धनगढी : सुदूरपश्चिममा उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीको पद संकटमा परेको छ ।
नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेका चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले फोन गरेर पदबाट राजीनामा दिन भनेपछि उनको पद संकटमा परेको हो ।
चौधरी ४ जेठमा मन्त्री बनेका हुन् । चौधरी अघि नागरिक उन्मुक्तिकै लक्ष्मणकिशोर चौधरी उद्योग मन्त्री थिए । आर्थिक चलखेलमा संलग्न रहेको अडियो सार्वजनिक भएपछि मुख्यमन्त्री शाहको निर्देशनमा लक्ष्मणकिशोरले पदबाट राजीनामा दिएका थिए ।
मुख्यमन्त्री शाहले हालका मन्त्री रामेश्वर चौधरीलाई राजीनामा दिन निर्देशन दिएको पुष्टि गरेका छन् ।
खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिमा मन्त्री चौधरीले कार्यकारी निर्देशक नियुक्त गरेको कुरा मुख्यमन्त्री शाहले १५ दिनपछि सामाजिक सञ्जालबाट थाहा पाएपछि उनी रुष्ट भएका छन् ।
मन्त्री चौधरीले जेठ १९ गते नै खप्तडमा डोटीका खेमराज जोशीलाई कार्यकारी निर्देशक नियुक्त गरेका थिए । मुख्यमन्त्रीको सचिवालयका एक पदाधिकारीका अनुसार उपसचिव तहको कर्मचारी नियुक्त गर्दा पनि मुख्यमन्त्रीलाई भने त्यसबारे मन्त्री चौधरी, मन्त्रालयका सचिव वा निर्देशक नियुक्त जोशी कसैले जानकारीसम्म दिएका थिएनन् ।
सुदूरपश्चिममा कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीको संयुक्त सरकार छ । यतिबेला सरकारले नियुक्त गर्नुपर्ने विभिन्न निकायमा पदाधिकारीको पद रिक्त छ । भागबण्डा नमिलेर पेचिला बनेका ती नियुक्ति समझदारीमै टुंग्याउने मनस्थितिमा मुख्यमन्त्री शाह थिए ।
खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका पदाधिकारीको नियुक्ति मन्त्रिपरिषद्को निर्णयमा हुने व्यवस्था छ । समितिमा कार्यकारी निर्देशक सदस्य सचिवको भूमिकामा रहने गठन आदेशको व्यवस्था छ । कार्यकारी निर्देशकको नियुक्ति भने मन्त्रीस्तरीय निर्णयबाट हुन्छ ।
तर मन्त्री चौधरीले महत्वपूर्ण निकायमा उपसचिव तहको कार्यकारी निर्देशक नियुक्त गर्दासमेत आफूलाई जानकारी नदिएपछि मुख्यमन्त्री नैतिक संकटमा परेका थिए । अर्कोतिर बजेट निर्माणका क्रममा चौधरी नेतृत्वको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाट विनियोजित योजनामा चलखेल भएको भन्दै मुख्यमन्त्री शाह रुष्ट थिए ।