–रञ्जना बास्कोटा
“बहिनी ! यो काम राम्रो छ, पैसा पनि बेला बेलामा मिल्छ ।”
सुनन्दा दिदीको भनाइ अझै कानमा गुञ्जिरहन्छ । यही विश्वासमा म एउटा गाडीमा चढेर पहाडतिर लागेकी थिएँ । सपना थियो– छोराछोरीलाई राम्रो स्कुलमा पढाउने, आमालाई औषधि दिलाउने अनि कहिल्यै नभोगेको ‘इज्जतको जिन्दगी’ जिउने ।
तर अब मलाई लाग्न थालिसकेको छ– मान्छेले आफूले पाएको भन्दा बढी सपना देख्नै नहुने रहेछ ।
“ओइ, तेरो नाम के हो ?”
पहिलो दिन, त्यही ठाडो प्रश्नले मेरो जीवनको अर्को अध्यायको सुरुवात गर्यो ।
“म... म सविता ।”
सविता भन्नु मेरा लागि आफ्नो नामसँगै बाँकी अस्तित्व गुमाउनु थियो । म त्यो घरमा अब एउटी कामदार मात्र थिएँ– जसलाई खान, बस्न र भाँडा माझ्न मिल्ने थियो । जसको भावनामा न कोही चासो राख्थ्यो, न कुनै अनुभूतिलाई मूल्य ।
घरकी मेमसाहब– अति सजीव, राम्री, तर एक्लो । तिनी निकै सुघर व्यवहारकी थिइन्, कहिलेकाहीँ मलाई चिया लिएर उनीसँगै बस्न बोलाउँथिन् । म थाकेको शरीरलाई केहीबेर विश्राम दिँदै तिनको आँखामा केही चिन्न खोज्थें– शून्यता ।
“तिमी यहाँ सुखी छौ ?” उनले सोथ्थिन् ।
सोधिएको बेला केही नबोल्ने, तर रातभर आफूलाई आफैं उत्तर दिने बानी परिसकेको थियो मलाई ।
एक दिन, उनीसँगै झ्याल नजिकको कुर्सीमा बसेकी थिएँ । तलको बजार देखिने, धुवाँ र मान्छेको कोलाहलबीच मेरो जीवनको चिच्याइ म सुन्न सक्थेँ ।
“म तिमी जस्तै भएछु ।” उनले एक्कासि भनिन् ।
“तपाईं ?” म अचम्मित ।
“तिमी श्रम गरेर बाँच्छ्यौ, म एक्लोपन भित्र घुटिएर बाँच्छु”, उनले लाज नमानि हाँसिन्, “जीवनका भोक त उस्तै–उस्तै हुन् नि, सविता ।”
त्यो दिन, मैले उनीलाई मान्छेझैं देखेँ । अहंकारी ‘मेमसाहब’ होइन– केवल एउटी नारी, जसले आफ्नो जीवनको थुप्रै सपना, आकांक्षा र रहरहरूलाई चुपचाप कोठाभित्र थुनेकी थिई ।
तर, त्यसपछि सबथोक बिस्तारै बिग्रिँदै गयो ।
घरमा सानो चोरीको घटना भयो– म माथि शंका गरियो । मैले रुँदै सफाइ दिएँ ।
एक साँझ, उनले भनिन्, “तिमी केही दिन घर जान चाहन्छ्यौ भने जान सक्छ्यौ ।”
त्यो वाक्यको अर्थ थियो– मलाई छुट्टी दिइएको होइन, टाढा पठाइँदै थियो । मलाई ठमेलको त्यो साँघुरो गल्ली सम्झना आयो, जहाँ म पहिलो पटक भाँडा माझ्न पुगेकी थिएँ । मान्छेहरूले मलाई हेर्ने आँखा, मलाई जस्तो हुनुको पीडा ।
घर फर्किएपछि थाहा पाएँ– आमा बिछ्यौनामा थिइन् । छोरो कामको नाममा टाढा, कहाँ थाहा छैन । छोरीको स्कुल जानु छुटेको रहेछ, म नभएको बेला स्कुलको शुल्क तिर्न नसकेकोले ।
कसरी सम्हालूँ, भन्ने लाग्यो ।
त्यो रात, म बोक्सीको कथाजस्तै सपना देखेर ब्युँझिएँ । बुढोले कुलोको छेउमा रक्सी पिएर छोरीलाई लखेटिरहेको थियो । म चिच्याएँ, “छोरीलाई छुन पाइँदैन !”
म घामसँगै उठेँ, आँखा रातो थियो । निर्णय गरेँ– फेरि फर्किन्छु । आफूले सहेको पीडा आफ्ना छोरीमा नपरोस् भनेर फेरि लाग्छु ।
तर योपल्ट फरक थियो ।
पुरानै मालिक्नीको घरमा फर्किँदा उनले मलाई चुपचाप हेरेर सोधिन्– “तिमी किन फर्कियौ ?”
“आफ्नो सन्तानलाई अर्को म बन्न नदिन ।”
उनले धेरै बेर हेरेर भनिन्, “तिमी आउँदा मलाई ढुक्क लाग्छ ।”
जीवन फेरि बगेको थियो ।
तर एक दिन उनले मलाई चकित पार्दै भनिन्, “सविता, तिमीलाई पढ्न मन लाग्छ ?”
म झसङ्ग भएँ । मैले कहिल्यै सोचेकै थिइनँ– म पढ्न सक्छु भनेर ।
“म... अब ढिलो भइसक्यो नि ।” मैले भनेँ ।
“कहिल्यै ढिलो हुँदैन । तिमी आफ्नो छोरीलाई के देखाउन चाहन्छ्यौ ? भाँडा माझ्न सक्ने हात, कि कलम समाउने ?”
त्यसपछि उनी मेरो गुरु भइन् ।
तीन वर्ष बित्यो । अब म काम पनि गर्छु, पढ्छु पनि । मेरो छोरी आठ कक्षा पास गरेर अब नौ कक्षामा छ । आफू मेटिँदै गएर छोरीलाई उज्यालो दिने सपना बिस्तारै पूरा हुँदै छ ।
एक दिन उनले फेरि सोधिन्, “तिमी अब पनि जीवनसँग डराउँछ्यौ ?”
“डराउँदिन,” म हाँस्दै भन्छु, “अब त जीवनसँग लड्न सिकेकी छु ।”
विडम्बना ?
सायद हो ।
“तर सच्चा विडम्बना त त्यो हो, जब तिमी आफैंलाई सधैं दोषी ठान्दै आफैलाई सानो मान्छौ । जीवनले नसोचेका संघर्ष दिन सक्छ तर आत्मसम्मान तिमी आफैंले बनाउनु पर्छ । यही पाठ अब मेरो मात्र होइन, मेरी छोरीको पाठ पनि हुनेछ,” उनले भनिन् ।