जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतको ४ वर्षे कार्यकाल विवादै विवादमा सकिएको छ ।
रजिष्ट्रार महतले पदावधि सकिनु पूर्व प्रक्रिया विपरीत कर्मचारी नियुक्त गर्न लागेको भन्दै कर्मचारीसँग विवाद चर्किएको हो । रजिष्ट्रार महतको कार्याकाल ३ असारबाट सकिएको हो ।
प्रतिष्ठानमा ४ वर्षका लागि ३ असार २०७८ मा नियुक्त भएका उनको ४ वर्ष कार्यकाल मंगलबार पूरा भएर सकिएको हो ।
महतले नियुक्त हुनुभन्दा एक दिन अघिदेखि नै तलबलगायतका सेवा सुविधा लिएका थिए । जबकी उनले रजिष्ट्रारको नियुक्तिपत्र १० असारमा लिएका थिए । उनको नियुक्ति ३ असारमा भएको थियो । तलब लगायतका सेवा भने २ असारदेखि नै लिएको विवरण छ । नियुक्ति बुझेको मितिबाट तलव, भत्ताको सुविधा लिनुपर्नेमा नियुक्त हुनभन्दा अघिल्लो दिनदेखिकै तलव लिएर रजिष्ट्रार महतले आफ्नो हात जगन्नाथ गरी सार्वजनिक प्रशासनिक नियम मिचेर सेवाको सुरुवातमै भ्रष्टाचार गरेको कर्मचारीहरू बताउँछन् । प्रतिष्ठान स्रोतका अनुसार जुनदिन नियुक्त भएका हुन् सोही दिनदेखि सेवासुविधा लिन पाइन्छ ।
यदि महतले पत्र बुझेको १० असारलाई कार्यकालको आधार मान्ने हो भने ७ दिनअघिको तलब भ्रष्टाचार ठहर हुने कर्मचारीहरू बताउँछन् ।
रजिष्ट्रार महतले पत्र बुझ्नु अघिदेखि नै तलब लगायतका सेवा लिएको देखिन्छ । महतले १० असार को मितिमा पत्र लिएको देखिन्छ । उनको पत्रमा पनि ३ असारमा निर्णय भएको भनेर मात्र उल्लेख छ । तर उनले २ असारदेखि नै तलब लिएका छन् ।
स्वास्थ्य मन्त्रालय लेखा महाशाखा प्रमुख गोपिचन्द्र भण्डारीका अनुसार कर्मचारीले हाजिर भएको दिनदेखि तलब लिन पाउने सुविधा रहेको बताउँछन् । ‘प्रतिष्ठानमा हाजिर भएको दिन नै पत्र बुझ्नु पर्छ । सेवा सुविधा पाएको मितिदेखि नै कार्यकाल सकिने हो’, उनले भने ।
उनले नियुक्तिपत्र बुझ्नुभन्दा पहिले तलब लिनु कानुनसम्मत नभएको बताए । ‘यदि यस्तो भएको छ भने नियमन गर्ने निकायले कारवाही गर्नुपर्छ’, भण्डारीले भने ।
यस्तै, रजिष्ट्रार महतले कार्यकाल सकिन लाग्दा प्रक्रिया विपरीत कर्मचारी नियुक्त गर्न लागेको भन्दै प्रतिष्ठान कर्मचारीहरूले प्रतिष्ठानको प्रशासनमा ताला लगाएका छन् ।
जुम्ला कार्यालय र काठमाडौं सम्पर्क कार्यालयमा कर्मचारीले ताला लगाएको प्रतिष्ठानका वरिष्ठ प्रशासकीय अधिकृत द्वन्द्वबहादुर शाहीले जानकारी दिए । उनले महतले जाँदाजाँदै प्रक्रिया विपरीत प्रतिष्ठानको विज्ञापन कार्यकारी परिषद्बाट स्वीकृत समेत नगरी एकल निर्णय गर्दै अगाडि बढेपछि विरोधमा उत्रनु परेको बताएका छन् ।
रजिस्ट्रारले प्रक्रिया विपरीत स्वीकृत दरबन्दी किताबमा नभएको पद समेत विज्ञापन गरेपछि तालाबन्दी गर्नुपरेको हो । उनले भने, ‘प्रतिष्ठानको आर्थिक कार्यभारको ख्याल नगरी दरबन्दी किताबमा नभएका पदको विज्ञापन गरिनु संस्थाको हित विपरीत हो ।’ प्रतिष्ठान कर्मचारीका अनुसार रजिष्टार महले कार्यकालको अवधिभरी नै प्रतिष्ठानको नियम विपरीत काम गरेको आरोप लगाउँदै आएका छन् ।