काठमाडौं : इजरायलमा रहेका नेपालीहरूलाई सुरक्षित रहन त्यहाँ रहेको नेपाली दूतावासले आग्रह गरेको छ ।
इजरायल–इरान युद्धका कारण ठुलो धनजनको क्षति भइरहेको जनाउँदै इजरायलस्थित नेपाली दूतावासले सुरक्षित रहन नेपालीलाई आग्रह गरेको हो । दूतावासले आइतबार एक सूचना जारी गर्दै इजरायली होम फ्रन्ट कमान्डले जारी गरेको निर्देशन पालना गर्न पनि भनेको छ ।
युद्धका कारण शैक्षिक संघसंस्था एवं अत्यावश्यक बाहेकका कार्यालय बन्द रहने र सभा÷भेलामा रोक लागेको छ । इजरायलमा रहेका नेपालीलाई स्थानीय सुरक्षा प्रोटोकलहरूको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचनाका बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन पनि दूतावासले आग्रह गरेको हो ।
अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रय स्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत दूतावासको आग्रह छ ।
‘इजरायल र इरानबीच चलेको युद्धका कारण जोखिम बढेकोले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन आग्रह गर्छौं,’ दूतावासले भनेको छ ।