काठमाडौँ : चर्चित लोक दोहोरी तथा सेलो गायिका इन्दिरा गोले गुरुङको निधन भएको छ ।
उनको गए राति १२ बजे ललितपुरको हत्तिवनस्थित आपार्टमेन्टमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी लामो समयदेखि क्यान्सर रोगसँग जुधिरहेकी थिइन्। क्यान्सरको उपचारकै क्रममा उनको ५९ वर्षको उमेरमा निधन भएको हो ।
ललितपुरको कोन्ज्योसोम गाउँपालिका भारदेउमा २०२३ साल कार्तिक ३ गते जन्मिएकी उनले ५ हजार भन्दा बढी गीतमा स्वर दिएकी छन् । उनले नेपाली लोक दोहोरी, तामाङ सेलो तथा भाषाका साथै देउडालगायत भाषा र भाकाका गीतहरू गाएकी छन् ।
उनको आजै बौद्ध परम्परा अनुसार अन्त्यष्टी गर्नेछ । उनका अनुसार श्रृद्धान्जलीका लागि राष्ट्रिय नाचघरमा राख्ने तयारी गरिएको छ। उनको दुई छोरी छन् ।