसले पार्टीको यथार्थ बुझेको थियो ।

ऊजस्ता हजारौं नवप्रवेशीहरू पुराना ‘बन्दुके’ कार्यकर्ताहरूको दृष्टिमा दोस्रो दर्जाका नागरिक थिए । जति नै योगदान दिए पनि उनलाई निर्णय गर्ने तहमा ल्याइएन । ‘नयाँ’ भनेर व्यंग्य गरिन्थ्यो । पार्टीमा उनीहरूको उक्लिने सम्भावना सधैं न्यून थियो । नेता भने चाकरी खोज्ने र ‘हाम्रा मान्छे’ अघि बढाउने मानसिकताका थिए ।

चुनाव नजिकिँदै गइरहेको थियो । एक दिन ऊ दिनभरि माइकिङ गरेर फर्किएको थियो । स्वर बसेको थियो । राति एघार बजे पनि ऊ पोष्टर टाँस्न तयार भयो । श्रीमतीले रोकिन्, “तपाईंलाई सञ्चो छैन, हामी जान्छौं नि ।”

प्रवर्धनले भने, “पार्टीको काम हो, म जान्छु ।”

चारै जना निस्किए । काम छिट्टै सकियो । आमाछोरीलाई घर पठाएर बाबुछोरा निरीक्षणमा लागे ।

पार्टीले बहुमत ल्याएन तर सिट भने धेरै ल्यायो । प्रवर्धनको क्षेत्रका उम्मेदवार हरिसिद्धि महर्जन मन्त्री बने । उनले विजयको खुसीमा ठुलो भोज गरे । हजारौं कार्यकर्ता आए । तर प्रवर्धनलाई बोलाइएन । प्रचारको हरेक कार्यक्रम, गीत, स्वर, सञ्चालन उसैले गरेको थियो ।

बधाई दिन ऊ आफू पुगेको थियो । तर नेताहरू भित्रभित्रै षड्यन्त्र गरेर, प्रवर्धनमाथि शंका गर्दै, मन्त्रीको जयजयकार गरिरहेका थिए । तर भेट्न पाएन । खिन्न भएर फर्कियो ।

केही दिनपछि कलाकारहरूको एउटा समूह मन्त्रीलाई बधाई दिन गयो । आफूले अनुरोध गरेर प्रवर्धन पनि त्यसमा समेटियो । ऊ आशा गथ्र्यो, “मन्त्रीले केही सोध्नेछन्, धन्यवाद दिनेछन् ।” तर मन्त्रीले उसलाई चिनेजस्तै गरेनन् । नामै लिएनन् ।

त्यो दिन उसको मन पूर्ण रूपमा भाँचियो । उसले सोच्यो, “मैले त केही मागेको थिइन, एउटा औपचारिकता मात्र चाहेको थिएँ ।”

पार्टीको नीति, सिद्धान्त र विचारलाई उसले कहिल्यै बेइमानी गरेन । भूमाफियासँग मिलेर जग्गा जोड्ने प्रस्ताव अस्वीकार गर्‍यो । तर नेताहरूले उसको त्याग र इमानदारी देखेनन् ।

अन्ततः ऊ स्थानीय कमिटी प्रमुखलाई भेट्न गयो । उसले सबै कुरा राख्यो । प्रमुखले भने, “हेर्नुस्, पार्टी सरकारमा त छ तर अहिले अपेक्षा राख्ने होइन, पार्टीलाई सघाउने हो ।”

त्यति मात्र सुनेर ऊ उठेर हिँड्यो । मन अशान्त भयो । सोच्न थाल्यो, “पार्टी सरकारमा हुँदा कार्यकर्ताको संरक्षण गर्न सक्दैन भने कहिले गर्छ ?”

सांस्कृतिक फाँटका संयोजकलाई भेट्न गयो, “कमरेड, कुनै ठाउँमा एडजस्ट गरिदिनुस् ।”

संयोजक रणहाङ्ग तुम्बाहाम्फे कड्किए, “१० वर्ष जनयुद्ध लडेका कार्यकर्तालाई पार्टीले केही गर्न सकेको छैन । तपाईं जस्ता हिजोमात्रै पार्टीमा छिरेका मान्छेका लागि अहिले के गर्न सक्छ र ? तपाईंले कुरा बुझ्नु भा छैन ।”

त्यो सुनेर ऊ लुरुलुरु डेरामा फर्कियो । ७० नाघेका बुबाले सोधे, “के भयो बाबु, किन निन्याउरो छ ?”

त्यति मात्र चाहिएको थियो– बुबाको सोधाइ । उसका आँखाबाट आँसुका भेल बग्न थाले । परिवार नै रुयो । पार्टीको भक्त बनेर लाग्दा यस्तो हालत भयो ।

६ महिनाको कोठा भाडा तिर्न बाँकी थियो । छोराछोरीको स्कुल शुल्क तिर्न बाँकी थियो । पार्टीको व्यस्तताले गायकी बन्द भएको थियो । बाबाले भने, “मन सानो नगर छोरा । पार्टीले तेरो योगदान बुझेन । अब तिमीहरु जे हुन्छ गर । हामी बूढाबूढी मन्दिर अगाडि बसेर हात थापौंला ।”

त्यसपछि फेरि एकपटक रुवाबासी गुञ्जियो । ढोकैमा उभिएको पाङ्ग्रे अवाक् बन्यो ।

ADV

सम्बन्धित खबर

Advertise