काठमाडौं : नेपाली साहित्य जगतको काव्यप्रेमी समूहले 'काव्य मुशायरा (शृंखला–०१)' आयोजना गर्ने भएको छ । भदौ २८ गते शनिबार दिउँसो साढे १२ बजेबाट सुरु हुने उक्त कार्यक्रम राष्ट्रिय नाचघर, जमलमा हुने आयोजकले जनाएको छ । नेपाली साहित्य, कला र संस्कृतिप्रतिको सम्मान र प्रवर्धनलाई निरन्तर अघि बढाउँदै आएको समूहको यस कार्यक्रममा अनुभवी तथा नवोदित गजलकारहरूले आफ्ना गजल तथा साहित्यिक सिर्जनाहरू वाचन गर्नेछन् ।
यस मुशायरामा तीन जना गजलकारहरू दीप मिलन, शिवि सुनार र पवन गौतमले आफ्ना गजलहरू वाचन गर्नेछन् भने मोती पाठशालामा निरन्तर अभ्यासरत गजलकारहरू सुजाता डी.सी. वन्दना जोशी, देवेन्द्र शाही दर्पण र मोती पाठशालाका संयोजक गजलकार चित्र थापा गरी चार जना गजलकारहरूका एक-एक वटा गजलहरू वाचन हुने भएका छन् । एरेन्जर लालकाजी श्रेष्ठको एरेन्ज र संगीत संयोजनमा स्वयं एरेन्जर श्रेष्ठ र अमिर परियारले सांगीतिक प्रस्तुति दिने गरी तयारीलाई तीव्रता दिइएको छ ।
कार्यक्रममार्फत साहित्य प्रेमीहरूबीच आपसी संवाद, रचनात्मकता र साहित्यिक वातावरणलाई अझ सबल बनाउन सकिने समूहको विश्वास रहेको छ । समूह नेपाली साहित्य र संस्कृतिलाई समाजमा प्रोत्साहन गर्ने उद्देश्यले स्थापित भएको साझा साहित्यिक संस्था हो । यसले नियमित रूपमा वाचन, गजल कार्यक्रम, कार्यशाला तथा साहित्यिक छलफलहरूको आयोजना गर्दै आएको छ । नयाँ पुस्तालाई सिर्जनशील यात्रामा प्रेरित गर्ने र स्थापित स्रष्टालाई सम्मान गर्ने मूल ध्येय रहेको समूहले बताएको छ ।