२०८२ असार ३ गते मङ्गलवार / Jun 17 , 2025 , Tuesday
२०८२ असार ३ गते मङ्गलवार
Ads

एनआरएनए एनसीसी साउदी अरबको दशौं राष्ट्रिय महाधिवेशन जुलाइमा

shivam cement
अन्जान गुभाजु
२०८२ असार २ गते २२:१६
एनआरएनए एनसीसी साउदी अरबको दशौं राष्ट्रिय महाधिवेशन जुलाइमा

रियाद, साउदी अरब : गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) साउदी अरबको दशौं राष्ट्रिय महाधिवेशन आगामी १८ जुलाइ २०२५, शुक्रबारका दिन साउदी अरबको राजधानी रियादमा आयोजना हुने भएको छ । 

संघको गत शनिबार बसेको छैठौँ नियमित तथा पूर्ण बैठकले महाधिवेशनको मिति तथा कार्यक्रम तय गरेको हो । 

बैठकले महाधिवेशनको सम्पूर्ण निर्वाचन प्रक्रिया सम्पन्न गर्नका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । उक्त समितिमा राम बहादुर क्षेत्री संयोजकको रूपमा चयन भएका छन् भने भिम गुरुङ र दिनेश न्यौपाने सदस्यका रूपमा रहनेछन् । निर्वाचन समितिले महाधिवेशनमा नेतृत्व चयन प्रक्रियालाई निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउने जिम्मेवारी पाएको छ ।

महाधिवेशनको सन्दर्भमा संघले साउदी अरबमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भइ सहभागिता जनाउन अनुरोध गरेको छ । संघका पदाधिकारीहरूका अनुसार यो अधिवेशनले एनसीसी साउदी अरबमा नयाँ नेतृत्व चयन गर्नुका साथै संगठनलाई अझ सुदृढ बनाउने अवसर प्रदान गर्नेछ ।

यसै सन्दर्भमा, संघले २०२५–२०२७ कार्यकालका लागि अन्तर्राष्ट्रिय समन्वय परिषदबाट प्राप्त निर्देशन अनुसार २५ जुन २०२५ सम्म मात्र सदस्यता वितरण गरिने स्पष्ट गरेको छ । संघमा आवद्ध हुन चाहने साउदीस्थित सम्पूर्ण नेपालीहरूलाई सो म्यादभित्र अनिवार्य रूपमा सदस्यता प्राप्त गरी आगामी निर्वाचन प्रक्रियामा सहभागी हुन पनि विशेष अनुरोध गरिएको छ ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद साउदी अरबले महाधिवेशनको अवसरमा सबैलाई निमन्त्रणा गर्दै, संस्थागत सहभागिता र सहकार्यबाट प्रवासी नेपालीहरूको हकहितका लागि सशक्त भूमिका निर्वाह गरिने प्रतिबद्धता जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise