बझाङ : १५औं एकल महिला दिवसको अवसरमा बझाङको केदारस्युँ गाउँपालिकाले एकल महिलासँग अन्तरसंवाद कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा उपाध्यक्ष मनिसा धार्मीले एकल महिलाहरुका समस्याहरु र आवश्यकता सम्बोधन गर्दै एकल महिला सशक्तिकरणका लागि गाउँपालिकाले गरेको विभिन्न पहल र योजनाहरुको चर्चा गरिन् ।
उपाध्यक्ष धार्मीले भनिन्, ‘महिलाहरुका लागि विशेष योजनाहरु ल्याउने मेरो मुख्य उद्देश्य हो । एकल महिला, अपाङ्ग महिला, दलित र जनजाति वर्गका महिलाहरुलाई आर्थिक, सामाजिक र मानसिक सशक्तिकरणका लागि विभिन्न तालिम र रोजगारमूलक कार्यक्रमहरु संचालन गरिरहेको छु ।’
उनले थपिन्, ‘मैले नौ वटै वडामा गएर महिला समूहहरू गठन गराएकी छु र उनीहरूको समस्यालाई प्राथमिकतामा राखेर समाधान गर्ने प्रयास गर्दैछु ।’
कार्यक्रममा, एकल महिलाहरुले आफ्नो जीवनका संघर्ष र समस्याहरुको बारेमा जानकारी गराउँदै उपाध्यक्ष धार्मीको पहलबाट आफूहरुको जीवनमा आएको सकारात्मक परिवर्तनका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा एकल महिलाहरुको अवस्था र उनीहरूको सशक्तिकरणका लागि भएका सरकारी कदमहरुको बारेमा प्रकाश पारिएको थियो ।
नेपालमा महिलाहरुको संख्या पुरुषभन्दा बढी छ, महिलाका लागि ३३ प्रतिशत सिट सुनिश्चित गरिएको भएपनि, महिलाहरुका अधिकार र लैंगिक समानता सम्बन्धी कानून र कार्यान्वयनका पाटाहरु अझै कमजोर छन् ।
यद्यपि, एकल महिला सशक्तिकरणका लागि सरकारले विभिन्न योजनाहरु ल्याएको छ, जसमा २०७० सालमा आकस्मिक कोषको स्थापना र एकल महिला वर्गका लागि राहत प्रदान गर्ने नियमावलीको व्यवस्था गरिएको छ ।
कार्यक्रमको सहजीकरण पत्रकार महासंघका पूर्वअध्यक्ष जगत खड्का र जगदीश रोकायाले गरेका थिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष गणेश बोहरा, पत्रकारहरु र एकल महिलाहरुको उल्लेख्य सहभागीता रहेको थियो । संयुक्त राष्ट्रसंघले २०१० डिसेम्बरमा प्रत्येक वर्षको जुन २३ लाई अन्तर्राष्ट्रिय एकल महिला दिवसको रुपमा मनाउने घोषणा गरेको थियो ।
सन् २०११ को जुन २३ बाट दिवस मनाउने क्रम सुरु भएको हो । राष्ट्रसंघले श्रीमान गुमाएका, श्रीमान हराएका, सम्बन्ध विच्छेद गरेका र बिहे नगरी बसेका महिलालाई एकल महिला भनि उल्लेख गरेको छ ।